गज़ल By, कोमल भट्ट
ढल्यो सुशान्ति देशमा,उखेलिँदा जरा
जरा बढ्यो कुकर्म बेसरी,लुक्यो विचार निक्खरा ll
निमोठिंदै छ पाखुरा,घरीघरी विवादले
लुटेर भाग्य देशको,बनाइयो कठैवरा ll
सधैँ पिशाच सोच भो,अकाशियो विसङ्गति
जुटे सयौँ अनीतिमा,चुँडालिए परम्परा ll
अनेकता मडारियो,रहेन एकता कतै
भए उदाश आज ती,पहाड,भीर,कन्दरा ll
यहाँ लुटिन्छ अस्मिता,अबाल,बाल,वृद्धको
खपेर तीव्र वेदना,रुँदै बहन्छ निर्झरा ll
बनेन स्वच्छ आँगनी,मिलेर बस्न पाउने
निरन्तरै प्रयास भो,बनाउने गरा गरा ll
आकाशियो कठोरता,रहेन भाव 'कोमल'
समाल लौन देश यो,कहाँ गयौ विश्वम्भरा ll
(पञ्चचामर छन्द)
बहरे हजज मुसम्मन मक्बूज
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका