बुहारीले सासुविरुद्ध लगाइन एक सय २० मुद्दा

राजविराज बैसाख ०१,

एक व्यक्तिविरुद्ध कति मुद्दा दायर होलान् ? अथवा एक व्यक्तिले कतिवटासम्म मुद्दा दायर गर्न सक्लान्? यो प्रश्नको कानुनी उत्तर भेटिँदैन। 

कानुनले मुद्दाको कुनै सीमा तोकेको पनि छैन। एक व्यक्तिविरुद्ध एक दुई दर्जन मुद्दा चलेकोसम्म सुनिदै आएको हो। तर यहाँकी एक बुहारीले आफ्नै सासुविरुद्ध एक सय २० वटा मुद्दा दायर गरेको तथ्य फेला परेको छ। एकै व्यक्तिले अर्को एक व्यक्तिमाथि चलाएको एक सय २० वटा मुद्दाको मिसिल देखेर अदालतका कर्मचारी पनि छक्क परेका छन्। 

मिसिल अध्ययन र मिसिलको चाङ डोरीले कसेर इजलाशबाट फाँटसम्म पु:याउँदैमा कर्मचारी हैरान छन्। यस्तो मुद्दा दिने व्यक्ति हुन् ५३ वर्षकी इन्दिरा रायमाझी। उनी काठमाडौं मनपा १६ नयाँबजार लैलातिर्थ मार्गमा बस्छिन्। उनले ७५ वर्षीया सासु हंशकुमारी रायमाझीविरुद्ध एकैसाथ ६० वटा जालसाजी र ६० वटा दूषित राजीनामा बदर मुद्दा दर्ता गरेकी हुन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाले वारदातस्थल उदयपुरको क्षेत्राधिकारभित्र भएको भन्दै ०७० वैशाख १९ गते सरुवा आदेश गर्दै मुद्दाहरू उदयपुर जिल्ला अदालत पठाएको थियो। उदयपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले सासु हंशकुमारीको पक्षमा ०७१ असार १ गते फैसला सुनाएपछि बुहारी इन्दिराले ०७१ पुस र फागुनमा एक सय २० वटा मुद्दामा भएको फैसलाविरुद्ध पुनरावेदन अदालत राजविराजमा निवेदन दिएकी थिइन्। 

उदयपुरको देउरी दुईमा रहेको आफ्नो हकसमेत लाग्ने जग्गा विभिन्न व्यक्तिलाई बिक्री गर्नु जालसाजीभएको दाबी गर्दै बुहारीले सासुविरुद्ध एकैसाथ एक सय २० वटा मुद्दा दायर गरेको अदालतका रजिष्ट्रार नेत्रप्रकाश आचार्यले जानकारी दिए। विभिन्न टुक्रामा परिणत भई उक्त जग्गामा हाल सयौं घर बनिसकेको र राम्रो बजार क्षेत्र बसिसकेको छ। उदयपुर जिल्ला अदालतको फैसलालाई नै पुनरावेदन अदालतले सदर गर्दै आइतबार न्यायाधीशद्वय बालकृष्ण उप्रेती र महेन्द्रराज गौतमको संयुक्त इजलासले सासुको पक्षमा फैसला सुनाएको छ।
__ मनोहर कुमार - अन्नपूर्णबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com