नेपाल यस कारण भूकम्प जोखिममा

शनिबारको महभूकम्प आउँदा म कपन मिलनचोकस्थित आफ्नै घरको माथिल्लो तलामा भूकम्प सम्बन्धी नै रिसर्चमुलक आलेख तयार पारिरहेको थिएँ । केही समय अघिदेखि नेपालको भूकम्पमाथि गरेको अध्ययनको पछिल्लो उपलब्धीलाई लिएर एक इन्टरनेश्नल जर्नलका लागि आलेख तयार हुँदैथियो । भूकम्पको 'पी वेभ' (प्रारम्भिक तरंग, जसलाई वडी वेभ पनि भनिन्छ) बाटै मैले महाभूकम्प प्रकृति थाहा पाइहालें, दश सकेन्डमै म घर छेउको चौरमा पुगिसकेको थिएँ । सियर वेभ (पछिल्लो झट्का)को बेलामा म चौरमा बेस्सरी हल्लिरहेको थिएँ । 
नेपालको हिमालय क्षेत्र पहिलेदेखि नै भूकम्पिय रुपमा जोखिमपुर्ण मानिंदै आएको छ । सन् १२५५को भूकम्प, जतिबेला राजा अभय मल्ल समेत दिवंगत भएका थिए, त्यसयता नेपालमा २१ वटा ठुला-साना भूकम्प गएको देखिन्छ । यो महाभूकम्प २२ औं हो । १८५० को आसाम भूकम्प, १९०५ को काँकडा भूकम्प, १८९७ को सिलोङ भूकम्प र १९०५ को देहरादुन भूकम्पहरु हिमालय क्षेत्रको केही ठुला भूकम्प मानिन्छ् । तर वितेका ५ सय बर्षयता यो क्षेत्रमा 'सेन्ट्रल साइफ्मिक ग्याप' भइरहेको थियो । अर्थात ठुलो भूकम्पको तयारी भइरहेको थियो । यस्तोमा यो क्षेत्रमा धेरै इनर्जी संचय हुन्छ । मैले जापानबाट 'हिमालय टेक्टोनिक्स सेस्मोलजी (भूकम्प)' पिएचडी गर्दाको अनुसन्धानकै आधारमा सन् २००६ मै भनेको थिएँ कि- हिमालय क्षेत्रमा केही बर्षभित्रै ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउनेवाला छ । 

नेपाल यसकारण भूकम्पिय जोखिममा  :
नेपाल 'मेन हिमालयन थ्रस्ट' अन्र्तगत पर्छ । यो थ्रस्टकै कारण नेपाल संधै भूकम्पिय जोखिममा परेको हो । यसले हिमालय क्षेत्रमा ठुल्ठुला भूकम्प ल्याउने गर्छ । ग्लोबल पोजिसनिङ सिस्टम अध्ययन गर्दा के देखिन्छ भने हाम्रो 'हाइयर (उच्च) हिमालय'को अग्रभागदेखि चुरे पहाडसम्मको क्षेत्र ब्लक छ । यसकारण यहाँ धेरै इनर्जी संचित हुन्छ । इन्डियन प्लेट र तिब्बती प्लेट बिचको जब संघात (कोलिजन) हुन्छ, यो संजित इनर्जीमा सिधै असर गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ । यसरी प्लेट माथितिर ठेलिंदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ । प्लेट तल नझरी माथि सर्दा हुने भूकम्पलाई थ्रस्ट टाइपको भूकम्प भनिन्छ । विसं १९९० को भूकम्प पनि यस्तै प्रकारको हो । 

जर्मनीको 'स्प्रिङगर' जर्नलले 'माउन्टेन हेजार्ड एण्ड डिजास्टर रिस्क रिडक्शन' अध्ययन छापेको छ, गएको डिसेम्बरमा । यस अन्र्तगत हामीले काठमाडौं आसपास ६ प्वाइन्ट ३ रेक्टर स्केलको भूकम्प गयो भने के हुन्छ ? भनेर अनुसन्धान गरेका थियौं । यसबाट नयाँ तथ्य के पत्ता लाग्यो भने काठमाडौं उपत्यकाको खुमलटार, ठमेल, महाराजगञ्ज, चावहिल, सुन्धारा, नयाँ बानेश्वर, बुङमती, बल्खु, कोटेश्वर क्षेत्रमा सबैभन्दा बढि भूकम्पीय तरंगले असर पैदा गर्छ । यो क्षेत्र अरु क्षेत्रको तुलनामा आठ गुणा बढि तरंगले असर गर्ने देखिन्छ अध्ययन अनुसार । विसं १९९० को महाभूकम्पसित तुलना गरेर हेर्दा पनि यो मिल्न गयो । शनिबारको महाभूकम्प असरको बास्तविक तथ्य त थाहा पाउन बाँकी नै छ, तर मेरो बिचारमा यी क्षेत्रहरु निकै नै बढि प्रभावित भएको हुनुपर्छ । 

'इन्जिनियरिङ सिस्मोलजी' माथि मैले इटलीबाट पोस्ट डक्टरेट गरेको हुँ । त्यो अनुसन्धानको आधारबाट हेर्दा काठमाडौं भ्यालीसँगै वरिपरिको क्षेत्र झन ठुलो भूकम्पिय जोखिममा रहेको देखिन्छ । काठमाडौंको भूकम्पलाई वान डी (डाइमेन्सन) हैन टु डीको आधारमा अध्ययन गर्नुपर्ने हुन्छ । अर्थात यहाँ आउने भूकम्पको दुई आयाम देखिन्छ । भूकम्पको तरंगको शक्ति एकअर्कामा खप्टिएर छेउछाउको पहाडमा गएर ठोक्किन्छ र फेरि फर्किन्छ । यसो हुँदा भूकम्पको ठुलो विनास काठमाडौं आसपासको क्षेत्रमा झन हुन्छ । मेरो अनुमानमा यो भूकम्पले वरिपरिको क्षेत्रमा ठुलो विनास ल्याएको हुनुपर्छ । क्षति विवरण आउनै बाँकी छ । हेरौं । 

यसअघि ६ प्वाइन्ट ३ रेक्टर स्केलको भूकम्प आयो भनेपनि काठमाडौंको त्रिभुवन विमानस्थल ध्वस्त हुन्छ भन्ने अनुमान गरिन्थ्यो । हाम्रो अध्ययनले चाहिँ त्यो देखाएन । केही अघि हामीले नेपाल जिआलजिकल सोसाइटीको इन्टरनेश्नल कंग्रेसमा यससम्बन्धी कार्यपत्र नै प्रस्तुत गरेका थियौं । आजको संयोग कस्तो भने भूकम्पको झट्का महसुस गरिहँदा यही रिसर्चको प्राप्तिहरुबारे लेख्दैथिएँ । छिट्टै यो तयार भएर इन्टरनेश्नल जर्नलमा आउँदैछ ।

भूकम्प गएर पनि अहिले अरु स-साना भूकम्पको महसुस भइरहेको छ नि । प्लेटहरुको मुख्य दरारमा अहिले पनि मुभमेन्ट भइरहेको छ । यो थामिएको छैन । यसकारण साना साना झट्का महसुस भएको हो । 

अबको सावधानी   

अहिले मुलुकभर कोलाहल छ । सबैजना त्रासका विच बाटामा, खाली चौर र चोकमा निस्केका छन् । क्षति विवरण अपडेट हुने क्रम जारी छ । सम्पर्कहरु विच्छेद भएका छन् । जतिबेला भूकम्प आउँछ र संकटमा पर्छौं, त्यतिबेलामात्रै हामी सावधानीका अनेक पक्षबारे बहस थाल्छौं । यो प्रवृत्ति निकै गलत हो । नेपाल अहिले मात्रै हैन, पहिलेदेखि नै भूकम्पिय जोखिम क्षेत्र थियो । यो हामी सबैलाई थाहा छ । तर यहाँ समस्याको निराकरणतिर धेरै काम गर्नुपर्ने देखिन्छ । 

