ग्ल्यामर क्षेत्रमा महिलाको जति चर्चा र प्रभाव छ राजनीतिमा अलि कमै देखिन्छ। तापनि विभिन्न मुलुकमा केही महिला नेत्री छन् जसको व्यक्तित्व, भूमिका र शक्तिको प्रभाव विश्वभर छ।
आफ्नो मुलुकको अर्थतन्त्र, भौतिक विकासमा योगदानदेखि अन्तर्राष्ट्रिय कूटनीतिमा समेत दक्खल राखेका छन्। त्यस्तै प्रभावशाली केही महिला नेत्रीका बारेमा संक्षिप्त जानकारी:
अहिंसाकी प्रतिमूर्ति
आङसाङ सुकी, बर्मा

प्रजातन्त्रिक आन्दोलनका क्रममा दुई दशकभन्दा बढी नजरबन्दमा बिताएकी छन्। सन् १९८९ बाट नजरबन्दमा परेकी सुकी २०१० मा मात्रै मुक्त भएकी हुन्। बौद्धधर्मावलम्बी सुकी अहिंसामा आस्था राख्छिन्।
बाल्यकालमा एक वर्ष नेपालमा बिताएकी सुकी गत वर्ष नेपाल आई धर्म गुरुआमालाई भेटेकी थिइन्। बर्मेली साहित्यमा एमफिल गरेकी सुकीले तिब्बेतियन संस्कृतिविद् डा. अजवभी माइकल एरिजसँग विवाह गरेकी थिइन्। सुकीको श्रीमान् क्यान्सरका कारण बितिसकेका छन्।
अनुभवी रानी
एलिजावेथ द्वितीय, बेलायत

विश्वको राजतन्त्र मुलुकमध्ये सबैभन्दा लामो समय शासन गर्ने रानी हुन् एलिजावेथ द्वितीय।
सन् १९४७ मा प्रिन्स फिलिपसँग विवाह गरेकी उनले आफ्नो कार्यकालमा राजनीतिक उतावचढाव, महत्त्वपूर्ण संवैधानिक परिवर्तन, अफ्रिकी मुलुकको उपनिवेदिशीकरण तथा युद्धको अनुभव झेलेकी छन्।
सानातिना कारणले आलोचित भए पनि एलिजावेथको लोकप्रियता संसारभर उत्तिकै छ। बेलायती राजसंस्थालाई आधुनिक तथा संवेदनशील बनाउन उनको ठूलो योगदान रहेको छ।
सन् २०१३ मा उनले राज्यरोहणको ६०औं वर्ष मनाएकी उनी विश्वको शक्तिशाली महिला राजनीतिज्ञको रूपमा चिनिएकी छन्।
कान्छी प्रधानमन्त्री
यिङलक सिनावात्रा, थाइल्यान्ड

अहिले ४७ वर्ष पुगेकी सिनावात्राले फु थाई पार्टीमा आबद्ध भई सन् २०११ को चुनावमा विजयी हासिल गर्दै थाइल्यान्डको २८औं प्रधानमन्त्री बन्न सफल भएकी हुन्।
पब्लिक एडमिनिस्टे्रसनमा मास्टर्स गरेकी उनी थाइल्यान्डमा लोकप्रिय नेत्रीमा पर्छिन्। उनी लोकप्रिय हुनुको मुख्य कारण राष्ट्रिय मेलमिलाप, गरिबी निवारण, कर्पोरेट ट्याक्स घटाउने अभियान आदि थिए।
शक्ति दुरुपयोग तथा भ्रष्टाचारको अभियोगमा पदमुक्त भइसकेकी यिङलक पनि संसारको प्रभावशाली महिला नेत्रीमा सूचीकृत भएकी छन्।
अप्रत्याशित उदय
सोनिया गान्धी, भारत

इटालीमा जन्मेहुर्के पनि राजीव गान्धीसँग विवाहबन्धनमा बाँधिएपछि उनी भारतीय राजनीतिमा अप्रत्याशित रूपमा उदाएकी पात्र हुन्। श्रीमान्को असामयिक निधनपछि उनी राजनीतिमा प्रवेश गरेकी हुन्।
सुरुमा सरकार चलाउन गरिएको प्रस्ताव अस्वीकार गरेकी उनी भारतीय कांग्रेस पार्टीको एक सय २५ वर्षे इतिहासमा सबैभन्दा लामो समय अध्यक्ष बन्ने व्यक्ति भएकी छन्।
६८ वर्षीया गान्धीलाई फोब्स पत्रिकाले विश्वका प्रभावशाली महिला नेत्रीको सूचीमा राखेको छ।
फेसनमा रोल मोडेल
मिसेल ओबामा, अमेरिका

