मानव तस्करीका अनेक संजाल

सर्लाहीका अर्जुन कोइरालासहित तीन युवा दुई सातादेखि अध्यागमन विभागको हिरासत कक्षमा छन् । नयाँदिल्ली बस्ने नेपाली दलाल राकेशमार्फत टर्कीको जहाजमा कामका लागि पुगेका थिए । तर त्यहाँ पुगेपछि उनीहरूलाई दिइएको कागजपत्र नक्कली भएको खुलासा भयो । अनि टर्की विमानस्थलमा एक रात राखी उनीहरूलाई अर्को दिन त्यही जहाजमा नेपाल फर्काइयो ।

सर्लाहीका कोइराला, सतिशचन्द्र भण्डारी र भक्तपुरका उमेश काफ्लेलाई विना भिसा अर्को मुलुकमा गएको अभियोगमा अध्यागमन विभागले मुद्दा चलाइरहेको छ । ६ महिना अघिमात्र दुबईबाट काठमाडौं आएका कोइरालालाई दलालले टर्कीमा काम गर्ने राम्रो अफर ल्याएकाले उनी त्यसतर्फ जान तयार भएका थिए ।

तीन महिना अघिदेखि प्रक्रिया पुरा गरेका उनीहरूलाई दिल्लीबाट चेन्नई हुँदै साउदी अरेबियाको सारजहाँ र त्यहाँबाट टर्की विमानस्थलमा अवतरण गराइएको थियो । दिल्ली विमानस्थलमा अध्यागमनका कर्मचारीले केरकार गरेका थिए । त्यस्तै स्थिति तिनले चेन्नई र दुबईमा समेत बेहोर्नुपरेको थियो । 'जान पाइने हो कि होइन, मन दह्रो बनाएर बस्नुपथ्र्यो', अध्यागमनको हिरासतमा भेटिएका कोइरालाले भने, 'साउदीबाट समेत जान दिएपछि अब टर्की पुगिने भइयो भन्ने लागेको थियो ।' उनीहरूको राहदानीमा चेन्नईबाट जाँदा नै कुनै मुलुकको भिसा थिएन । त्यही नहुनाले उनीहरूको मनमा कतैबाट फिर्ता पठाइदिने हो कि भन्ने भय थियो । पानीजहाजभित्र काम गर्नेलाई आवश्यक पर्ने 'सि म्यान बुक' उनीहरूलाई उपलब्ध गराइएको थियो । उनीहरूसित टर्कीस्थित कम्पनीबाट पठाइएको रोजगारी पत्र र 'सि म्यान बुक'मात्र थियो । दुई दिन उडेर टर्की पुगेपछि मात्र थाहा भयो, उनीहरूलाई दलालले उपलब्ध गराएको कागजपत्र नक्कली रहेछ । रातभर उनीहरूलाई अध्यागमनमा राखेर अर्को दिन जुन विमानबाट गएका थिए, त्यसैबाट फिर्ता पठाइयो ।

नेपालीलाई आकर्षक रोजागारीको लालचमा अमेरिकी र युरोपियन मुलुक लैजाने भन्दै नक्कली कागजपत्र बनाएर पठाउने वा आधा बाटोमा अलपत्र छाड्ने क्रम चलिरहेको छ । अझ नेपालीहरूकै मिलेमतोमा कतारबाट युरोप लैजाने भन्दै त्यहाँ खाइराखेको जागिर छाड्न लगाएर दलालको हातमा जिम्मा लगाई बेच्ने प्रवृत्ति पनि बढेको छ ।
युरोप, अमेरिकाको सपना
मानव तस्करीमा संलग्न एउटा ठूलो समूहले काठमाडौंबाट सेटिङ गर्दै युरोप, अमेरिका पुर्‍याउने भनी तस्करी गर्ने गरेको छ । अवैध बाटोबाट उनीहरूलाई युरोप, अमेरिकाका विभिन्न मुलुक पठाउने गरिन्छ । आधा बाटो पुगेपछि काठमाडौंमा मागेभन्दा दोब्बर, तेब्बर रकम माग्नाले ती मुलुकमा पुग्नु अघि नै ऋण तिर्नै नसक्नेगरी दलाललाई रकम बुझाउन बाध्य पारिन्छ । तस्करहरूले नेपालीलाई अमेरिका पुर्‍याउन बेला-बेलामा बाटो पनि बदल्ने गरेका छन् । सुरुवाती दिनमा काठमाडौंबाट कतार र त्यहाँबाट समुद्री बाटो ल्याटिन अमेरिका लैजाने गरिन्थ्यो । त्यसोगर्दा बीच बाटोमै पक्राउ परी 'डिपोट' हुनथालेपछि तस्करले नयाँ 'रुट' प्रयोग गर्न थालेका हुन् । त्यस अनुसार काठमाडौंबाट भारतको नयाँदिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुर्‍याउन थालेका छन् । अध्यागमन विभागका अनुसार तस्करी भएर अमेरिका छिर्ने क्रममा पछिल्ला पाँच वर्षमा बाटोका विभिन्न स्थानमा ६ सय ७० नेपाली पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) की प्रहरी उपरीक्षक किरण बज्रचार्य मानवजाति विश्वव्यापी रूपमै वस्तुको रूपमा किनबेच हुनथालेको बताउँछिन् । उपरीक्षक बज्राचार्य भन्छिन्, 'बेचिने मान्छेलाई थाहा हुँदैन । किन र कसरी भनी थाहै नपाई बेचिएर अर्काको फन्दामा परिसकेका हुन्छन् ।' गरिबी, अशिक्षा र चाँडै धनी हुने लालच भएकाहरू यसरी बेचिने गरेको उपरीक्षक बज्राचार्य बताउँछिन् । मानव तस्करी गर्ने गिरोहले बेचिन खोज्ने व्यक्तिले इच्छाए अनुसारकै तरिका पुरा गरेर बेचिदिने गरेको बज्राचार्यको बुझाइ छ । उपरीक्षक बज्राचार्य थप्छिन्, 'विदेशमा पुगेपछि राम्रो कमाइ हुने, जिन्दगी मोजमस्तीको हुने भन्दै लालच देखाइन्छ । तर उनीहरूलाई बाहिर पठाएपछि खरिद गर्ने व्यक्तिले इच्छाअनुसार प्रयोग गर्छ । खासगरी महिलाहरूलाई विवाह, डान्स बारको डान्सर र घरेलु कामदारको रूपमा बिक्री गर्ने गरेका छन् ।'

तस्करीका नयाँ रूप
करिब एक दशकअघि नेपालमा महिला बेचबिखनका कुरा बाहिर आए पनि मानव बेचबिखनका कुरा खासै बाहिर आउँदैन थिए । सञ्चारमाध्यमको ती विषयमा ध्यान नपुग्दा घटनाहरू कहाँ र कसरी भइरहेका छन् भन्ने जानकारीमा नआएको अनुमान गर्न सकिन्छ । त्यसबेला नेपाली महिलाहरू गाउँघरतिरका महिलालाई दलालले वेश्यावृत्तिका लागि भारतका विभिन्न सहरमा पुर्‍याउने गर्थे । बिहे गर्ने वा रोजगारी दिलाउने बहानामा उनीहरूलाई दलालले लिएर जाने गर्थे । अनि त्यहाँ पुगेपछि कोठी साहुनीलाई युवती जिम्मा लगाएर आफू पैसा बोकेर भाग्ने गर्थे । यसरी महिला बेचबिखनको वषार्ंैपछि पनि त्यो अपराधमा संलग्नहरू पक्राउ परेका छन् । त्यसबेला खासगरी काठमाडौं र ललितपुरका ग्रामीण इलाकाहरू, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट युवतीहरूलाई ललाइ-फकाइ लिएर जाने गरिन्थ्यो ।

तर पछिल्लो समय मानिसमा आएको चेतनासँगै भारतका कोठीमा बिक्री हुने क्रम केही मत्थर भए पनि मानव तस्करीको नयाँ रूप र सञ्जाल विस्तार भइरहेको विभिन्न अनुसन्धानले देखाएको छ । त्यतिबेला महिलामात्र बिक्री हुने गरेकामा अहिले पुरुषसमेत विभिन्न बहानामा बेचिने गरेका छन् । सुरुमै मोटो रकम कुम्ल्याएर विदेश पुर्‍याएर बाटैमा अलपत्र पार्ने क्रम बढेको छ । महिलालाई घरेलु कामदार, डान्स बारको डान्सर लगायतको भेषमा लगेर  बिक्री गरिने गरेको पाइएको छ ।

अपि|mकी मुलुकमा अप्ठेरो बेहोर्दै
खासगरी राजधानीका डान्स बारमा काम गर्ने युवतीहरूलाई राम्रो आर्थिक लाभको आश देखाउँदै अपि|mकाका विभिन्न मुलुकमा पठाएर तस्करी गर्ने क्रम जारी छ । तस्करी गर्ने गिरोहले काठमाडौंमा रहेका डान्स बारभित्र डान्स गर्ने युवतीहरूलाई त्यहाँ पुगेर डान्समात्र गर्नुपर्ने र महिनाको एक लाख रुपैयाँ कमाइ हुने आस देखाएर पठाउने गरेका छन् । तर त्यहाँ पुगेपछि उनीहरूलाई जबर्जस्ती यौन व्यावसायमा लगाउने गरेको पाइएको छ । केही समयअघि केन्या र तान्जानियाका डान्स बारमा काम गर्ने क्रमशः २३ र २० नेपाली युवती त्यहाँ पक्राउ परेका थिए । ती मुलुकमा गैरकानुनी मानिने यौन व्यावसाय गरेको आरोपमा समातिएका नेपाली युवतीहरूको भिसाको समयावधि सकिएको थियो ।

उनीहरूका बारेमा नेपाल प्रहरीको इन्टरपोल -प्रहरीहरूको अन्तर्राष्ट्रिय छाता संगठन) लाई ती मुलुकका प्रहरीले पक्राउ परेको जानकारी दिएका थिए । 'एकैपटक त्यति धेरै नेपाली चेली समातिएको खबर हाम्रालागि आश्चर्यजनक थियो', प्रहरी मुख्यालयका एक अधिकारीले भने, 'हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपछि उसले अन्तर्राष्ट्रिय आप्रवासी संगठनको मद्दतमा नेपाल झिकायो ।' मासिक १ लाख नेपाली रुपैयाँ कमाइ गर्न गएका ती युवतीहरूको राहदानी डान्स बार सञ्चालकले आफूसँग राखेपछि युवतीहरू त्यहाँ गैरकानुनी रूपमा काम गर्न बाध्य भएको बताएका छन् । उनीहरूका अनुसार त्यहाँ पुगेको भोलिपल्टैदेखि नै उनीहरूलाई जबर्जस्ती यौनधन्दामा लगाइएको थियो । 'राम्रो पैसा कमाइ हुन्छ भनेर गएको' त्यहाँबाट फर्किएकी एक युवतीले भनिन्, 'जिन्दगी नै लुटियो ।' ती युवतीका अनुसार ती मुलुकमा दलालको फेला परेपछि उम्किन कठिन हुने गर्छ । इज्जतको काम -नाच्ने मात्रै) गर्न पाइँदैन । उनीहरूलाई बन्धकझैं बनाएर राखिन्छ । दलालले डाकेका ग्राहकरुसँग नगए तातो पानीमा हात डुबाइदिने, चुरोटको ठुटोले पोलेर यातना दिने गरिन्छ ।

नेपाली दलालहरूले केन्या, तान्जानिया लगायतका मुलुकमा 'डिमान्ड' अनुसार नेपाली युवतीहरूको तस्करी गर्ने गरेका छन् । तान्जानियाको दारेसलाम, केन्याको नैरोबी र मोम्बसामा नेपाली युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ । दारेसलाममा ६ वटा बारमा नेपाली युवती मुजुरा डान्स गर्छन् । ती डान्स बारका सञ्चालक भारतीय हुन् ।

