कविता, उच्छबास
समय आएछ छुट्टिने तिमी संग
बोकी प्रेमिल बेदनाका सित्कारहरु
बेला भएछ बिदा लिने तिमी संग
ओढी आफ्नै छाँयाका चित्कारहरु
भिज्लान् अनायासै परेली मेरा
लुकाउँदा माया छाती भरिका
बहलान् गहभरिका आँशु मेरा
नसक्दा रोक्न बह मुटु भरिका
सक्दिन पीडालाई बाध्न पछ्यौरीमा
लुकाउ कसरी यो बेदना
सक्दिन उमडिएका मायालाई रोक्न
बनाऊ कसरी म बाहाना
आकाश रोइदिए हुन्थ्यो उतिबेला
जब मेरा आँशु बहन थाल्छन्
बादल गर्जिए हुन्थ्यो उतिबेला
जब मेरा सित्कार हुर्रिन थाल्छन्
चालै नपाउन् उनले कहिले
मेरा आँशुहरु उनकै लागि भनि
थाहै नपाउन् उनले कहिले
मेरा उच्छबास उनकै लागि भनि
नीता केसी