स्वाइन फ्लु घट्दै

चितवन चैत्र २३,

सर्वसाधारण त्रसित हुनेगरी बढेको स्वाइन फ्लुका बिरामीको सङ्ख्यामा कमी आएको छ । चितवन जिल्लामा माघको दोस्रो हप्ताबाट देखिन थालेको स्वाइन फ्लु फागुनको अन्तिम साता र चैतको पहिलो साता ह्वात्तै बढेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको सरकारी अस्पतालमा दैनिक २० देखि २५ जनासम्म स्वाइन फ्लु आशङ्काका बिरामीको नमुना सङ्कलन गरिएको थियो । यो सङ्ख्या घट्दै आएर हाल दैनिक चार ÷पाँचजनामा झरेको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार माघको दोस्रो सातादेखि हालसम्म ४४७ को नमुना परीक्षणका लागि पठाइएकामा १५३ मा स्वाइन फ्लु प्रमाणित भएको छ । जसमध्ये ८८ महिला छन् भने ६५ पुरुष रहेका छन् ।

प्रमाणित भएकामध्ये सबैभन्दा बढी चितवनका १२८ र नवलपरासिका १५ रहेका छन् । त्यसैगरी, रौतहट, धनुषा, कास्की, गोरखा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक÷एक रहेको केसीले बताए । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पतालमा मात्र नमुना सङ्कलन गरिँदै आएको छ ।

अस्पतालमा तीव्र परीक्षणका क्रममा शङ्कास्पद देखिएमा पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइन्छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले बिरामी घटेसँगै भरतपुर अस्पतालमा राखिएको सहयोग कक्ष हटाइएको बताए।

गर्मीसँगै स्वाइन फ्लु फैलिने क्रममा कमी आउने हुँदा मौसमका कारण बिरामीमा कमी आएको उनले उल्लेख गरे । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com