सुनसान ह्याेल्माेबस्ती

बिहिबार जेठ ७,

अल्पसङ्ख्यक ह्योल्मो जातिको उद्गमस्थल पर्यटकीय गाउँ हेलम्बु अहिले सुनसान बनेको छ । समुद्र सतहबाट सात हजार ५०० फि उचाइमा रहेको यो ठाउँ एक महिनाअघिसम्म आन्तरिक र बाह्य पर्यटकले खचाखच भरिन्थ्यो । 

ह्योल्मो जाति र उनीहरूको रहनसहन र संस्कृतिबारे अध्ययन गर्नेहरू त्यहाँ पुग्थे तर अहिले स्थानीयवासी समेत भेटिन छाडेका छन् । १२ वैशाखमा अाएको शक्तिशाली भूकम्पपछि हेलम्बुलगायत आसपासका गाउँ बरुवा, सेर्माथान, तथा भोताङका बासिन्दा धमाधम आफ्नो थातथलो छाडेर हिँड्न थालेका छन् । विनाशकारी भूकम्पसँगै बस्तीमाथिबाट खसिरहेका हिमपहिरो तथा ठाउँ ठाउँमा गएको सुक्खा पहिराका कारण यहाँका बासिन्दाले घर छाड्न थालेका छन् । उनीहरू अहिले कोही आफन्तका शरणमा छन् तथा कोही काठमाडौँका विभिन्न खुला स्थानमा आश्रय लिइरहेका छन् । 

कोही गाउँमै पाल टाँगेर बसेका छन् । कुनै ठाउँमा पहिराले बस्ती बगाउन थालिसकेको छ भने कतै जमिनमा ठूला ठूला धाँजा फाटेकाले पहिरोको खतरा बढेको छ । वर्षा सुरु हुनुअघि नै बस्ती स्थानान्तरण नगर्दा फेरि ठूलो जोखिम सामना गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनुपर्ने जोखिममा परेका बस्तीका अधिकांश बासिन्दाको माग छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि जिल्लाको माथिल्लो भेगमा रहेका तातोपानी, लिस्ती, फुल्पिङकट्टी, गाती, मानेश्वारा, घुम्थाङ गुम्बा, गोल्चे, पाङ्ताङ, भोताङ, गुन्सा र बरुवा गाविसका अधिकांश बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने जनाएको छ । 

स्थानीय होटल व्यवसायी बाबु लामाका अनुसार भूकम्पमा परी हेलम्बुमा मात्रै २५ जनाले ज्यान गुमाएका छन् भने त्यतिकै हाराहारीमा घाइते भएका छन् भने त्यहाँ रहेका विद्यालयल, स्वाथ्यचौकीलगायत संरचना पूर्णरुपमा ध्वस्त भएका छन् । अहिलेसम्म सरकारका तर्फबाट कुनै प्रकारको राहत आफूहरुले नपाएको बताउँदै उहाँले सरकारको उपस्थितिका नाममा अहिलेसम्म दुई प्रहरी मात्र गाउँ पुगेको बताए । भौगोलिक विकटता र विभिन्न ठाउँमा गएको सुक्खा पहिराका कारण राहत पु¥याउन केही कठिनाइ भए पनि राहत पु¥याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । 

उनका अनुसार उच्च जोखिममा रहेका बरुवा गाविसका अधिकांश र बस्तीका बासिन्दा गाउँ छाडेर हिँडिसकेका छन् भने भोताङका माथिल्लो भेगका बासिन्दाले पनि गाउँ छाडिसकेका छन् । त्यस्तै मेलम्ची घ्याङलगायत स्थानका केही बासिन्दा पनि हिँड्न थालेका छन् । थापाका अनुसार अहिलेसम्म ती ठाउँमा पुग्न धेरै समस्या नरहे पनि वर्षा सुरु भएपछिसमस्या पर्नेछ । जिल्ला सदरमुकाम चौताराबाट १४ कोस पश्चिम अधिकांश समय हिउँको खास्टो ओढेर बसेको ‘मेमे र इबी’ (शेर्पा भाषामा हजुरआमा, हजुरबुबा) झैँ देखिने यो बस्ती अब उठ्नै नसक्ने गरी ढलेको छ । 

एकताका हेलम्बु स्याउ खेतीका लागि प्रसिद्ध मानिन्थ्यो । हिजोआज यहाँ स्याउ उत्पादन हुँदैन । स्थानीयवासीका अनुसार यहाँ स्याउ उत्पादन हुन छाडेको १७/१८ वर्ष नै भइसकेको छ । स्याउ उत्पादन नभएपछि हेलम्बुको पुरानो पहिचान मेटिए पनि उसले अहिले नयाँ पहिचान बनाइसकेको थियो । हिजोआज हेलम्बुलाई गुम्बैगुम्बाको गाउँभन्दा फरक पर्दैनथ्यो । यहाँ सानाठूला गरी ३० गुम्बा छन् । यहाँको एउटै टोलमा तीन वटासम्म गुम्बा देख्न पाइन्थ्यो तर अहिले त्यो भग्नावशेषमा परिणत भइसकेको छ । गुजुमुज्ज परेका यहाँका मौलिक घर अहिले खण्डहरमा परिणत भएका छन् । 

डाँडाभरि बनेका सुन्दर गुम्बा पनि लथालिङ्ग भएका छन् । यहाँ सानाठूला गरी ३५ गुम्बा निर्माण भइसकेका छन् । यहाँको एउटै टोल र गुम्बामा अधिकांश तिब्बती शैलीका बुद्धमूर्ति थिए । यहाँ ६७५ वर्ष पुरानो गुम्बासमेत छ । सामान्यतः यहाँ गुम्बा निर्माण गर्न रु एक करोडसम्म लगानी गरिएको स्थानीयवासी लामा बताउनुहुन्छ । हेलम्बुका घ्याङगुल, तातुङ, ठूलोढुङ्गा, नोर्बुगाउँ, न्याल्मुनेस, तार्केघ्याङ, नाकोते, पारघाङ, होरिङ, तिम्बु, याम्बालामा, ककनीगाउँ, मेलम्ची घ्याङलगायत गाउँमा अहिले एउटा पनि घर देख्न पाइँदैन । 

“सेर्माथान गुम्बा हेलम्बुको अर्को सम्पदा थियो”, स्थानीय कर्मातोप्के ह्योल्मो भन्नुहुन्छ, “ त्यहाँ बौद्ध धर्मावलम्बीले तीन महिना, तीन दिन, तीन मिनेट, तीन सेकेन्ड नबोली ध्यान गर्ने गर्थे ।” काठमाडौँबाट २९ किमी टाढा रहेको हेलम्बुमा पछिल्लो समयमा होमस्टेको पनि व्यवस्था हुँदै थियो । चिसो हावापानी, हिमशृङ्खलाको दृष्यावलोकनस्थल, गोसाइँकुण्डको पदयात्रा मार्ग, हरियाली जङ्गल एवम् ठूलाखर्क यहाँका विशेषता एवम् आकर्षक मानिथ्यो तर अब पदमार्गसमेत बन्द गएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com