सबैभन्दा पहिले त अव्यवस्थित बस्ती तथा घर निर्माणलाई कडाईका साथ रोख्नुपर्छ । हामीसँग  'भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहिता' त छ, तर यसको पालन भएको देखिंदैन । घर बनाउँदा नक्शामा भूकम्प प्रतिरोधी बनाएर मात्रै हुन्न । यसको लागि सरकारी निकायले कडा अनुगमन गर्नुपर्छ । कारबाही गर्नुपर्छ । धेरैले नक्शामा मात्रै मिलाएका छन् । अचेल मलाई आफ्नै र्छिदा पनि चिहानतिर छिरिरहेको हो कि भन्ने आभास हुन्छ ।  

अर्को पक्ष गम्भीर चाहिँ के हो भने यो आचारसंहिता नै रिभिजन गर्नुपर्छ । अहिलेको आचार संहिता नेपालको माटो सुहाउँदो छैन । हिमालयमा जाने नेपालको भूकम्पलाई आधार मानि यो आचार संहिता बनाएकै हैन । भवन निर्माण आचार संहिता नगरपालिकामात्रै अनिवार्य गरेर हुन्छ ? जबकी गाउँमा पनि उत्तिकै ठुला-ठुला क्षति भइरहेका छन् । गाउँमा पनि आचार संहितालाई सहज तरिकाले अनिवार्य बनाउनुपर्छ । 

अनि यस्ता घर बनाउनेलाई राज्यको तर्फबाट इन्सेन्टिभ पनि दिनुपर्छ । ट्याक्स छुट दिएर हुन्छ या अरु नै कुनै तवरले । तर उनीहरुलाई प्रोत्साहन चाहिन्छ । सभा सेमिनार मात्रै गरेर केही हुनेवाला छैन । व्यवहारमा जानुपर्यो । अनिमात्रै प्रकोप विरुद्ध लड्ने शक्ति निर्माण हुनसक्छ । चेतना मात्रै भएर हुँदैन । 

चेतना निर्माणमा नेपालमा एनजिओहरुले राम्रै गरेको मान्न सकिन्छ । तर उनीहरु आफै व्यवहारिक छैन । साइन्स एकातिर छ व्यवहार अर्कोतिर । भूकम्पमाथि काम गर्ने ठुला एनजिओहरुमै भूकम्पविदहरु छैनन् । इन्जिनियहरुबाट उनीहरु काम चलाइराखेका छन् । यस्ता इन्जिनियरहरु कि उनीहरुको क्षमताको कुनै परिक्षा नै हुँदैन । जसरी मेडिकल काउन्सिलले डाक्टरको योग्यता जाँच लिन्छ, प्रमाणिकरण गर्छ, इन्जिनियरिङ काउन्सिलले यो गर्नुपर्छ कि पर्दैन ? के इन्जिनियरको चाहिँ योग्यताको प्रमाणिकरण चाहिंदैन ? 

अर्को महत्वपुर्ण पक्ष के हो भने घर बनाउने जमिनको प्रकृतिमा बढि ध्यान दिनुपर्छ । नेपालमा अहिलेसम्म भूकम्पिय तरंगसँग जमिनले कसरी प्रतिक्रिया देखाउँछ भन्ने हिसाबले माटोको अध्ययन भएकै छैन । कपन एरियामै यो देखियो आज । यो महाभूकम्पमा कपन एरियाका धेरैजसो घरहरु भासिएका छन्, भत्केका भने छैन । यो माटोको प्रकृतिको कारण भएको हो । यसको अध्ययन नै हुँदैन हामी कहाँ । यसको लागि माइक्रो स्टडी हुनुपर्छ । 

हामीसँग भु-उपयोग नीति छ तर यसको लागु हुनसकेको छैन । यतातिर पनि ध्यान दिनुपर्छ । अलिकति खाली जमिन देख्यो कि दश फिटको बाटो राखी प्लटिङ गरिहाल्ने लहर चलेको छ । यो निकै गम्भीर विषय हो । जथाभावी हाउजिङ निर्माणले हामीलाई भविष्यमा सही दिशातिर लाँदैन । त्यसकारण भु-उपयोग नीति कार्यान्वयन आवश्यक छ । यी सबै हुन सके- प्राकृतिक घटना त रोक्न सकिंदैन, तर यसबाट हुने क्षति भने धेरै नै कम गर्न सकिन्छ ।
__ साभार; इकान्तिपुर - डा:दिपक चम्लैगाई 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com