सुत्केरी र गर्भवती महिलालाई टुँडिखेलमा विशेष सेवा सञ्चालन

काठमाडौँ जेठ ११,

विशेष अवस्थामा विशेष स्याहारको आवश्यकता पर्ने गर्भवती र सुत्केरी टुँडिखेलका पालमा कष्टकर दैनिकी बिताउन बाध्य भएका बेला महिला पुनःस्थापना केन्द्रले ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ । 

विशेष पाल र खानपानको व्यवस्थासहित सञ्चालित ‘महिला सुरक्षित स्थान’मा तीन महिनाका सुत्केरी र गर्भवती मात्र बस्छन् । उनीहरुलाई आवश्यकताअनुसार मनोपरामर्शसमेत दिइँदै आएको छ । असनकी यशोदा श्रेष्ठ पालमा नै सुत्केरी स्याहार पाइरहेकी छिन् । त्यसअघि उनी अर्कै पालमा थिइन् । 

“यो पालमा धेरै सजिलो छ”, उनले भनिन् – “सुत्नलाई सहज छ भने हावा नछिर्ने भएकाले न्यानो भइरहन्छ ।” नरदेवीकी राधिका पौडेलले पनि अहिले सोही पालमा सहारा लिइरहेकी छिन् । डेढ महिनाकी सुत्केरी राधिका पनि यहाँ बसेपछि ढुक्क छिन् । भन्छिन् – ‘यहाँ राति पनि हामी सुरक्षित छौँ,’ उनी बसेको पालमा अहिले छ जना महिला छन् । 

काठमाडौँलाई आफ्नो कर्मथलो बनाउन विभिन्न जिल्लाबाट आएका गर्भवती तथा सुत्केरी अहिले तिनै पालमा आश्रय लिइरहेका छन् । उनीहरुलाई केन्द्रले सेवा गरिरहेको छ । यस्ता पालमा अहिले २५ जनाले सेवा प्राप्त गरेका छन् । ज्वानो र क्वाँटीको झोल सुत्केरीका लागि पोषक भएकाले दैनिक क्वाँटीको सलाद बनाएर दिइने गरेको छ । यो सेवा दोलखा, नुवाकोट, काभ्रे, धादिङ, रामेछापसम्म विस्तार गरिएको छ । 

सुरुमा स्नेह सामग्री भनेर झोलामा गर्भवती तथा सुत्केरीका लागि आवश्यक पर्ने सामग्री राखेर वितरण गरेको बताउँदै अध्यक्ष रेणु राजभण्डारीले भनिन् – ‘यतिले मात्र पुग्दैन भन्ने लागेर स्नेह केन्द्र नै स्थापना गर्यौँ ।’ ‘केन्द्रमा संस्थाका एक महिला कर्मचारी आकस्मिक सेवाका लागि सधैँ तयार भइरहेका हुन्छन् । 

रातमा होस् या दिनमा कुनै समस्या पर्नेबित्तिकै उनीहरु सेवामा हाजिर भइहाल्छन्,’ उहाँले भन्नुभयो । संस्थाले ती महिलालाई उनीहरुमाथि हुन सक्ने घरेलु हिंसा, यौन हिंसा, बेचबिखनजस्ता अपराध, बच्न सक्ने उपायबारे जानकारी दिँदै आएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com