दोलखामा स्वास्थ्य शिविर

काठमाडौँ जेष्ठ ३,

दोलखा जिल्लाको सिङ्गटीबजारमा नेकपा माओवादीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्य शिविर खडा गरी भूकम्पपीडितको उपचार सुरु गरेको छ ।

जापानका हाडजोर्नी विशेषज्ञ डा. इसिडाको नेतृत्वमा गएको सो टोलीमा सहभागी महासङ्घका सभापति डम्बर थापा, गोविन्द विष्ट, राजु थापालगायतले गत शुक्रबारदेखि उपचार सुरु गरेको टोलीसँगै जानुभएका पत्रकार दीपेन्द्र रावलले जानकारी दिए ।

टोलीले पखाला लागेका, हातखुटृा भाँचिएका तथा मर्किएका र घाउचोट लागेका ३ सय भन्दा बढी बिरामीको उपचार गर्नाका साथै शिविरमा उपचार हुन नसक्ने बिरामीलाई अन्यत्र उपचार गराउन पनि पठाएको उनले बताए ।

उक्त बजार पूरै ध्वस्त भएको, घरले थिचिएर मरेका मानिस तथा घरपालुवा जनावरको शव अझैसम्म पनि नझिकिएको, वातावरण दुर्गन्धित बनेको र स्थानीय स्वास्थ्य संस्था पनि भूकम्पपछि ध्वस्त भएको उल्लेख गर्दै पत्रकार रावलले स्थानीय सुरक्षाकर्मी र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सो टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com