गर्भवती महिलामा भूकम्पको असर

डा सुमनराज ताम्राकार : हालै नेपालमा गएका ठूल्ठूला भूकम्पपछि विशेषत: गर्भ तुहाएर तथा गर्भभित्रै मृत शिशु लिई आउने गर्भवती महिलाहरूको संख्या ह्वात्तै बढेको पाइयो । विगतमा चिली तथा हाइटीमा गएको ठूलठूला भूकम्पपछि पनि यस्तै घटना भएका थिए ।

प्रतिवर्ष २ लाख बच्चा जन्मिने चिलीमा गर्भवती महिलामा भूकम्पको असरबारे गरिएको अध्ययनबाट के पाइयो भने बच्चा पाउने मिति (समय) भन्दा अघि नै र कम तौलका बच्चा पाउने घटना बढी देखियो । गर्भवती जाँचको क्रममा महिनावारी रोकिएको मितिमा ९ महिना ७ दिन जोडेर बच्चा पाउने मिति (समय) दिइन्छ । सामान्यतया मानिसको गर्भ ४० हप्ताको हुन्छ र यसैको हाराहारीमा प्रसव व्यथा लाग्नुपर्नेमा भूकम्प प्रभावित क्षेत्रमा गर्भावस्थाको ३७ हप्ता अगाडि नै गर्भवती महिलालाई प्रसव व्यथा लागेको पाइयो । र प्रसवोत्तर महिलालाई पनि असर पुर्‍याइएको पाइयो ।

भूकम्प जस्तो अप्रत्याशित तनावले गर्भे शिशुको साथी (साल) मा कोर्टिकोट्रोफिन हर्मोनको एक्कासी अधिक उत्पादन भई सालको आफ्नै समय (प्लासेन्टल क्लक) लाई सक्रिय बनाई समयअघि नै प्रसव व्यथा गराउने विश्वास गरिएको छ ।

गर्भावस्थाको दोस्रो तथा तेस्रो महिनामा भूकम्पको झट्का व्यहोरेका गर्भवती महिलाले समयअघि नै बच्चा पाएको देखियो । गर्भावस्थाको दोस्रो महिना तथा तेस्रो महिनामा भूकम्प व्यहोरेका गर्भवती महिलाले औसतमा क्रमश: डेढ दिन तथा दुई दिनअघि नै बच्चा पाएको देखियो । सामान्यत: १०० मध्ये ६ शिशुमात्र समयअघि जन्मिने गरेको भए पनि भूकम्प प्रभावित क्षेत्रमा समयअघि प्रसूति व्यथा लाग्नेको संख्या ३.४ प्रतिशतले बढिरहेको पाइयो । त्यसमाथि कम तौलका शिशु जन्मिने गरेको पाइयो । कम तौल आपैंmमा नवजात शिशुको मृत्यु हुनाको प्रमुख कारणमध्ये एक हो । जबकि त्यही अवधिमा अप्रभावित क्षेत्रमा कुनै असर परेको देखिएन ।

समय अघि नै व्यथा लागेको तथा कम तौलका शिशु जन्म भएको खण्डमा आमाको दूध तान्न नसक्ने कारण नवजात शिशुको शरीरमा ग्लुकोजको कमी, तापक्रम व्यवस्थापन गर्न नसक्ने क्षमता, कमलपित्त, अपरिपक्व फोक्सोका कारण फोक्सोका विभिन्न खाले संक्रमण, क्याल्सियमको कमी नवजात शिशुको मृत्यु हुने दर बढ्छ ।

