जाजरकोटमा २४ घन्टाभित्र चिकित्सक पठाउन र मृत परिवारलाई क्षतिपूर्ति दिन सर्वोच्चको आदेश

काठमान्डू बैशाख ०८,

सर्वोच्च अदालतले स्वाइन फ्लुको महामारी फैलिएको जाजरकोट जिल्लामा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली र उचित स्रोत साधनको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले आज तत्काल स्रोत साधनसहित टोली सो स्थानमा पठाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । आदेशमा मृतकका परिवारलाई दाहसंस्कार तथा उचित क्षतिपूर्ति व्यवस्था गर्न भनिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता भुवनप्रसाद निरौलाले आइतबार रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदनमा जिल्लाका पैंक, पजारु, टालेगाउँ, सक्ला, नायकवाडा र अर्छानीलगायत गाविसमा फैलिएको अज्ञात रोगले सताएर २४ जनाको मृत्यु भइसकेको र हजारौँ व्यक्ति बिरामी परेको तर सरोकार भएका पक्षले चासो र सरोकार नदेखाएको जिकिर गरिएको थियो ।

बिरामीलाई स्वास्थ्य सुरक्षा र सुविधा दिई मानिसको बाँच्न पाउने अधिकारको प्रत्याभूति गराउन निवेदनमा माग गरिएको थियो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com