अनेक सपना देखाएर यसरी बेचिन्छन नेपाली युवति

काठमाडौ, चैत्र २२ ,

विवाह र रोजगारीका नाममा विदेशमा बेचिंदै नेपाली युवती १३ हजार नेपाली युवती विदेशीलाई बेचिएको तथ्यांक...

जिन्स पाइन्ट र रातो रंगको छालाको जुत्ता लगाएकी एक युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिसरमा २१ फागुनको मध्याह्न हतास र निराशा मिस्रित भावमा भित्र-बाहिर गरिरहेकी थिइन् । अनुहार मलिन थियो । बोल्दा ओठ काँप्थ्यो ।

यतिबिघ्न त्रस्त यी युवती थिइन्, विदेशी भूमिमा बेचिएर कहालीलाग्दो कष्टपछि भर्खरै नेपाल फर्किएकी । चीनको उत्तरी भेग हार्बिन प्रान्तका ४८ वर्षे चिनियाँले उनलाई १५ लाख रुपियाँमा किनेर विवाह गरेका थिए । 'मैले तँलाई किनेर ल्याएको हुँ, अब तैैँले बच्चा पाउनुपर्छ,' कागजी श्रीमान् मात्रै भनिएको चिनियाँले  यसो भनेपछि मात्र १९ वषर्ीया यी युवतीले आफू बेचिएको पत्तो पाएकी थिइन् ।

विदेशीसँग विवाह गराइदिने भनेर खुलेका म्यारिज ब्युरोहरूले १५ देखि २० लाख रुपियाँ लिएर यिनीजस्तै नेपाली युवतीलाई चिनियाँ र कोरियन नागरिकसँग विवाहका नाममा बेच्ने गरेको प्रहरीको भनाइ छ । "वस्तुसरह मोलमोलाइ गरेर किनबेच गर्दा रहेछन्," सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक -डीआईजी)  हेमन्त मल्ल ठकुरी भन्छन् ।

ठूलो संख्यामा नेपाली युवतीलाई खाडी मुलुकदेखि अपि|mकी राष्ट्रसम्म मानव तस्करहरूको संगठित गिरोहले ओसार्न थालेका छन् । मनोरञ्जन उद्योग, विवाह, श्रम -हाउसमेड र केयरगिभर)लाई माध्यम बनाएर उनीहरूले यस्तो धन्दा चलाइरहेका छन् । कानुनी रूपमा कहीँ खोट नदेख्ने गरी कागजात मिलाएरै चेलीबेटीको  बेचबिखन हुने गरेको छ ।

यसरी विवाह गरेर गइसकेपछि मासिक एक लाख रुपियाँ कमाइ हुने, विवाहित श्रीमान्सँग बस्न बाध्य नहुने र एक वर्षपछि नेपालबाट परिवारलाई बोलाउन पाइने भन्दै दोब्बर उमेरका कोरियन र चिनियाँसँग विवाह गराएर युवतीलाई पठाउने गरिन्छ । तर, पुग्दा भनिएजस्तो केही हुँदैन । बरू धेरैलाई यौनदासी बनाएर  राखिन्छ ।

खाडीमै आठ हजार :
कति नेपाली युवती बेचिएर कुन कुन मुलुक लगिएका छन् भन्ने आँकडा सरकारसँग छैन । तर, भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन -सीबीआईर्)ले चार महिनाअघि गरेको एक अनुसन्धानले भने युवती बेचबिखनको निकै भयानक तस्बिर सार्वजनिक गरेको छ । सीबीआईका अनुसार नयाँ दिल्लीको इन्दिरा गान्धी  अन्तर्राष्ट्रिय -आईजीआई) विमानस्थलबाट सन् २०१४ को डिसेम्बरसम्म २० देखि ३० वर्ष उमेर समूहका ६ देखि आठ हजार नेपाली युवती खाडी मुलुकमा यौनकार्यका लागि गएको खुलेको छ । "टिकट, भिसा र होटल केन्याको राजधानी नैरोबीका लागि बुक गरिएको हुन्छ । तर, दुबई एअरपोर्टमा झरेपछि युवतीहरू दुबइर् मै काम गर्नका लागि गोप्य रूपमा राखिएको पेपर भिसा निकालेर बस्छन्," सीबीआईको अनुसन्धान उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, 'आईजीआई विमानस्थल नेपाली युवती यौनकार्यका लागि खाडी मुलुक पठाउने उर्वर ट्रान्जिटका रूपमा उदाएको छ ।'

सात तहसम्म बिक्री :
नेपाली युवती अफ्रिकी मुलुक पठाउने गिरोहलाई २८ फागुनमा पक्राउ पर्दा सीआईबी जति दंग परेको थियो, बरामद दसी तथा गिरोहको बाहिरी मुलुकसँगको कनेक्सनले त्यसभन्दा बढी आश्चर्यमा पर्‍यो । पक्राउ परेका हरेकको खल्तीमै एक लाख रुपियाँ र अमेरिकी डलरको बन्डल थियो । उड्न तयार उनीहरूसँग एक  दर्जन विद्युतीय टिकट र भिसासमेत भेटियो । अफ्रिकी राष्ट्र, खाडी मुलुक र मलेसिया पठाउन ठिक्क पारिएका २४ युवतीका राहदानी जफत भयो । यति ठूलो मात्रामा मानव ओसारपसार हुने गरेको तथ्यले नेपाली चेली अन्तर्राष्ट्रिय मानव तस्करहरूको संगठित गिरोहको पन्जामा फस्दै गएको प्रस्टिन्छ ।

प्रहरी अनुसन्धानबाट नेपालबाट लगिएका युवतीलाई आधा दर्जन ठाउँमा बेचिने गरेको अर्को डरलाग्दो पक्षसमेत उजागर भएको छ । नेपालबाटै मोलमोलाइ सुरु भएर अफ्रिकी देशका डान्स बारहरूमा पुर्‍याइएका युवती त्यहाँ सात तहसम्म बेचिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । नेपालदेखि दुबई, बहराइन, मले सिया र अफ्रिकासम्म डान्स बारमा लगानी गरेरै यौनजन्य कार्यका लागि महिलाको ओसारपसार भइरहेको छ ।

ललितपुरको मानभवनमा मुनलाइट डान्स बार (मुड) चलाउने राजेन्द्र सुवेदीले दुबईमा मुड १ देखि मुड ७ सम्मका सिरिजवाइज डान्स बार खोलेका छन् । उनले केन्या र तान्जानियामा समेत नशा बार, हन्टर बार, धमाका बारजस्ता डान्स बारमा लगानी गरेका छन् ।

तीन महिनामा भिसाको मिति सकिने हुँदा दुबई, तान्जानिया, केन्या, युगान्डा, ओमान, बहराइन, हङकङ, मलेसिया र नेपाल ओहोरदोहोर गराइरहन्छन्, युवतीलाई । त्यहीँका स्थानीयसँग साझेदारीमा डान्स बार चलाएका सुवेदीको पोल्टामा हरेकपटक डान्सर ओहोरदोहोर गराउँदा स्वत: १० प्रतिशत कमिसन भरिन्छ ।

मानव बेचबिखनमा अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) किरण बज्राचार्यको भनाइमा सुवेदीले भिसा सकिनासाथ तान्जानियाको धमाका बारबाट दुबईको मुड १ मा पठाउँछन् । यसो गर्दा एकातिर एजेन्टले कमिसन पाउँछ भने अर्कोतिर एउटा देशमा भिसा म्याद सकिए पनि अर्कोमा काम लगाउँछन् । दुबईमा  अवधि सकिएपछि फेरि केन्या, मलेसिया वा बहराइन पठाइन्छ ।

प्रहरीका अनुसार नेपालमा डान्स सेन्टरहरूमा रहेका एजेन्टले सुवेदीको नेपालस्थित डान्स बारमा युवतीलाई जागिर लगाइदिने भन्दै पुर्‍याउँछन् । अनि, मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुने लोभ देखाई दुबई, अफ्रिकी मुलुक र मलेसिया पुर्‍याउँछन् । यस्तै, विवाह गरेर दक्षिण कोरिया र चीन लगिएका युवतीसमेत  त्यहाँ तहतहमा बेचिने गरेका छन् ।

सपिङको पासो :
तस्करी गरेर विदेश पुर्‍याइने युवतीलाई एजेन्टहरूले गज्जबको पासो थापेका हुन्छन्, सुरुमै काठमाडौँका मलहरूमा एक जनालाई कम्तीमा एक लाख रुपियाँसम्मको सपिङ् । पछिल्लो संस्करणका महँगा मोबाइल फोन किनिदिन्छन् । महँगा रेस्टुराँमा खुवाउँछन्, स्विमिङ लैजान्छन् । "जीवनलाई साह्रै रंगीनजस्तो बनाइदिन्छन," एसपी बज्राचार्य भन्छिन्, "पढेलेखेका महत्त्वाकांक्षी युवती सहजै लोभिन्छन् र बेचिन्छन् ।"

सीआईबीले विवाह गरेर चीन र कोरिया पुर्‍याउने तथा खाडी मुलुकमा डान्स बारमा लैजाने युवतीहरूको अनुसन्धान गर्दा दुवैमा यही शैली अपनाएको पाइएको थियो ।

खाडी मुलुकमा हाउसमेड, केयरटेकरजस्ता काममा जाने महिलामध्ये धेरैको किनबेच हुन्छ । यसमा नेपालमा रहेका कतिपय वैदेशिक रोजगार व्यवसायीको संलग्नता हुन्छ । "धेरैजसो म्यानपावर कम्पनीले यहाँ मानिसको किनबेच गरिरहेका छन्," विदेशमा बेचिएकालाई कानुनी सहयोग गर्दै आएका अधिवक्ता टीकाराम  पोखरेल भन्छन् ।

'भिजिट भिसा' मार्फत तस्करी :
महिला तस्करीको अर्को माध्यम हो, 'भिजिट भिसा' । सरकारले ३० वर्षसम्मका महिलालाई खाडी क्षेत्रमा वैदेशिक रोजगारको लागि जान प्रतिबन्ध लगाएपछि तस्करहरूले यस्तो उपाय निकालेका हुन् । ट्राभल तथा टुर एजेन्सी, मनी एक्स्चेन्जर, स्वास्थ्य परीक्षण गर्ने केन्द्रले संगठित रूपमै भिजिट भिसामा महिलाको तस्करी  गरिरहेको जालो सीआईबीले ०६९ सालमा फेला पारेको थियो । त्यतिबेला ट्राभल्स सञ्चालकदेखि चिकित्सकसम्मलाई पक्राउ गरेको थियो ।

मानव तस्करी मौलाएपछि सरकारले ०६९ मा झन्डै तीन महिना भिजिट भिसामा खाडी राष्ट्र जान भित्रभित्रै रोक लगाए पनि पछि फुकुवा भएकाले त्यस्तो धन्दा यथावत् छ ।

मानव तस्कर गिरोह कति शक्तिशाली हुन्छ भन्ने बेचिएर फर्किएकाहरू सहजै कुनै पनि निकायमा उजुरी गर्न सक्दैनन् । एसपी बज्राचार्यले सुनाइन्, "पठाउने समूह शक्तिशाली हुने हुँदा पीडितहरू कुरा खोल्न डराउँछन् ।"

मानव तस्करीको धन्दा यस्तो हो, जसमा 'विन-विन'को अवस्था हुन्छ । "अवैध बाटो भनेर जान्दाजान्दै जोखिम मोलेर राम्रो जीवनको आशामा विदेश जान खोज्छन्," महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक -एसएसपी) पुष्कर कार्की भन्छन्, "जब दु:ख पाउँछन् अनि मात्रै कुरा चुहिन्छ, नभए थाहै  हुँदैन । मानव तस्करीका धरातलीय कारणहरू खोजेर मात्रै यसको दीगो समाधान हुन्छ ।"