रोचक कुरा विशेषत: भूकम्प प्रभावित क्षेत्रमा केटा शिशु जन्मिने दर घटेको पाइयो भने नवजात केटा शिशुको मृत्यु हुने सम्भावना पनि बढेको पाइयो । सामान्यत: जन्मेका १०० शिशुमध्ये ५१ केटा शिशु जन्मिने गरेकोमा भूकम्प प्रभावित क्षेत्रमा यो संख्या केवल ४५ रहेको पाइयो । गर्भभित्र केटा शिशु वृद्धि धेरै, गर्भवती महिलामा निर्भरता बढी, तथा तिनीहरूमा तनावपूर्ण परिस्थिति झेल्ने तागत कम भएको कारणले पनि भूकम्पजस्तो एक्कासी उत्पन्न हुने तनावका बेला केटा शिशु गर्भमा तुहिने सम्भावना बढी रहेको पाइयो । यसरी पहिलोपटक लिङ्ग विशेषमा पुगेको भूकम्पको असर पनि प्रकाशमा आयो ।

यो अध्ययनले अन्य बेला त्यति सारो वास्ता नगरिने दैवीप्रकोपले असरको पक्षलाई प्रकाशमा ल्याउन मद्दत गर्‍यो । यस अघि गर्भवती महिलाको तनावसँग समयअघि नै प्रसव व्यथा लाग्ने तथा कम तौलको शिशु जन्मिने घटनासँग सम्बन्ध रहेको विश्वास गरिए पनि यस अध्ययनबाट प्रमाणित नै भयो । भर्खरै गर्भवती भएको र सुत्केरी हुनै लागेकामा भन्दा गर्भावस्थाको सुरुतिर अर्थात् पाठेघरमा छँदै कम्पन खपेका गर्भे शिशुले

गर्भभित्रै वा जन्मेपछि पनि लामो समयसम्म नकारात्मक असर सहनुपर्ने देखियो । तिनीहरूको वृद्धि विकास, शैक्षिक प्रगति, रोजगारी, आर्थिक आर्जनका साथै तिनीहरूको भावी सन्तानको तौलमा समेत असर पर्ने जस्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित परिणामहरू देखियो । उक्त अध्ययनबाट यस्तो समस्या भूकम्पपछि फेरि सामान्यीकरणमा फर्किएको देखियो ।

अहिले गर्भ जाँच गराउन जाने फुर्सद नै पाइएको छैन वा यस्तो सेवा उपलब्ध स्वास्थ्य संस्थाहरू तथा सेवाकर्मीहरू पनि भूकम्पको चपेटामा परेका छन् । तर पनि महाभूकम्पपछि घरबारविहीन भएर पालको बास, खानपिनको बेठेगान, नियमित गर्भ जाँचको अभाव, भूकम्पकै डर, त्रास, यथेष्ट आरामको अभाव गर्भभित्रका शिशुलाई पनि लामो समयसम्म नकारात्मक असर पर्ने देखिन्छ । त्यसो भएर जति नै हप्ताको गर्भ भए पनि तथा पहिले जतिपटक अल्ट्रासाउन्ड गराइसकेको भए पनि भूकम्पको धक्कापछि यसको असर गर्भे शिशुमा परेको छ/छैन थाहा पाउन यथाशक्य चाँडो नजिकको स्वास्थ्य संस्थामा गई भिडियो एक्सरे अर्थात् अल्ट्रासाउन्ड गराइहाल्नु राम्रो हुन्छ ।

सारांशमा शिशु जन्मिनु ६ महिनाभन्दा अघि भूकम्पका कम्पन झेलेका शिशुमा नकाकात्मक असर देखिने भएकाले नेपालका प्रसूतिकर्मीहरूले अबको ६ महिनापछि समयअघि नै प्रसव व्यथा लागी स्वास्थ्य संस्था आउने तथा कम तौलका बच्चा जन्मिने तथा यसैको कारण उत्पन्न

हुने जटिलताको उचित व्यवस्थापन गर्न तयार रहनुपर्ने देखिन्छ । निश्चय पनि भूकम्पजस्तो प्राकृतिक प्रकोपलाई रोक्न सक्दैनौं, तर पनि स्वास्थ्यसेवाको उपलब्धतासँगै प्रभावित महिलाको तनाव कम गर्न सेवासुसारका साथै सल्लाह, मनोपरामर्श दिन सकिन्छ ।

ताम्राकार धुलिखेल अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा कार्यरत छन् ।

_ इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com