भूकम्पबाट अधिक प्रभावित किसान

वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी भएको छ। गाउँघरमा मान्छेसँगै धेरै पशुपंछीको पनि ज्यान गएको छ। अर्कोतिर, घर भत्किएर किसानका अन्नबाली र कृषिऔजारका सामान पुरिन पुगे। हलो, कुटोकोदालो, हँसियालगायत खेतीपातीमा प्रयोग हुने सामानहरू पुरिएका छन्, नष्ट भएका छन्। पुरिएका अनाजलाई झिक्न सक्ने सम्भावना कम छ। 

भूकम्पले सबैभन्दा बढी मारमा परेको वर्ग हो किसान। कृषि मन्त्रालयको पछिल्लो आँकलन अनुसार भूकम्पका कारण झन्डै पौने ९ अर्ब रुपैयाँ बराबरको खाद्यान्न र पशुधन नष्ट भएको छ। यस्तै, पशुपक्षीको क्षति ५० करोड रुपैयाँ हाराहारीमा भएको आँकलन छ। भूकम्प प्रभावित २३ जिल्लामा १ लाख ६९ हजार ७ सय ४८ पशुपंछी मरेका छन्।

भएको अन्नपात त पुरिएर नष्ट भयो नै। पाकेको गहुँबालीसमेत भित्र्याउन सकेका छैनन्। काटौं, राख्ने ठाउँ छैन। नकाटौं, हावापानीले खेतमै झारिदिने चिन्ता। घर भत्किएर मुन्टो लुकाउने ठाउँसमेत बाँकी नभएपछि किसानले अन्न राख्ने ठाउँ कहाँ पाउनु π भक्तपुरलगायत भूकम्पबाट प्रभावित जिल्लाका किसानको हालत यस्तै छ यतिखेर। पालको व्यवस्था हुन सकेको भए केही राहत हुन सक्थ्यो। मान्छेलाई ओत लगाउने पालसमेत प्रभावकारी रूपमा बाँढ्न नसकेको राज्यले अन्न छोप्ने पाल देला भन्ने आशा पनि गर्न सक्दैनन् बिचरा किसानहरू † भूकम्पअघिको प्रक्षेपण अनुसार यो पटक गहँु उत्पादन १८ लाख टन हुने अनुमान थियो। त्यो गत वर्षभन्दा ५ प्रतिशत कम हो। तर, भूकम्पपछिको अवस्थामा बाली नष्ट हुने र समयमा बाली भित्र्याउन नसक्दा गहुँको उत्पादन यसअघि अनुमान गरेभन्दा घट्ने देखिन्छ। प्रि–मनसुन भइरहेको र मनसुनसमेत छिटै सुरु हुन लागेको सन्दर्भमा किसानले पुरिएका अन्न निकालेर सुरिक्षत रूपमा भण्डारण गर्न सक्ने सम्भावना कमै देखिन्छ। यसको खाद्य सुरक्षा र जीविकोपार्जनमा ठूलो असर पर्ने देखिन्छ। कृषिबाटै जीवन गुजारा गर्ने बहुसंख्यक गाम्रीण क्षेत्रमा यसले तत्कालीन रूपमा मात्रै होइन, दीर्घकालीन रूपमा पनि नराम्रो असर पार्नेछ।

देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने क्षेत्र हो, कृषि। कृषि क्षेत्रको वृद्धिदर प्रत्यक्ष रूपमा धान, मकै र गहुँजस्ता खाद्यान्न बालीको उत्पादनसँग जोडिने गरेको छ। त्यसैले यी बालीको उत्पादन प्रभावित हुने बित्तिक्कै त्यसको सोझो असर मुलुकको अर्थतन्त्रमा पर्नेछ। आर्थिक वृद्धिदर प्रभावित हुन्छ। मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले झन्डै एक तिहाइ योगदान गर्छ। गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुनुमा कृषि क्षेत्रको उच्च वृद्धिदर मुख्य थियो। गत वर्ष कृषि वृद्धिदर ४ दशमलव ७ प्रतिशत थियो। कृषिको कुल गार्हस्थ उत्पादन (एजीडीपी) बढाउनमा धान, मकै र गहुँको मुख्य योगदान छ।

गत आवमा मुलुकमा समग्र खाद्यान्न बालीकै उत्पादन ९ दशमलव ४ प्रतिशत बढेर ९५ लाख ६२ हजार मेट्रिक टन पुगेको थियो। त्यसमा धानको हिस्सा बढी थियो। मौसमी अनुकूलता, उन्नत बिउबिजन र आधुनिक प्रविधिको प्रयोग लगायतले धानको उत्पादन गत आवमा १२ प्रतिशत बढेर ५० लाख ४० हजार मेट्रिक टन पुगेको थियो। एजीडीपीमा धानको योगदान करिब २१ प्रतिशत छ। त्यसैले धानको उत्पादनमा आउने उतारचढावले कृषिको कुल गार्हस्थ उत्पादनमा असर पार्छ। र, त्यसले अन्तत: देशको आर्थिक वृद्धिदरमै असर पार्छ। यस्तै, गत आवमा मकै ९ दशमलव ८ प्रतिशतले बढेको थियो। भूकम्पअघिकै प्रक्षेपण अनुसार यो वर्ष मकै उत्पादन २३ लाख र धान उत्पादन ५० लाख टन हुने अपेक्षा थियो।

भूकम्पले गर्दा मकै र धानबालीको उत्पादन पनि घट्ने देखिन्छ। ठाउँठाउँमा पहिरो गएको छ। जमिन धाजा परेको छ। गाउँघरका खेतबारीमा साबिकझैं खेती लगाउन सकिने देखिंदैन। जग्गाको अवस्था राम्रै भए पनि खनजोत गर्ने कुटोकोदालोदेखि गोरुको अभाव हुने देखिन्छ। भूकम्पको असर खासै नपरेको तराई क्षेत्रमा हुने धान र मकै बालीको उत्पादनमा खासै फरक नपर्ला।

असार नजिकिंदैछ। धान रोप्नुअघि मकै थन्क्याउनु पर्नेछ। बर्खायाममा बिनाओत फसललाई बाहिर राख्न मिल्दैन। घर भत्केपछि आफंै त्रिपालमा ओत लागेर रात काटिरहेका किसानका लागि नयाँ फसल राख्ने ठाउँ छैन। अर्कोतिर पहाडी क्षेत्रमा भूकम्पले जमिन चिरा पर्ने र पहाड कमजोर हँुदा वर्षासँगै थप पहिरो जाने खतरा उत्तिकै छ।

पाकेको अन्न राख्ने ठाउँ नभएका गाउँहरूमा तत्कालै सामुदायिक भण्डारण केन्द्र बनाउन पनि पहल गर्नुपर्छ। सरकारले जस्तापाता जस्ता आधारभूत सहयोग उपलब्ध गराएमा स्थानीय आफैं त्यसको निर्माणमा जुट्नेछन्। त्यसका लागि निजी र गैरसरकारी संस्थाहरूसँग समन्वय गरेर सहयोग लिन सकिन्छ।

सरकारले मानव क्षतिको मात्रै नभई पशुपंछी गुमाएका किसानलाई पनि यथोचित राहत उपलब्ध गराउन आवश्यक छ। अधिकांश पशुपक्षीको बिमा गरिएको छैन। भविष्यमा यस्ता भवितव्यबाट किसानलाई राहत दिलाउन पशु र बाली बिमा कार्यक्रमलाई अनिबार्य बनाई प्रभावकारी रूपमा लागु गराउनुपर्छ।

कतिपय किसानले ऋण लिएर व्यावसायिक रूपमा पशुपालन गर्दै आएका थिए। त्यस्ता किसानलाई क्षति र ऋणको मात्रा हेरी साँवा ब्याज मिनाहा वा निब्र्याजी ऋण तिर्ने भाका बढाउनुपर्छ। किसानलाई थप गाईबस्तु वा हाँस, कुखरा पालनका लागि खरिद गर्न अनुदान वा निब्र्याजी ऋण उपलब्ध गराउन आवश्यक छ।

नयाँ खेती लगाउनुअघि नै प्रभावित किसानहरूलाई बिउ, मल, औजारलगायतका बाली उत्पादनका प्याकेज बनाएर नि:शुल्क वितरण गर्नुपर्छ। यस्तै, घाइते पशुपक्षीको उपचार र सम्भावित रोगको संक्रमणबाट बचाउन गाउँगाउँमा पशु चिकित्सक र औषधिको उपलब्धता पनि उत्तिकै खाँचो छ। भूकम्पपछि पशुहरूलाई आहारको जोहो गर्न किसानहरूलाई समस्या भएकाले प्रभावित क्षेत्रहरूमा उचित आहार उपलब्ध गराइनुपर्छ।

विश्व खाद्य संगठन (एफएओ) ले भूकम्पबाट कृषि क्षेत्रमा भएको नोक्सानीको राहत तथा क्षतिपूर्तिका लागि ८० लाख डलर आवश्यक पर्ने प्रक्षेपण गरेको छ। त्यो रकम भूकम्पमा क्षति भएका कृषि औजार तथा उत्पादन सामग्रीको आपूर्ति र धान रोपाइँको तयारीका लागि मात्रै हो।

निजी क्षेत्रलगायत अन्तर्राष्ट्रिय दातृ निकाय र गैरसरकारी संस्थासँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत र सहयोगका कार्यक्रम लैजान सके बढी प्रभावकारी हुनेछ। सरकारले नयाँ आउने बजेटमा कृषि क्षेत्रमा राहत र क्षतिपूर्तिसहित किसान लक्षित ठोस कार्यक्रम ल्याउनुपर्छ। _ मैना धिताल-इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com