रेडक्रस सोसाइटीद्वारा १२ जिल्लामा बिपत टोलि र ५० बढी प्राथमिक उपचार टोलि परिचालन

काठमाडौँ बैशाख २०,

नेपाल रेडक्रस सोसाइटीले गत शनिबार आएको विनाशकारी भूकम्पको उद्धार तथा राहतका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, रामेछाप, दोलखा, लमजुङ र रसुवा गरी १२ वटा जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्य टोलीहरु थप परिचालन गरेको छ ।

ती प्रभावित जिल्लाका सहर तथा गाउँमा उद्धार तथा राहतका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय तथा स्थानीय गरी पाँच हजारभन्दा बढी रेडक्रसका विभिन्न स्वयम्सेवक तथा कर्मचारीहरु परिचालित भएको सोसाइटीले जनाएको छ ।

सोसाइटीले ५० भन्दा बढी प्राथमिक उपचार टोलीबाट पाँच हजार बढीलाई तत्काल प्राथमिक उपचार सेवा, २० हजार त्रिपाल, दुई हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री सेट र छ हजार ७०० कम्बल वितरण भइसकेको र ती सामग्री वितरण कार्य जारी रहेको जानकारी दिएको छ ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी क्याम्पमा सरसफाइ गतिविधि सञ्चालन भइरहेको, स्वास्थ्य शिक्षासहित पानी शुद्धिकरण ट्यावलेट, जीवनजल वितरण र अस्थायी शौचालयको निर्माण गरिएको पनि सोसाइटीका सञ्चार प्रमुख दिव्य पौडेलले जानकारी दिए ।

शव व्यवस्थापनका लागि ३२५ वटा बाकस अस्पतालमा पठाइएको, मनोसामाजिक सहयोग गतिविधि तथा जेलमा पारिवारिक सम्पर्क पुनःस्थापनाको सन्देश सङ्कलन गरिएको उनले बताए । त्यस्तै एक लाख १६ हजार मास्क, ४२ हजार प्याकेट जीवनजल, १५ हजार साबुन वितरण गरिएको बताइएको छ ।

उपत्यका बाहिरका जिल्ला शाखालाई राहत सामग्री पठाउने क्रमजारी नै रहेको पर्याप्त रगत भण्डारण रहेको सोसाइटीले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com