सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ् आज अन्त्येष्टि गरिँदै

काठमान्डू बैशाख ०४,

काठमाडौं, वैशाख ४ - पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिने भएको छ । उनको भारतको नयाँदिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषद्को बिहीबारको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक बिदा दिने, सरकारी कार्यालय तथा कूटनीतिक नियोगमा एक दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पञ्चायत र प्रजातान्त्रिक कालमा गरी ५ पटक प्रधानमन्त्री भएका ८९ वर्षीय थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामै निधन भएको हो । ६ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।

उनको पार्थिव शरीर बिहीबार साँझ पौने ७ बजे इन्डियन एयरफोर्सको विशेष विमानबाट राजधानी ल्याइएको थियो । विमानस्थलमै श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, स्वास्थ्यमन्त्री खगराज अधिकारी गएका थिए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत पार्टी कार्यकार्ता र शुभेच्छुकहरू पनि विमानस्थल पुगेका थिए । विमानस्थलबाट थापाको शव श्रद्धाञ्जलिका लागि उनकै निवास मालीगाउँमा लगिएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जनाए ।

राप्रपाको बिहीबार बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरीरलाई शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी कार्यालय चाबहिल र दिउँसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलिका लागि राख्ने निर्णय गरेको छ । दशरथ रंगशालामा राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शवयात्रा सुरु हुनेछ । यसअघि निधन भएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई दिइएसरहकै राजकीय सम्मान थापालाई पनि दिइनेछ ।

१९८४ मा धनकुटाको मुगामा जन्मिएका थापा निरंकुश पञ्चायती र बहुदलीय प्रजातान्त्रिक दुवै व्यवस्थामा उत्तिकै चर्चित नेता हुन् । सत्ता परिवर्तनका बेलामा सधैं चर्चामा रहने थापालाई परिवर्तन स्वीकार्न सक्ने नेताका रूपमा धेरैले बुझ्ने गरेका छन् । पञ्चायती शासन ढल्नेबित्तिकै उनले राप्रपा पार्टी गठन गरी बहुदलीय अभ्यासमा लागेका थिए । उनी बहुदलकालमा ०५४ र ०६० मा प्रधानमन्त्री भए । थापाको पार्टी भने पटकपटक विभाजित भएको थियो । ०६२/६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा जाने तयारीमा लाग्दै गर्दा थापाले पनि त्यसलाई सहजै स्वीकार गरे । राजतन्त्र कि गणतन्त्र कुन बाटो लिने भन्ने निर्णय गर्ने बेलामा थापाले राजतन्त्रको मोह त्यागिदिए । त्यसैले पनि उनलाई धेरैले परिवर्तन स्वीकार्ने नेताका रूपमा सम्झिने गर्छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले थापाको निधनमा बिहीबार शोक वक्तव्य जारी गर्दै एक महत्त्वाकांक्षी, साहसी, दृढ निश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले थापाको निधनले 'आगामी दिनमा संविधान निर्माण गर्ने क्रममा थापाजस्ता अनुभवी राजनीतिज्ञको सुझावको अभाव खड्किइरहने' जनाएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायत नेताले पनि थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसका तर्फबाट मुख्यसचिव ऋषिकेश तिवारीले छुट्टै शोक वक्तव्य पनि जारी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पनि थापालाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रूपमा थापालाई चित्रण गरेका छन् । 'पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री भएर उहाँले आफ्नो विशिष्ट राजनीतिक हैसियत र नेतृत्व क्षमता मात्रै प्रदर्शन गर्नुभएन, आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रूपमा समेत स्थापित गर्नुभयो,' ओलीको शोक वक्तव्यमा छ, 'गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर उहाँले आफूलाई अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक नै उभ्याउनुभयो ।' संविधानसभाबाट नयाँ संविधान जारी गरी ०६२/६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा थापाको निधनले मुलुकलाई नै गम्भीर क्षति पुगेको ओलीले उल्लेख गरेका छन् ।

राप्रपाको आकस्मिक बैठकले थापाको निधनले पार्टी मात्र नभई मुलुकलाई नै क्षति पुगेको निष्कर्ष निकालेको छ । विशेषगरी संक्रमणकालीन अवस्थामा उहाँको अभाव खडकिइरहने शोक व्यक्तव्यमा उल्लेख छ । राप्रपाले थापाको निधनमा १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने र ७५ वटै जिल्लामा शोक र श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको छ । एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सन्जालबाट थापाको निधनले एक युगको अन्त्य भएको उल्लेख गरेका छन् । संविधानसभाभित्र उनको अभाव सधैं रहिरहने भट्टराईले उल्लेख गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि शोक वक्तव्य जारी गर्दै थापाको निधनबाट मुलुकले उच्च व्यक्तित्व भएको अभिभावक गुमाएको उल्लेख गरेका छन् । 'परिस्थितिको सटिक विश्लेषण गर्ने, समयलाई सही ढंगबाट पहिचान गर्नसक्ने र आवश्यकताअनुसार निर्णय लिनसक्ने विचित्र क्षमता थियो,' अध्यक्ष थापाले भनेका छन् ।

पञ्चायतकालबाटै थापाका समकालीन राजनीतिज्ञहरू विश्वबन्धु थापा र पूर्वप्रधानमन्त्री चन्दले पनि उनको व्यक्तित्व र क्षमता अद्भुत रहेको टिप्पणी गरेका छन् । 'मेेरो मित्रवत् सम्बन्ध रहिरह्यो । जानेर बुझेर मात्र अघि बढ्ने उहाँको खुबी थियो,' ०१७ पुस १२ मा तत्कालीन राजा महेन्द्रको मन्त्रिपरिषद्मा सँगै मन्त्रीसमेत भएका विश्वबन्धु थापाले कान्तिपुरसँग भने । पूर्वप्रधानमन्त्री चन्दले पनि थापालाई कर्मठ राजनीतिज्ञका रूपमा चिनेका/बुझेका छन् । 'प्रशासकीय अनुभव र व्यवहारिक ज्ञान दुवैले खारिएको व्यक्ति हुनुहुन्थ्यो,' चन्दले भने, 'त्यसैले उहाँ सधैं चर्चामा रहनुभयो ।'

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
source-ekantipur :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com