अविवाहित आमा बच्चा सहित उद्धार

काँकडभिट्टा (झापा)-

एक हप्ताअघि बच्चा जन्माएर अलपत्र परेकी एक अविवाहित महिलालाई बच्चासहित भद्रपुरको ‘साना हातहरु’ नामक संस्थाले उद्धार गरेको छ । 

भद्रपुर–१२ नहरटोलकी ३१ वर्षीया अविवाहित धनकुमारी राईले फागुन २२ गते घरमै बच्चा जन्माएकी थिइन् । साल नझरेपछि धनकुमारीलाई भद्रपुरको ओमसाइँ पाथीभरा हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो । बहिनीको घरमा बस्दै आएकी धनकुमारी बच्चाको जन्मपछि सहाराविहीन भएकी थिइन् । 

साना हात नेपालले प्रहरीको रोहवरमा हस्पिटलबाट उनलाई उद्धार गरी भद्रपुरस्थित संरक्षणगृहमा राखेको संस्थाका भद्रपुर शाखाप्रमुख जगत वाग्लेले जानकारी दिए । धनकुमारी र उनको नवजात छोरोको स्वास्थ्य अवस्था सामान्य छ । धनकुमारीलाई उनकै छिमेकी वेदनाथ अधिकारीले हस्पिटलमा पु¥याएका थिए । 

हस्पिटलमा भर्ना गर्दा ५१ वर्षीय वेदनाथले धनकुमारी आफ्नो पत्नी भएको नाता खुलाएका थिए । तर हस्पिटलमा धनकुमारी भर्ना भएको भोलिपल्टै वेदनाथ हस्पिटलबाट फरार भएको पीडित पक्षको भनाइ छ । धनकुमारीले वेदनाथ नवजात शिशुको बाबु भएको दाबी गरेकी छन् । 

खोटाङ घर भएकी धनकुमारी आफ्नी बहिनीको घरमा बस्दै आएकी थिइन् । बहिनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएपछि बहिनीकै नानीहरु स्याहारेर बस्दै आएको धनकुमारीले बताएकी छन् । जिल्ला प्रहरी कार्यालयले पीडित पक्षबाट निवेदन आएको हुँदा घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com