प्रहरी अनुसन्धानअनुसार ३ सय डलर दिएर एक रात वा दिनका लागि नेपाली युवतीलाई ग्राहकले लैजाने र ४/५ जनासम्मले एकै युवतीसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्ने गरेको पाइएको छ । तर त्यो पैसा पनि युवतीलाई नदिइने र फर्किन खोज्दासमेत रोक्ने गरेको प्रहरीको भनाइ छ । त्यहाँ १ सय ७५ भन्दा बढी नेपाली युवती छन् । इन्टरपोलले त्यहाँका सुरक्षा निकायलाई इन्टरपोलमार्फत नै सम्पर्क गरेर उद्धारका लागि मद्दत गरिदिन अनुरोध गरेको छ ।

दशकअघि नेपाली युवतीलाई खाडी मुलुक दुबईमा डान्स गर्न लैजाने गरिन्थ्यो । अपि|mकन मुलुकमा भने भारतीय र पाकिस्तानी युवती बढी जाने गर्थे । त्यहाँ युवतीको यौन शोषण हुने गरेको थाहा पाएपछि ती दुई मुलुकले युवती पठाउन कडाइ गरे । त्यसपछि दलालहरूले नेपाल छिरेर युवतीलाई फकाएर वा आर्थिक लोभ देखाएर लैजाने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दुई वर्ष अघिसम्म विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर युवती यहीँबाट उडाउने गरिन्थ्यो । तर पछिल्लो समय सुरक्षा कडा बनाएपछि उनीहरूले भारतको बाटो रोजेका हुन् । प्रहरी तथ्याङ्कअनुसार काठमाडौं, झापा र मोरङबाट महिलाहरू बढी बेचिने गरेका छन् । काठमाडौंमा देशैभरिका व्यक्तिहरूको पहुँच र त्यही अनुसारको महत्त्वाकांक्षाका कारण आर्थिक लालचमा परेर उनीहरू बिक्री हुने गरेको प्रहरी अनुसन्धानमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने महिलाहरूका पक्षमा काम गर्दै आएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ धेरैजसो महिला प्रलोभनमा परेर विदेश जाने गरेको बताउँछिन् । राम्रो रोजगारीको अवसर नपाएका कारण महिलाहरू विदेशमा रोजगारीको आस लिएर जाने गरेका छन् । सरकारले काठमाडौं विमानस्थलबाट जान नदिए पनि उनीहरू भारत हुादै जाने गरेको उनको भनाइ छ । 'वैदेशिक रोजगारीमा जानेहरू रहरले होइन, बाध्यताले जाने गर्छन्', उनले भनिन्, 'महिलालाई राम्रो सीप र रोजगारी दिएको खण्डमा मात्र उनीहरू बेचिन कम हुन्छन् ।'

बिहेको बहानामा चीन र कोरिया
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएको फागुन १८ गते राजधानीको चुनदेवीस्थित एक घरमा छापा मार्‍यो । युवतीहरूलाई विदेशी नागरिकसँग बिहे गराई तस्करी गराउने गरेको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोली त्यहाँ पुग्दा छक्क पर्‍यो । 'कम उमेरका बालिकाहरूको समेत चिनियाँ र कोरियन नागरिकसँग बिहे गरेर पठाउने गरेको रहेछ', प्रहरी उपरीक्षक किरण बज्राचार्यले भनिन्, 'एउटा कोठाबाट १६ वर्षकी युवती गाला रातो बनाउँदै आइन् ।' उनका अनुसार ती युवतीलाई कोरिया लैजान एक महिना अघिमात्र विवाह गरिएको थियो । 

तिनले बिहेको दिनमात्र श्रीमानलाई भेटिन् । तिनलाई श्रीमानको नामसमेत थाहा थिएन । बिहेपछि श्रीमानले तिनलाई ग्यालेक्सी फोन दिएर गएका रहेछन् । तिनलाई कोरियामा पैसा कमाउन जानमात्र भनिएको रहेछ । तर बिहे गरेर पैसा तिरेर लगेपछि कोरिया र चीनमा धेरै नेपाली युवतीलाई शारीरिक र मानसिक धन्दामा लगाइने सत्य थाहा नभएको भन्दै रोइन् । तिनले बिहे गरेर चीन र कोरिया जानलागेको खबर कसैलाई थाहा थिएन । इलामको गाउँमा रहेका तिनका बाबुआमालाई त थाहा थिएन नै, काठमाडौंमै रहेका प्रेमीलाई समेत तिनी विवाह गरेर जानलागेको थाहा थिएन ।

म्यारिज ब्युरोले एउटी महिलाको बिहे गरेर कोरिया र चीन पठाइदिए बापत १५, २० लाख रुपैयाँसम्म विवाह गर्न आउने पुरुषबाट असुल्छन् । भिसा प्रक्रिया, भाषामात्र नभएर युवतीहरूको राहदानी बनाउने खर्चसमेत उनीहरूले नै ब्यहोर्ने गर्छन् ।

प्रहरीका अनुसार नेपालबाट मंगोलियन अनुहारका युवतीहरूलाई चीन र कोरियामा तस्करी गर्ने प्रवृत्ति बढेको छ । कोरियामा बिहे गर्ने उमेर नाघेका युवकले युवती नपाउने भएका कारण लाखौं रुपैयाँ खर्चेर लिएर जाने गरेका छन् । तर त्यहाँ पुगेपछि दुव्र्यवहार गर्ने, शारीरिक यातना दिने, खान-लाउन रामोसँग नदिने गरेको पाइएको छ । 'बजारभन्दा सयौं कोष टाढा गाउँमा लगेर बन्धक बनाएर राख्ने गरेका छन्', प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, 'घरको काम गर्न लगाउने, छोराछोरी बनाउने मेसिनजसरी प्रयोग गर्ने गरेको पाइन्छ ।' छेरु इन्टरनेसनलले यसरी विवाह गरेर पठाएका १८ युवती चीनमा अलपत्र परेर बसेको सूचना नेपाल प्रहरीसँग छ । उद्धार गर्ने प्रक्रिया सुरु गरिएको

ब्युरोले जनाएको छ । यस्तै कोरियामा ५५ नेपाली युवती अलपत्र छन् ।

नेपालीलाई काममा लगाइदिने भन्दै मोटो रकम असुलेर बीच बाटोमा अलपत्र पार्ने प्रवृत्ति बढेको छ । गत जेठमा मकाउमा सेक्युरिटी गार्डको जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेको छ । थाइल्यान्डको बैङ्ककमा रहेको गिरोहले नेपाली तस्करलाई प्रयोग गरेर नेपालबाट नेपाल प्रहरीका बहालवाला कर्मचारीलाई समेत राजीनामा दिनलगाई २३ जनालाई थाइल्यान्ड डाकेका थिए । मासिक दुई लाख रुपैयाँ तलब आउने आस देखाएर उनीहरूलाई लिएर गएका थिए । तर बैङ्कक पुर्‍याएर दुई महिना बन्धक बनाएपछि ती युवाहरू भागेर नेपाल आएका थिए । प्रहरीले ती तस्करमध्ये केहीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको थियो ।

यस्तै घटना नेपाली सेनाका कर्मचारीले पनि ब्यहोरेका थिए । नाइजेरियामा मासिक दुई लाख रुपैयाँ कमाइ हुने बताएपछि सेनाको जागिर खाइरहेका दुई सैनिक जागिर छाडेर त्यता गएका थिए । ८ लाख रुपैयाँ तिरेर गएका उनीहरूलाई नाइजेरियामा बन्धक बनाएपछि उनीहरू भागेर आएका छन् । उनीहरूलाई पठाउने गिरोहमा संलग्नहरू पक्राउ परेका छन् । यस बाहेक विभिन्न सेमिनार तथा कार्यक्रममा सहभागी हुन लैजाने भन्दै पनि मानव तस्करी भइरहेको छ ।

बेचिनेहरू बढेको बढ्यै
अहिलेसम्म कति नेपाली तस्करी भएर कहाँकहाँ पुगे भन्ने तथ्याङ्क कुनै निकायसँग छैन । तर विभिन्न निकायमा परेको उजुरी संख्यामात्र हेर्दा पनि तस्करीको भयावह रूप देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका अनुसार वर्षेनि ७ देखि १५ हजार नेपाली युवतीको मात्र तस्करी हुने गरेको छ । आयोग प्रवक्ता मोहना अन्सारीका अनुसार धेरैजसो भारत, खाडी मुलुक र अपि|mकी मुलुकहरूमा तस्करी हुने गरेको छ । 'छिट्टै धेरै पैसा कमाउने लालचमा थाहा पाएरै विदेश जानेहरू पनि त्यहाँ पुगेपछि बेचिएका छन्', अन्सारीले भनिन्, 'पैसा कमाउने आसमा त्यसका बारेमा थाहा नपाई जोखिम उठाएर जाने प्रवृत्ति गलत हो ।' उनले यसरी जानेहरू आफैं सचेत भएर गलत बाटोबाट जान नहुने बताइन् ।

सन् २००७ अक्टोबरमा भारतको नयाँदिल्लीमा भएको दक्षिण एसियाली क्षेत्रीय सम्मेनलनको प्रतिवेदनअनुसार मानव बेचबिखनका लागि नेपाल स्रोत र भारत गन्तव्य राष्ट्र भएको देखिएको थियो । योसँगै युएनएफपीएले गरेको सर्वेक्षणअनुसार नेपालमा हरेक वर्ष १२ हजार नेपाली महिला तथा बालबालिका भारतीय वेश्यालयमा बेचिने गरेका छन् ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको सन् २०१२ मा प्रकाशित प्रतिवेदनले २०११ को जनवरीदेखि डिसेम्बरसम्म लगभग ११ हजार ५ सय मानिस नेपालबाट विभिन्न प्रयोजनका लागि बेचिएका थिए । आयोगकै २०१३ को प्रतिवेदनअनुसार १३ हजार व्यक्ति बेचिएका छन् । महान्यायाधिवक्ता कार्यालयको वाषिर्क प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्षमा जिल्ला अदालतमा मात्र मानव बेचबिखन सम्बन्धी ४ सय १२ मुद्दा दर्ता भएका छन् । तीमध्ये २ सय १८ वटा मुद्दा फैसला हुन बाँकी छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्षमा ७ सय ९२ वटा बेचबिखनका मुद्दा प्रहरीमा दर्ता भएका छन् । मुद्दा दर्ता भएभन्दा बाहेकका अन्य थुप्रै यस्ता घटनाहरू भएको प्रहरीको अनुमान छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अक्तिरिक्त महानिरीक्षक -एआईजी) सुरेन्द्रबहादुर शाह प्रहरीमा जाहेरी परेको तथ्याङ्कभन्दा धेरै मानव तस्करी भइरहेको बताउँछन् । 'सुरुमा विदेश जाने बेलामा पीडित र पीडकबीच एक किसिमको सम्झौता हुन्छ', एआईजी शाहले भने, 'त्यहाँ पुगेपछि सम्झौता विपरीत काम लगाइँदा कति त निस्किएर आउन नसकेको स्थिति छ, आएकाहरू पनि जे भयो भइगयो भनेर बस्नेहरू पनि धेरै छन् ।' पीडितले उजुरी दिएमात्र प्रहरीले थप अनुसन्धान र कारबाही गर्न सक्ने एआईजी शाहले स्पष्ट पारे ।

उनले कतिपय घटनाका पीडितहरू विदेशबाट फर्किएर संघ/संस्थाको आरक्षणमा जाने गरेको उल्लेख

गर्दै त्यसरी उद्दार गर्ने संघ/संस्थाले तस्कर विरुद्ध उजुरी दिन पीडितहरूलाई प्रोत्साहित गर्दामात्र उनीहरूले न्याय पाउने बताए ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेवा निर्देशनालयका अनुसार बेचिनेहरू १६ वर्ष मुनिका ९९ जना बालिकाहरू छन् । १८ वर्षभन्दा कम उमेरका ३७ जना छन् । अमेरिकन बार एसोसियसनले सन् २०११ मा मानव बेचबिखन सम्बन्धी गरेको एक अध्ययनअनुसार नेपालबाट खासगरी ७ प्रकारले मानव तस्करी हुने गरेको छ । त्यस अनुसार भारतमा महिला र बालबालिकालाई मनोरञ्जनात्मक कार्यका लागि तस्करी गरिन्छ । खाडी मुलुकमा कामदारका लागि हुने तस्करीलाई अर्को रूपमा व्याख्या गरिएको छ । यस बाहेक नेपाली बालबालिका भारतीय सर्कसमा र बाल श्रमिकका रूपमा समेत तस्करी हुने गर्छ । शरीरका अङ्गहरूका लागि तस्करी हुने गरेको छ ।

