गोप्य कागजात सार्वजनिक गरेकोमा चीनका एक शीर्ष पत्रकार गाओ युलाई ७ वर्ष जेल

बेइजिङ (बीबीसी), वैशाख ६ ,

एक विदेशी वेबसाइटमा गोप्य कागजात सार्वजनिक गरेको अभियोगमा चीनका एक शीर्ष पत्रकार ७१ वर्षीया गाओ युलाई ७ वर्ष जेल सजाय भएको छ । उनले विदेशीहरूलाई अवैध तरिकाले राज्यको गोप्य सूचनाहरू उपलब्ध गराएको बेइजिङस्थित एक अदालतले जनाएको छ ।

चीनले सम्बन्धित कागजातबारे केही खुलाएको छैन । तर यो 'डकुमेन्ट नम्बर ९' को नामले जानिने कम्युनिस्ट पार्टीको रणनीतिक दस्तावेज भएको विश्वास गरिएको छ । त्यो कागजातमा प्रजातन्त्र, नागरिक समाज र प्रेसमाथि कडा प्रतिबन्ध लगाउनेबारे उल्लेख छ । सरकार र व्यक्ति प्रशंसामा लिन रहने राष्ट्रका मूलधारका पत्रकारभन्दा गाओ पृथक् छविका लागि चिनिन्छन् । 

उनी कमै चर्चामा रहेर संख्यात्मकभन्दा उत्कृष्ट र गुणात्मक खबर लेख्नका लागि लोकपि्रय छिन् । उनको प्रष्ट वक्ता र खरो लेखकको छवि छ । एम्नेस्टी इन्टरनेसनलले गओलाई दिइएको सजायलाई न्यायको अपमान भनेको छ । उनको एक वकिल सांग बाओजुनले उक्त फैसलाबाट निकै निराश भएको हुनाले यसविरुद्ध अपिल गर्ने बताए । उनलाई सन् २०१४ को अपि्रलमा पक्राउ गरिएको थियो । उनीविरुद्ध नोभेम्बरदेखि सुनुवाइ सुरु भएको थियो ।

निकै प्रतिष्ठित पत्रकार गाओलाई सन् १९९० मा पनि त्यति बेलाका राष्ट्रपति जियाङ जेमिनको भाषण लगायत पार्टीको कागजात चुहाएको कारागारमा राखिएको थियो । कमेटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार अहिले उनी लगायत ४४ पत्रकार जेलमा छन् । यो विश्वकै अन्य मुलुकको तुलनामा सबभन्दा बढी हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com