डा केसीको मागलाई सम्बोधन नगरेको भन्दै देशभरका स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प

काठमाडौँ, १८ चैत ,

नेपाल चिकित्सक सङ्घले सरकारले अनशनरत प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन नगरेको भन्दै देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेको छ । 

डा केसीले उठाएको मागलाई पूर्ण ऐक्यबद्धता जनाउँदै सङ्घले ४८ घन्टाभित्र पनि माग पूरा नभए आकस्मिक सेवा पनि बन्द गर्ने चेतावनी दिँदै सङ्घ आबद्ध चिकित्सकहरुले विरोधस्वरुप हातमा कालोपट्टि बाँधी बिरामीको जाँच गरिरहेका छन् । यसबाट बिरामी समस्यामा परेका छन् । 

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सुधारको माग राखी डा केसी अनशनमा बस्नुभएको आज ११ दिन भएको छ । यस अवधिमा सङ्घले डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सङ्घको आह्वानमा चिकित्सकले विरोधस्वरुप साङ्केतिक विरोध गर्दै आएका थिए । 

आवासीय चिकित्सक सङ्घले चार दिनदेखि नै त्रिविवि शिक्षण अस्पलतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिसकेका छन् । सङ्घका अध्यक्ष डा रामचन्द्र सापकोटाले सरकारले डा केसीको मागलाई पूरा गर्नेतर्फ कदम नचाले आकस्मिक सेवा र भर्ना भएका बिरामीको पनि उपचार नगरिने चेतावनी दिनुभयो । 

डा केसीको चौथो पटकको अनशनका समयमा पनि सङ्घले देशव्यापी रुपमा स्वास्थ्य सेवा ठप्प पारेको थियो । डा केसीका मागप्रति सरकारी चिकित्सक सङ्घले पनि ऐक्यबद्धता जनाइसकेको छ । यसैबीच अहिले अनशनरत डा केसीका माग पूरा गर्ने विषयमा सरकारी वार्ता टोली र डा केसीका सहयोगीका बीचमा त्रिविवि शिक्षण अस्पतालमा वार्ता जारी रहेको । 

वार्ता टोलीमा मुख्यसचिव लीलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल रहनुभएको छ । डा केसीका तर्फबाट वार्तामा सहभागी हुनुभएका डा जीवन क्षेत्रीले डा केसीले उठाउनुभएको मागप्रति सरकार सकारात्मक भए पनि केही बुँदा सहमति हुन बाँकी रहेको जानकारी दिनुभयो । सम्भवतः आज नै सरकारले डा केसीका माग पूरा गरी उहाँसित सहमति गर्ने सम्भावना रहेको बताइन्छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com