फितलो कारबाही
वैदेशिक रोजगारीको बहानामा सहजै मानव बिक्री गर्ने गिरोह गतिलो कारबाहीबाट बच्दै आएको छ । कोही कामदार वैदेशिक रोजगारीका लागि विदेश जान्छ । त्यहाँ भनेजस्तो काम, सेवासुविधा नपाइने, बन्धक बनाएर काम गर्न लगाउने जस्ता समस्याहरू हुने गर्छन् । राम्रो कमाइको लालचमा काठमाडौंम धेरै पैसा असुलेर पठाउने र त्यहाँ पुगेपछि बन्धक बनाएर अझै धेरै रकम फिरौतीस्वरुप माग्ने गरेका छन् । तर ती पीडितहरू नेपाल फर्केपछि विदेश जाने बेलामा आफूले गरेको लगानीमात्र मेनपावर कम्पनीको व्यक्तिले फिर्ता गरिदिए हुने उद्देश्य राखेका हुन्छन् ।

प्रहरी मुख्यालयको महिला बालबालिका सेवा निर्देशनालयका वरिष्ठ प्रहरी उपरीक्षक -एसपी) कृष्णप्रसाद गौतम भन्छन्, 'यी बाहेक आएका मुद्दाहरू प्रहरीले अनुसन्धान गर्छ ।' उनका अनुसार धेरैजसो वैदेशिक रोजागरीसँग जोडिएका मुद्दाका पीडितहरू सोझै वैदेशिक रोजगारीमा जाने गर्छन् । त्यहीँ आर्थिक लेनदेन गरेर मुद्दा टुङ्गो लगाइने गरिन्छ । उनको बुझाइमा यसरी वैदेशिकमा मुद्दा फछ्र्योट भएपछि थप अनुसन्धानका लागि समयन्वय गरेर प्रहरीलाई बुझाइदिनु उचित हुन्छ । 'मान्छे बेचेको सजाय २/४ लाख रुपैयाँमात्र हुने भएपछि तस्करहरू झन् प्रोत्साहित हुन्छन्', उनले भने, 'उनीहरूलाई संगठित अपराध बापतको कानुनी सजाय दिन जरुरी छ ।' वैदेशिक रोजगार, अध्यागमन लगायतका निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

यो सँगै वैदेशिक रोजगारीको मुद्दा प्रहरीले नहेरिदिनु पनि समस्या हो । प्रहरीले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा नहेर्ने भन्दै फिर्ता पठाइरहेको हुन्छ । 'वैदेशिक रोजगारीमा गएकालाई शारीरिक र यौनशोषण भएको छैन भने त्यस्तो मुद्दा प्रहरीले हेर्दैन', एक प्रहरी अधिकारीले भने, 'तर कुन प्रकृतिको मुद्दा हो, अनुसन्धानपश्चात मात्र फिर्ता पठाउने हो/होइन निर्णय गरिनुपर्छ ।'

हिंसा र शोषणमा परेका महिला कामदार

उद्धार गरिएका महिला        २८२०

मानसिक सन्तुलन गुमाएर फर्किएका महिला    ४१५

जेल परेका महिला             १११

गर्भवती भई फर्किएका महिला         ८६

आत्महत्या गरेका महिला         ८०

बालबच्चा लिएर फर्किएका महिला        ३१

विदेशमै बेपत्ता भएका महिला         ३०

स्रोत ः यूएन, वुमन माइग्रेसन डिपार्टमेन्टको अध्ययन -२०११)
(प्रतिमा बाँस्कोटा-इकान्तिपुर बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com