मुक्तकहरु : By, कोमल भट्ट
१)मुक्तक:-
किन जन्म्यो धुन्धुकारि नजन्मेकै भए हुन्थ्यो
नरपिशाच व्यभिचारी नजन्मेकै भए हुन्थ्यो
जताततै ध्वस्त पार्यो अत्याचारी कुलङ्घारले
कलङ्कको गह्रौँ भारी नजन्मेकै भए हुन्थ्यो ll
२)मुक्तक:-
बगी जाने कर्कलाको पानी झैं छ जिन्दगानी
नगर्नु है लोभ लालच पाप कर्म जानाजानी
तेरो मेरो भन्दा भन्दै छोड्नु पर्छ संसार यो
के अर्थ खै आपसको मारामार र खिचातानी ?
३)मुक्तक:-
सद्भाव र ममताका खानी हुन्छन् नारी
पूजौँ दिदी,बहिनी,प्रिया तथा महातारी
देवता नि खुसी हुन्छन् नारीहरू हाँस्दा
हामी पनि नारी प्रति बनौँ सदाचारी ll
४)मुक्तक :-
जलश्रोतको धनी भन्छन् सुकेको छ देश मेरो
अझै पनि अँध्यारोमा डुवेको छ देश मेरो
अनीति र अनाचारले व्याप्त भए शाशक सधैं
लोड सेडिङ्गको मार खप्दै दुखेको छ देश मेरो ll
५)मुक्तक:-
जाने देखि पिरतीले भवसागर तार्छ
नजानेमा पिरतीले अकालमै मार्छ
राम्रो बुद्धि पुर्याएर लगाऊँ माया प्रीति
कतै भोकै पार्छ यसले कतै छाकै टार्छ ll
कोमल भट्ट
@ komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका