नौ नारीलाई नवदेवी सम्मान

काठमाडौ, वैशाख ७ ,

आफूले समातेको क्षेत्र, पेसागत लगन, समर्पण र योगदानमार्फत समाजलाई योगदान पुर्‍याउने नारीलाई बर्सेनि नवदेवी सम्मान गर्दै आएको सेलिब्रेटिङ वुमनहुडले यसपटक पनि नौ देवीको नाममा नौ नारीलाई सम्मान गरेको छ । 

राजधानीमा आइतबार देशभरबाट छनोटमा परेका नारीहरूलाई ट्रफी र नगद पुरस्कारसहित सम्मान गरियो । १२ वर्षकै उमेरमा प्रवेशिका उत्तीर्ण अमिरा दली जापानमा बिजनेस म्यानेजमेन्ट अध्ययनपछि स्वदेश फिरेर हरियाली अभियानमा सक्रिय रहिन् । उनलाई वातावरण संरक्षण, कृषि व्यवसायमा लगनशील महिलालाई प्रदान गरिने अन्नपूर्ण अवार्ड दिइयो । 

साहित्यकार उषा शेरचनलाई लेखनद्वारा चेतना फैलाउने महिलाका रूपमा छनोट गरी भगवती सम्मान दिइयो । २६ वर्षीया माउन्टेन बाइकर लक्ष्मी मगरलाई कडा परिश्रम तथा खेलकुद क्षेत्रमा समर्पणका लागि भवानी सम्मान दिइयो । 

झापा चारपानेकी तुलसा खरेलले ग्रामीण बस्तीका अशिक्षित र पीडित महिलाहरूको सहयोगमा अहोरात्र खटिएर समाजसेवामा बेग्लै पहिचान बनाएकाले साहसको कदरस्वरूप दुर्गा सम्मान पाइन् । विगत २४ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत धादिङ मुरली भन्ज्याङकी सावित्रा कोइरालालाई करुणा सम्मान दिइयो । 

कार्यक्रममा बानिका प्रधान, जुना प्रसाईं र प्राश्ना शाक्यले गायन प्रस्तुति दिएर माहोल रमाइलो पारेका थिए । साथै, रंगकर्मी निशा शर्मा पोखरेलले पनि स्टेजमा 'द्रौपदी' को चरित्रमा पर्फमेन्स दिएकी थिइन् । त्यसैगरी, लगन, परिश्रम र मिहिनेतको बलमा आर्थिक सशक्तीकरणतिर महिलालाई अग्रसर गराउन सफल इटहरी, सुनसरीकी राधिका कार्की थापालाई लक्ष्मी सम्मान दिइयो । 

उनले बुटिक, टेलरिङ, महिला सहकारी, ह्यान्डिक्राफ्टका साथै विभिन्न सीपमूलक तालिम खोलेर महिलालाई सशक्तीकरण गराएबापत उनलाई उक्त सम्मान दिइएको हो । कलाकारितामा ३० वर्षदेखि क्रियाशील रही थुप्रै टेलिफिल्म र फिल्ममा अभिनय गरिसकेकी लक्ष्मी गिरीलाई यस वर्षको महामाया सम्मान दिइयो । 

धनगढी, कैलालीकी निर्मला बागचन्दले ज्ञान र विद्यामार्फत अरुका जीवनमा शिक्षाको उज्यालोले छरेबापत सरस्वती सम्मान पाइन् । संयुक्त रूपमा सकारात्मक परिवर्तनका लागि काम गर्ने महिला-पुरुषका लागि प्रदान गरिने शक्ति सम्मान धनुषाको रामकली र सुरेन्द्र लोहारको जोडीले पायो । source;ekantipur :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com