ज्याकी र आमीर एकसाथ

एजेन्सी जेष्ठ २,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा चिनियाँ र भारतीय कम्पनीको सहकार्यमा तीनवटा चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ। समाचारस्रोतका अनुसार घोषित तीन चलचित्रमध्ये 'कुङ फु योगा'मा ज्याकी च्याङ र आमिर खान मुख्य भूमिकामा देखिने भएका छन्। 

चलचित्रमा भारतीय संस्कृति र चिनियाँ मार्सल आर्टको संयोजन रहने बताइएको छ। बलिउड स्टार आमिर र कुङ फु स्टार ज्याकी च्याङ एकसाथ एउटै चलचित्रमा देखिने भएकाले घोषणासँगै यो चलचित्रको चर्चा सुरु भएको छ। चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको उपस्थितिमा भएको यो सम्झौताले ठूलो बजार भएका ठूला दुई मुलुकको चलचित्र उद्योगले उचाइ हासिल गर्ने विश्वास गरिएको छ। 

घोषित तीनमध्ये निर्देशक वाङ कार वाईले सुआन च्याङमाथि अर्को चलचित्र बनाउने भएका छन्। च्याङ ताङ वंशका प्रसिद्ध बौद्ध भिक्षु हुन्। उनले बौद्ध धर्म प्रचार गर्न भारतको यात्रा गरेका थिए। तेस्रो चलचित्रको विषयवस्तुका बारेमा भने केही बताइएको छैन। स्रोतका अनुसार बलिउड अभिनेता आमिर खानले चिनियाँ र भारतीय कम्पनीबीचको यो सम्झौताले जनस्तरमै दुई देशबीचको सम्बन्ध सुधारमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्। 

चीनमा पीकेको प्रशंसा सन् २०१४ को अन्त्यतिर प्रदर्शनमा आएको आमिर खान अभिनीत चलचित्र 'पीके'ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। विदेशी चलचित्रलाई निगरानी गर्दै आएको चीनमा अब 'पीके' प्रदर्शन हुने भएको छ। चिनियाँ भाषामा डबिङ गरिएको हिन्दी चलचित्र 'पीके' ४६ सयभन्दा बढी हलमा लागेको बताइएको छ। 

चीनका यति धेरै हलमा एकसाथ प्रदर्शन भएपछि यसअघि बलिउडमा सर्वाधिक कमाइ गरेको आमिरकै चलचित्र 'थ्री इडियट्स'को रेकर्ड पीकेले तोड्ने अनुमान गरिएको छ। चलचित्र प्रदर्शनको अवसरमा चीनको सांघाईमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा निर्देशक राजकुमार हिरानी र निर्माता विधु विनोद चोपडा पनि सहभागी थिए। उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता आमिर खानलाई शुभकामना दिएका थिए। चिनियाँ दर्शकले चलचित्र 'पीके'लाई निकै मन पराएको बताइएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com