देशविदेशका छ जनालाई नइ पुरस्कार प्रदान

काठमान्डू चैत्र २३,
'हिमवत्खण्ड' सम्पूर्ण अतिथिलाई उपहार . . 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका ६ जना प्रतिभालाई राजधानी काठमाडौंमा आज २०७१ सालको नइ पुरस्कार प्रदान गर्नुभयो ।

ताम्रपत्रसहित यी पुरस्कार जनही पचास हजार रूपियाँ राशिका छन् ।

समारोहका प्रमुख अतिथि लोकमानसिंह कार्कीले 'राज्य र सरकारले गर्नु पर्ने साहित्य, कला र संस्कृतिको काम नइ प्रकाशनले नै गर्दै आएको छ' भन्नु भयो ।

• आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित बोधिसत्व स्वामी श्री आनन्द अरुणलाई नइ भूपालदुर्गा पुरस्कार समर्पण गरियो ।

• धर्म, संस्कृति र अन्वेषणमा विशिष्ट योगदानका लागि प्रा.डा.वीणा पौडेललाई नइ चन्द्रधन पुरस्कार समर्पण गरियो ।

• नेपाली भाषामा कविताको स्तरीय सृजना गर्दै समालोचनाका माध्यमबाट समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत वनारस हिन्दु विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.सञ्जय वान्तवालाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गरियो ।

• राजधानी बाहिर बसेर पनि नेपाली भाषासाहित्यको स्तरीय सृजनामा समर्पित झापाका तेजराज खतिवडालाई नइ धनरुप पुरस्कार प्रदान गरियो ।

• नइ गणेशदुर्गा पुरस्कारबाट पुरस्कृत हुनेमा विदेशमा रहेर नेपाली भाषा र साहित्य सृजनामा सदैव जागरूक अमेरिकाका शरद निरौला र मञ्जु हाडा निरौला हुनुहुन्छ ।

नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका छब्बीस ओटा पुरस्कार प्रदान गर्दै आएको छ ।

• समारोहमा योगी नरहरिनाथद्वारा सम्पादित नेपाली भाषामा 'हिमवत्खण्ड'को बोधिसत्व स्वामी श्री आनन्द अरुणद्वारा सार्वजनिकीकरण भयो । २०×३० आकारको ६७२ पृष्ठको सो ग्रन्थ समारोहमा सबैलाई निश्शुल्क प्रदान गरिएको थियो ।

समारोहमा 'हिमवत्खण्ड'को महिमाबारे डा.मोदनाथ प्रश्रितले प्रकाश पार्नु भयो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गर्नु भएको थियो ।

(नरेन्द्रराज प्रसार्ई)
सदस्यसचिव
नइ प्रकाशन




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com