हाबर्ड विश्वविद्यालयमा कानुन अध्ययनपछि काम गर्ने सिलसिलामा बाराक ओबामालाई भेटेकी मिसेलले केही वर्ष लामो प्रेमपछि विवाह गरेकी हुन्।
ओबामाको चुनावी अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी उनी विश्वको प्रभावशाली महिलाको सूचीमा नपर्ने कुरै भएन।
विशेषगरी गरिबी, स्वास्थ्य र पोषणसम्बन्धी सचेतना फैलाएर अमेरिकी नागरिकको उनले मन जितेकी हुन्। विश्वभरका फेसनेबल महिलाका लागि उनी रोल मोडेलसमेत मानिएकी छन्।
अर्थ नीतिमा दक्ष
एन्जेला मार्केल, जर्मनी

फिजिकल केमेस्ट्रीमा पीएचडी गरेर राजनीतिमा प्रवेश गरेकी उनले जर्मनीमा आर्थिक संकट गहिरिएको बेला त्यसबाट देशलाई निकास दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
घरेलु नीति, स्वास्थ्य, ऊर्जा विकास आदिमा महत्त्वपूर्ण योगदान दिनुका साथै जर्मनलाई आर्थिक संकटबाट जोगाएपछि उनी लोकप्रिय बनेकी हुन्। फोब्सले उनलाई संसारको दोस्रो शक्तिशाली महिलाका रूपमा चित्रण गरेको छ।
महिला राजनीतिकी पथप्रदर्शक
हिलारी क्लिन्टन, अमेरिका

हिलारी अमेरिकन सिनेटमा चयन हुने पहिलो महिला पनि हुन्। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा नयाँ नीति बनाउँदै महिलालाई राजनीतिमा ल्याउन पथप्रदर्शक बनेकी छन् उनी।
विद्यार्थी जीवनदेखि नै रिपब्लिकन पार्टीमा सक्रिय उनले श्रीमान् बिल क्लिन्टनलाई राष्ट्रपतीय चुनावमा विजयी गराउन विशेष भूमिका खेलेकी थिइन्।
राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालमा विदेशमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी उनी विश्वकी प्रभावशाली महिला गनिन्छिन्।
पहिलो प्रधानमन्त्री
जुलिया गिलार्ड, अस्ट्रेलिया

अस्ट्रेलियाको २७औं प्रधानमन्त्री बनेकी उनी २०१३ मा भएको चुनावमा लिवरल हाउस अफ रिप्रिजेन्टेटिभको स्थायी समितिमा मनोनीत हुन सफल भइन्।
प्रधानमन्त्री बन्नुअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि काम गरिसकेकी उनी अस्ट्रेलियन लेबर पार्टीको नेत्री हुन्। उनी पनि विश्व राजनीतिमा प्रभावशाली महिला नेत्रीका रूपमा गनिएकी छन्।
ग्ल्यामरस राष्ट्रपति
क्रिस्टिना फर्नान्डेज, अर्जेन्टिना

राष्ट्रपति बन्नुभन्दा पहिला उनी प्रथम महिला बनिसकेकी थिइन्। क्रिस्टिनाका श्रीमान् नेस्टर क्रिचनर गभर्नर थिए भने उनी सिनेटर।
अर्जेन्टिनाका नेस्टर र क्रिस्टिनालाई अमेरिकाका बिल क्लिन्टन र हिलारी क्लिन्टनसँग तुलना गर्ने गरिन्छ।
क्रिस्टिना ग्लामरस छविकी महिला नेत्री पनि हुन्। श्रीमान्को हृदयाघातबाट मृत्यु भएपिछ सन् २०११ मा उनी चार वर्षका लागि अर्जेन्टिनाको राष्ट्रपति बनेकी हुन्।
जति सुन्दर त्यति उदार
रानिया अल यासिन, जोडर्न

राजपरिवारले अनुमति नदिए पनि सामाजिक सञ्जाल प्रयोगको लतमा परेकी उनका लाखौं फ्यान छन्। अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेकी ४४ वर्षीया रानियाले इस्लामिक महिलाले स्वइच्छाले बुर्का लगाउनुपर्ने नियम लागू गर्न माग गर्दै आएकी छन्।
महिलाको पक्षमा बोल्दै आएकोले आफ्नै मुलुकमा उनको विरोध पनि हुने गरेको छ। तापनि उनको उदार नीति अभियान र ग्ल्यामस छविको प्रभाव विश्वभर छ।
-अन्नपूर्णबाट, एजेन्सीको सहयोगमा