आवश्यक उपकरण नहुँदा स्वास्थ्य केन्द्रमा उपचारमा समस्या

भीमदत्तनगर, १ चैत,

आवश्यक उपकरण नहुँदा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा समस्या भइरहेको छ ।

बिरामी जाँचका लागि आवश्यक पर्ने उपकरण नहुँदा स्वास्थ्य केन्द्रलाई समस्या हुने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा अमृत खरेलले स्वास्थ्य केन्द्रमा जेनेरेटर, ऐ–क्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिन नहुँदा समस्या भइरहेको बताउनुभयो ।

“राति आकस्मिक सेवाका लागि जेनेरेटरको अभाव खड्किन्छ”, प्रमुख डा खरेलले भन्नुभयो–“पटक–पटक जनस्वास्थ्य कार्यालय र स्वास्थ्य विभागमा माग गर्दा पनि आएको छैन ।” दुईजना कार्यरत रहेको दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ७० देखि ८० जना बिरामी उपचार तथा जाँचका लागि स्वास्थ्य केन्द्रमा आउने गरेका छन् ।

एक वर्षअघिसम्म दैनिक ४० जना बिरामी आउने गरेको अस्पतालमा चाप बढेर दोब्बर भए पनि आवश्यक उपकरण नहुँदा उपचारमा समस्या हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डा खरेलको गुनासो छ । त्यसैगरी माथिल्लो निकायबाट स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि पनि समयमा नपुग्ने गरेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको भनाइ छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com