सुत्केरिमा आमा तथा शिशुको स्याहार

सुत्केरी महिला तथा शिशुमा विशेष ध्यान 

डा. रश्मि श्रीश, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, आशीर्वाद टेस्टट्युब बेबी केन्द्र, वयोधा हस्पिटल



भूकम्पका कारण धेरै शिशुको जन्म समयअघि नै भएको छ ? के कारणले यस्तो भएको हो ?
महिलाहरू धेरै आत्तिएका, डराएका, भागदौड तथा तनावका कारण शरीरको सन्तुलन बिग्रिएकाले शिशुको जन्म छिटो भएको छ। कतिपय मृत शिशु पनि जन्मिएका छन् तर सबैको हकमा यस्तो भएको छैन। कतिपयले यस्तो बेला जन्मिएका शिशु मानसिक तथा शारीरिक विकलाङ्ग हुन्छ भनेका छन् तर यो गलत हो। 

शिशु जन्मने मिति पुगिसकेका महिलाको टेन्टमै डेलिभरी गराउँदा असर पर्छ कि पर्दैन ?
धेरै गर्भवतीलाई टेन्टमै डेलिभरी गराइएको छ। कतिपय महिलाको अप्रेसन गरेर समेत शिशु निकालिएको छ। अस्पतालको भवनमा क्षति पुगेका कारण यस्तो गर्नुपरेको हो। सरसफाइमा पर्याप्त ध्यान राखिने हुँदा यसले स्वास्थ्यमा असर पार्दैन।

घरबारविहीन हुनुपरेका कतिपय सुत्केरीले टेन्टमै बास बस्नुपरेको छ ? यस्तो अवस्थामा के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
यस्तो अवस्थामा सुत्केरी तथा शिशुलाई विशेष स्याहार चाहिन्छ। टेन्टमा चिसो हुने भएकाले न्यानो बनाएर बस्नुपर्छ। टेन्टमै जन्मिएका शिशुलाई चिसोका कारण हाइपोथरमेटिक हुने भएकाले न्यानो राख्नुपर्छ। सफासुग्घर बस्नुपर्छ। शिशुको जन्मपछि महिलाको योनिबाट फोहोर निस्कने भएकाले बेला–बेलामा सेनिटरी प्याड परिवर्तन गरिरहनुपर्छ अन्यथा संक्रमण भएर पाठेघरमा समेत असर पर्नसक्छ। त्यसैगरी शिशुलाई पनि सफा राख्नुपर्छ। शिशुको नाभि पाक्न दिनुहुँदैन । बेलाबेलामा सफा गरिदिनुपर्छ। चिकित्सकले दिएको मल्हम (औषधि) लगाइदिनुपर्छ। 

यस्तो बेलामा खानपानमा कत्तिको ध्यान दिनुपर्छ ? 
अरू बेलाभन्दा सुत्केरी अवस्थामा शरीरलाई बढी खानेकुरा आवश्यक हुन्छ। त्यसैले पौष्टिक आहार खानुपर्छ। डाइटमा प्रोटिन पाउडर समावेश गर्नुपर्छ। झोल खानेकुरा खानुपर्छ। यो प्राकृतिक विपत्तिमा परिवारले पनि सुत्केरी महिला तथा शिशुप्रति विशेष ध्यान पुर्‍याउनु जरुरी छ। _ नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com