चितवनमा १२१ जनालाई स्वाइन फ्लु

रत्ननगर (चितवन), १५ चैत ,

चितवनमा १२१ जनालाई स्वाइन फ्लुको सङ्क्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार आज बिहानसम्मको प्रतिवेदनअनुसार परीक्षण गरिएका ३५६ मध्ये १२१ जनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच१एन१ सङ्क्रमण भएको पाइएको छ ।

अझै केही नमुना परीक्षणको प्रतिवेदन भने आउन बाँकी रहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण दरमा केही कमी आएपनि सङ्क्रमण भने रोकिएको छैन । यस विषयमा आजसम्मको स्वाइन फ्लुबारे भरतपुर अस्पतालका चिकित्सकहरुसँग समीक्षा गर्ने केसीले बताउनुभयो ।

समीक्षापछि आगामी कार्यक्रम तय गरिने छ । चितवनमा सन् २०१३ मा १० जना र सन् २०१४ मा ११ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले विशेष सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

आत्तिनु पर्ने स्थिति भने नरहेको उहाँले बताउनुभयो । डा पौडेलका अनुसार अहिले अस्पतालमा आइसोलेसन वार्ड बनाइएको छ र हेल्प डेस्कसमेत स्थापना गरेर बिरामी तथा सर्वसाधारणको निगरानी गर्ने गरिएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com