HIV/AIDS सङ्क्रमितअहिले आयआर्जनका काममा व्यस्त छन्

अर्घाखाँची, १८ फागुन,

समाजमा आर्थिक अभाव र भेदभाव खेप्दै आएका अर्घाखाँचीका एचआइभी एड्स सङ्क्रमितहरु अहिले आयआर्जनका काममा व्यस्त बनेका छन् । दुई छाक खान र औषधिका लागि अरुको मुख ताक्नु पर्ने भएपछि आफै सक्षम बन्न सङ्क्रमितहरुले आयआर्जनको व्यवसाय सञ्चालन गरेका हुन् ।

जिल्लाका सङ्क्रमितहरु बाख्रापालन, कुखुरापालन, तरकारी तथा फलफूल पसल, सिलाइकटाई र किराना पसल गरेर आयआर्जन गरिरहेका छन् ।
उन्नाइस जना सङ्क्रमितले विभिन्न व्यवसाय सुरु गरेर आम्दानी गर्न सफल भएका छन् । केही सङ्क्रमितले सर्वोत्तम पीठो उद्योग सञ्चालन गरेका छन् ।
एचआइभी सङ्क्रमितले नियमित रुपमा एचआइभी एड्स विरुद्धको औषधि एआरटी खाइरहनुपर्ने हुन्छ । औषधि खानुभन्दा अघि उनिहरुले केही खाने कुरा खाएर मात्र औषधि खानु पर्दछ ।

विगतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुबाट एआरटी खानेलाई सर्वोत्तम पीठो निः शुल्क रुपमा वितरण गरिदै आएको थियो । तर अहिले नेपाल सरकारले सर्वोत्तम पीठो दिन छाडेको छ । सरकारले दिन छाडेपछि एचआइभी सङ्क्रमितलाई लक्षित गरी अर्घाखाँची जिल्लामा सर्वोत्तम पीठो उद्योग स्थापना गरिएको छ । नियमित रुपमा एचआइभी विरुद्धको औषधि खाइरहनुपर्ने तर खाली पेट खान नहँुने भएकाले आफुहरुले् उद्योग खोलेको सन्देश सहयोग समुहकी कोषाध्यक्ष पार्वता बन्जाडेले बताइन् ।

“एचआइभी सङ्क्रमित नै मिलेर सर्वोत्तम पीठो उद्योग सञ्चालन गरेका छौँ, सरकारको मुख ताक्न परेको छैन” उहाँले भन्नुभयो । अर्घाखाँची जिल्लामा नै उत्पादित विशुद्ध जैविक अन्न तथा गेडागुडी (भटमास, गहुँ, चना र मकै) वाट तयार गरिएको सर्वोत्तम पीठो सबैका लागि अति उपयोगी भएको उहाँले बताउनुभयो ।

“यसलाई निरन्तरता दिन हामी लागि परेका छौँ’’ बन्जाडेले भन्नुभयो । सन्देश सहयोग समूह अर्घाखाँचीले जिल्ला विकास समिति, जिल्ला एड्स समन्वय समिति र सक्रिय सेवा समाजको संयुक्त सहयोग तथा पहलमा जिल्लामा सर्वोत्तम पीठो उद्योग स्थापना भएको हो ।

सन्धिखर्क ( ६ स्थित चालु अवस्थामा रहेको उक्त उद्योगले दैनिक १५० किलो सर्वोत्तम पीठो उत्पादन गर्दै आएको छ । उक्त उद्योगबाट उत्पादित सर्वोत्तम पीठो अर्घाखाँची सहितका पाल्पा, रुपन्देही, कपिलवस्तु र स्याङजा जिल्लामा वितरण भइरहेको छ ।

पचपन्न जनाले अहिले नियमित रुपमा एआरटी नामक औषधि लिने गरेका छन् । जिल्लामा एचआइभी सङ्क्रमित दिनानु दिन बढ्दै छ । अहिलेसम्म जिल्लामा ११६ जना एचआइभी सङ्क्रमित रहेका छन् । पुरुष ५९ जना तथा महिला ५७ जना रहेका छन् । बच्चाको सङ्ख्या नौ जना रहेको छ । हालसम्म जिल्लामा पुरुष १६ र महिला १० जना गरी २६ जनाको मृत्यु भइसकेको छ ।

‘पैसा कमाई परिवारलाई सुख दिने उद्देश्यले भारत गएका श्रीमान्ले पैसाको सट्टा एचआइभी लिएर आउनुभयो’, सङ्क्रमित सरिताले भनिन्, ‘‘औषधि उपचार तथा छाक कसरी टार्ने भन्ने पिरलोमा छाँै’ ।’’

सङ्क्रमितहरुले लामो समय बाँच्नको लागि एआरभी र पोषिलो खाना खानुपर्ने हुन्छ । भाइरसलाई निष्क्रिय गरी प्रतिरक्षा सक्ति बढाउन एआरभी औषधि खानुपर्छ । हाल जिल्लामा ६१ जनाले एआरभी खाँदै आएको एचआइभीको क्षेत्रमा काम गर्ने सस्था प्रेरणाका कार्यक्रम संयोजक सुनील अधिकारीले बताउनुभयो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com