पदमपुरमा अनुमति विना निजी विद्यालय सञ्चालन

रत्ननगर,चितवन २३ ,

शिशिर सिम्खडा : बैशाख पूर्वी चितवनको पदमपुरमा सरकारी अनुमति विना निजी विद्यालय सञ्चालन भएको छ । पदमपुर वडा नं. ४ मा सञ्चालित सो चित्रवन उच्च माविले नर्सरी देखि ९ कक्षा सम्म अध्यापन गराईरहेको छ । 

रत्ननगरको वडा नं.२ मा कक्षा ६ देखि १२ सम्म दर्ता भएको विद्यालयले पदमपुरमा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थी भर्ना लिई पढाईरहेको पाईएको हो । सो विद्यालय राष्ट्रिय प्राथमिक विद्यालय समीपुर जुटपानी–७ को सेवा क्षेत्र भित्र सञ्चालन गरिएको छ । 
शिक्षा नियमावली अनुसार कुनैपनि विद्यालय देखि एक किलो मिटरको दुरीमा अर्को विद्यालय सञ्चालन गर्न साविकको विद्यालय संग अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर चित्रवन उच्च माविमाले सो स्थानमा विद्यालय सञ्चालन गर्नुपूर्व छिमेकी विद्यालयसंग अनुमति लिएको छैन भने विद्यालय स्थानान्तरणको अनुमति समेत नलिएको राप्रावि समीपुरका अध्यक्ष सोमबहादुृर खड्काले जानकारी दिनुभयो । 

रत्ननगरमा सञ्चालनको लागि दर्ता भएको चित्रवन उच्च माविले साविकको स्थानमा कुनैपनि कक्षा सञ्चालन गरेको छैन । सो विषयमा सर्वोच्च अदालतमा रिट समेत परेको थियो । अदालतले प्रक्रिया पुरा गरी विद्यालय सञ्चालन गर्नु गराउनु भनि जिल्ला शिक्षा कार्यालय चितवनलाई आदेश गरेको थियो । 

जिल्ला शिक्षा कार्यालय चितवनले चित्रवन उच्च मावि पदमपुरमा सञ्चालनको लागि प्रक्रिया नपुगेको भन्दै नियम विपरित नगर्ने सम्वन्धमा ताकेता समेत गरी गत बैशाख ६ गते पत्राचार समेत गरेको छ । तर पनि विद्यालयले कक्षा सञ्चालन गरिरहेकोमा स्थानीय अन्य विद्यालयहरुले असन्तुष्टी जनाएका छन । 

सो विषयमा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले विद्यालयको स्थानान्तरण प्रक्रियामा रहेका बताउदै कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन गर्नु नियम विपरीत रहेको बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com