नेपालमा गएको शक्तिशाली भूकम्पले धेरै हताहत

काठमाडौं, वैशाख १२ ,

शनिबार बिहान गएको भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा सयौँ हताहत भएको अनुमान गरिएको छ ।

आधिकारिक तथ्यांक आएको छैन । शिक्षण अस्पताल महाराजगञ्जमा ५० जनाभन्दा बढीको शव राखिएको छ । धरहरा क्षतिग्रस्त हुँदा केहीको ज्यान गएको अनुमान गरिएको छ ।

जिल्ला सहकर्मीहरुका अनुसार सबैभन्दा बढी गोरखामा १४ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । नुवाकोटमा ६ जना, भक्तपुरमा ५ जना सुनसरीमा २ जना र मकवानपुरमा ३ जनाको मृत्यु भएको छ ।

 पुराना घरहरु  भत्किएको छ । बसन्तपुर असन लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। हाम्रा संवाददाता विजय तिमल्सेनाका अनुसार अहिले बसन्तपुर दरबार क्षेत्रबाट चारजनाको शब निकालिएको छ ।
सडक फुटेका छन्। पटकपटक भूइचालो गइरहेको छ । सडकमा मानिसहरु के गर्ने, कहाँ जाने भनेर अन्योल बढेको छ।  सुरक्षा निकाय उद्दारमा जुटेको छ। पटक पटक गरी आएको भूकम्पले कति क्षति पुर्याएको छ विवरण आउन बाँकी छ।

भूकम्पमा मोरङ जिल्लामा ११ जना घाइते भएका छन् । टंकी सिनुवारी ५ स्थित एभरेष्ट आइरन उद्योगको पर्खाल भत्किँदा च्यापिएर एक नाबालक सहित ६ जना घाइते भएको जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यस्तै विराटनगरकै विभिन्न स्थानमा घरवाट हामफाल्ने क्रममा अन्य ५ जना पनि घाइते भएका छन् ।
घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी ढकालका अनुसार भूकम्पवाट जिल्लाको केही विद्यालय र घरहरू चर्किएका छन् । जिल्ला भरी नै प्रहरी परिचालन गरि भूकम्पवाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ । निक्कै बेर सम्म र पटक पटक धक्का महसुस गरिएपछि अझैपनि सर्वसाधारण त्रासमै छन् । खासगरि बालबालिकाहरू बढी त्रसित भएका छन् ।

यसैगरी क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कास्कीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १ सय ४७ घरमा क्षति पुगेको छ ।
__ source;ekantipur :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com