पहिले अशिक्षित र गाउँका व्यक्ति मानव तस्करीको उच्च जोखिममा थिए भने अहिले पठित र सहरबजारमै बसोबास गर्नेहरूसमेत तारोमा छन् । जस्तो : अफ्रिकी मुलुक केन्या र तान्जानियाका डान्स बारबाट फागुनको पहिलो साता अन्तर्राष्ट्रिय आप्रवासी संगठन -आईओएम)ले उद्धार गरेका चारै जना प्लस टु पढिरहेका  युवती हुन् ।

केन्याको पर्यटकीय गन्तव्य नैरोबीमा नेपाली युवतीलाई यौनकार्यमा लगाउने गरिएको सूचना नेपालको सीआईबीले पाएको छ । त्यहाँ दुई सय नेपाली महिला भएको अनौपचारिक जानकारी पाए पनि त्यसको आधिकारिकता जाँच्न सकिएको छैन । तान्जानियाका २० वटा डान्स बारमा त्यहाँको प्रहरीले छापा मारेर नेपाली  युवतीहरूलाई पक्राउ गरेको खबर सीआईबीले पाए पनि थप जानकारीको पर्खाइमा छ । डीआईजी मल्ल भन्छन्, "यौनदासीजस्तो बनाएर राखिएका छन् भन्ने प्रारम्भिक सूचना आएको छ ।"

हुल बाँधेर प्रहरीमा :
२५ फागुनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रहरी उपरीक्षक (एसपी) किरण बज्राचार्यको कार्यकक्षमा १३ जना युवती हुल बाँधेर पुगे । उनीहरू विवाह गरी कोरिया पुगेर भविष्य उज्ज्वल बनाउने आफ्नो सपना प्रहरीले तुहाइदिएको भन्दै गुनासो पोखिरहेका थिए ।

कोरियाली र चिनियाँ नागरिकसँग विवाह गराइदिएर ती देशमा नेपाली युवती पठाउने छेरु शेर्पा र कोरियन नागरिक ही चाङ पार्कलाई प्रहरीले १९ फागुनमा पक्राउ गरेको थियो । शेर्पा पक्राउपछि उनीहरूको प्रक्रिया रोकिएको छ ।

'हामी त सबै कुरा बुझेर जान लागेका हौँ,' एक युवती बज्राचार्यलाई भनिरहेकी थिइन्, 'त्यहाँ गएपछि हाम्रो भविष्य राम्रो हुन्छ रे । फेरि त्यहाँ पुगेका सबैले दु:खै मात्र त पाएका छैनन् नि ।'

'दु:ख पायौ र यहाँ भनिएजस्तो भएन भने ?' एसपीले सोधिन् ।

'त्यहाँ पनि कानुन छ होला नि ?' युवतीहरूको अगुवाइ गर्ने ती युवतीले भनिन् ।

'त्यहाँको कानुनमा के छ थाहा छ ? तिमीहरूलाई त्यसबारे केही बताइएको छ ?' एसपी बज्राचार्यले फेरि सोधिन् । युवतीले जवाफ दिन सकिनन् ।

यो संवादबाट प्रस्ट हुन्छ, नेपाली युवतीहरू कसरी आफ्नो समुन्नत जीवनको दृढ सपनामा फसेर मानव तस्करहरूबाट विभिन्न मुलुक पुगिरहेका छन् । अधिकांश युवतीले उमेर बढाएर भनेका थिए । विवाह गर्न लागेका श्रीमान्को उमेर सोध्दा चार जनाले मात्रै भन्न सके भने बाँकीलाई पत्तो थिएन । युवतीहरू  बाहिरिएपछि एसपी बज्राचार्यले भनिन्, "बेचिएर होइन, राजीखुसीले जान लागेको भनेर प्रहरीलाई नै दबाब दिन तस्करहरूले युवतीको हुल पठाएका हुन् ।"

__ मानबहादुर बस्नेत-इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com