इलाम, पूर्णखोपयुक्त जिल्ला घोषणा

इलाम, ११ वैशाख

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले पूर्णखोपयुक्त जिल्ला घोषणापछि यसलाई पूर्णरुपले कार्यान्वयन गर्न चुनौती रहेको बताएका छन् ।

“पूर्ण खोपयुक्तपछिको अवस्थालाई निरन्तर कायम राख्न चुनौती छ, यसलाई दीर्घकालीन रुपमा टिकाइराख्नु नै अहिलेको आवश्यकता हो”, उनले भने ।

‘स्थानीय स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज इलामलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्दै उनले भने, “जन्मेदेखि एक वर्षभित्रका सबै बालबालिकालाई खोप सेवा पुगेर खोपबाट कोही पनि बञ्चित हुनु हुँदैन भन्ने सरकारको लक्ष्य हो ।” पूर्णखोप घोषणा भएका जिल्लालाई पनि निरन्तर अनुगमन र मूल्याङ्कन गरिरहनुपर्छ, उनको भनार्इ छ ।

आगामी असारसम्ममा नेपालले लोकतान्त्रिक संविधान पाउने बताउँदै मन्त्री अधिकारीले नयाँ संविधानमा नागरिकका स्वास्थ्य अधिकारलाई पूर्ण प्रत्याभूत गरिने बताए ।

हाल जाजरकोटमा फैलिरहेको सिजनल फ्लु नियन्त्रणका लागि सरकार क्रियाशील रहेको बताउँदै उनले मौसमी फ्लु करिबकरिब नियन्त्रणमा आइसकेको दाबीसमेत गरे । सरकारले जाजरकोटमा २७० जनाभन्दा बढी चिकित्सकलाई ३० भन्दा बढी ठाउँमा राखेर स्वास्थ्योपचार पु¥याइरहेको र अहिलेसम्ममा साँढे नौ हजार जनाको स्वास्थ्य परीक्षण गरिसकिएको बताए ।

जाजरकोटलगायत हुम्ला, जुम्ला, कालीकोट, रुकुम, दैलेखमा पनि सिजनल फ्लु देखापरेको भन्ने जानकारीका आधारमा सरकारले हुम्लामा पनि चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गर्न लागेको जानकारी दिए ।
यो समयमा सामान्य रुघाखोकी लागेको र अन्य बिरामी भएको मानिसले भीडभाडमा नजान, माक्सको प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मौसमी फ्लुविरुद्ध निस्किएको औषधि (ट्यामी फ्लु) ७५ वटै जिल्लामा पठाइसकिएको र बिरामीलाई स्वास्थ्य परीक्षण गरी आवश्यक परेमा उक्त औषधि वितरण गर्न चिकित्सकलाई निर्देशनसमेत दिए ।

मन्त्री अधिकारीले एक वर्षीया बालिकालाई पोलियो थोपा खुवाएर कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले पूर्णखोपयुक्त जिल्ला घोषणाका सम्बन्धमा इलामको वर्तमान अवस्था जानकारी गराएका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री अधिकारीले खोप समन्वय समितिका अध्यक्ष मदन कोइरालालाई मन्त्रालयबाट पूर्णखोप जिल्ला घोषणा भएको प्रमाणपत्र प्रदान गरे । इलाम जिल्ला पूर्णखोप घोषणा हुनेमा पूर्वाञ्चलमा दोस्रो र समग्र देशमै आठौँ भएको छ । पूर्वाञ्चल क्षेत्रमा धनकुटा पहिलो भएको हो ।

जन्मेदेखि २३ महिनासम्मका पाँच हजार ८२५ जना बालबालिकालाई खोप लगाइएको छ । ८८।४१ प्रतिशतले बिसिजी, १०२ प्रतिशतले डिपिटी, १०१।८३ प्रतिशतले दादुरा रुवेला, १०२।४८ प्रतिशत बालबालिकाले पोलियो खोप पाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विसं २०७० फागुन ७ मा सुलुबुङलाई पहिलो पूर्णखोपयुक्त गाविस घोषणा गरेर अभियानको सुरुवात गरिएको एक वर्षपछि जिल्लाकै ४३ गाविस र तीन नगरपालिकालाई पूर्णखोप घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।  रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com