हिमपहिरोका कारण लाङटाङमा १३ शेर्पाको अबस्था अज्ञात, गाउँवै शोकमा

काठमाण्डौं बैशाख ३०,

लाङटाङमा गएको हिमपहिरोमा हराइरहेका कामी शेर्पाका सात छोरा, एक छोरी, तीन बहिनी अझ पनि बुवा र दाई आउने आशमा बसिरहेका छन् । भूकम्प गएको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि ओखलढुङ्गा ताप्ले गाउँका १३ जना शेर्पाको अबस्था अज्ञात छ । 

पर्यटकीय मौसम भएको कारण लाङटाङमा मजदुरी गर्न गएका शेर्पाहरुको कुनै जानकारी आउन नसक्दा अहिले सिंगो गाउँ नै शोकमग्न छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पको त्रासले लाङटाङमा अझ पनि सताइरहेको छ । हिमपहिरो झर्ने क्रम जारी छ । लाङटाङ क्षेत्रमा तीन सय भन्दा बढीको निधन भएको आशंका गरिएको छ । 

भूकम्पको कारण त्यस क्षेत्र मानवरहित त्रंकिटमा परिणत भएको छ । जसको प्रत्यक्ष असर ओखलढुङ्गाको ताप्ल गाउँमा परेको छ । त्यहाका धेरै शेर्पा मजदुरीको लागि लाङटाङ जाने गर्दथे ।
अधिकाशं शेर्पाहरुको बसोवास रहेको उक्त गाउँका परिवारका सदस्य अहिले आफूहरुलाई ‘सास नत्र लास देउ’ भनेर सम्बन्धित निकायमा गुहार गरिरहेका छन् ।

ओखलढुङ्गा ताप्लेका अधिकाशं शेर्पा लाङटाङ घुम्न आएका विदेशी पर्यटकको सहयोगी र मजदुरी रुपमा काम गरी जीविकोपार्जन गर्ने गर्दथे । भुकम्पको कारण लाङटाङमा हिमपहिरो गएपछि आफन्तको कुनै अत्तोपत्तो नभएको कारण शेर्पा परिवारको अबस्था विचल्ली भएको छ । कतिपयको घर भत्कीएकोले राहत समेत पाउन सकेका छैनन् ।

ओखलढुङ्गा ताप्लेका साङ्गे शेर्पाका परिवारको अबस्था पनि दयनीय छ । साङ्गेका १८ महिनाका छोरा र तीन बर्षकी छोरी अझ पनि बुवा आउने आशमा बसिरहेका छन् ।

लाङटाङमा मजदुरीका लागि गएका ताप्लेका उडेन शेर्पा (बुवा) र नीमा शेर्पा (छोरा) को अबस्था अज्ञात छ । उनीहरुका परिवार अझ पनि सदस्य फर्कने आशमा बसिरहेका छन् ।

विनाशकारी भुकम्प पछि हिमपहिरोले लाङटाङ गाँउ पूरै क्षेतिग्रस्त भएकोले ओखल्ढुगाको धेरै मान्छेका अबस्था अज्ञात नै छ । लाङटाङमा भूकम्प गएपछि पहिरो जान थालेकोले उद्धार कार्यमा समेत कठिनाई भइरहेको सम्बन्धित निकाय पदाधिकारीको भनाई छ ।

ओखलढुङ्गाका ताप्ले गाविसका ताउरका उर्केन शेर्पा, निमा शेर्पा, कामी शर्पा, लाक्पा शेर्पा, काण्डु शेर्पा, फुर्वा शेर्पा,  छिरिङमा शेर्पा, दावा शेर्पा, मिङ्मार दावा शेर्पा, पेम्बा शेर्पाको अबस्था अज्ञात छ । त्यसैगरी, लाङटाङको हिमपहिरोमा पुरिएको छोटी शेर्पा, साङगे शेर्पा, ल्हकी शेर्पा, ङिमा शेर्पाको अबस्था सम्बन्धमा अझ पनि कुनै जानकारी छैन ।

तात्ले शेर्पा समाजका पूर्व कोषाध्यक्ष एवं ओखलढुङ्गाका समाजसेवी नवाङ फूर्वा शेर्पा लाङटाङ गएको धेरै अबस्था सम्बन्धमा अहिले पनि कुनै जानकारी नआएकोमा सिंगो गाउँ नै शोकमग्न भएको र राहत वितरण समेत हुन नसकेको बताउनुभयो ।

रसुवाको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्राईले लाङटाङको हिमपहिरोमा परी स्वदेशी र विदेशी गरी एक सय २८ जनाको शव प्राप्त भइसकेकोे बताउनुभयो ।

भट्राईले पहिरोमा थप दुई सय भन्दा बढी हराइरहेको आशंका गरिएपनि उनीहरुलाई जीवित उद्धार गर्न भने कठिन हुने बताउनुभयो ।

लङटाङमा अहिले पनि हिमपहिरो गइरहेकोले उद्धारमा कठिनाई भइरहेको जनाउदैँ भट्राईले भन्नुभयो, “सोमबार हेलिकोप्टरबाट पनि उद्धारको कार्य शुरु गरिएको छ । ”

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com