पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी नामक खोप दिन सुरु हुँदै

काठमाडौँ, १७ चैत,

सरकारले महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी (ह्युमन पापिल्लोमा भाइरस) नामक खोप दिन सुरु गर्ने भएको छ । नौदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ६÷६ महिनाको अन्तरमा दुई पटक खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । 

दक्षिण एसियामा भारतबाहेक अन्य देशले यो खोपको सुरुवात गरिसकेका छन् भने जापान, अमेरिका, क्यानडा, दक्षिण अफ्रिकालगायत देशले प्रयोगमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले चितवन र कास्कीबाट यसैवर्ष सो खोपको सुरुवात गर्ने तयारी गरिरहेको छ । खोपका लागि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले मन्त्रालयलाई आर्थिक सहयोग गर्ने भएको छ । ती दुई जिल्लाका करिब १५ हजार बालिकामा खोप लगाइसकेपछि यसका आधारमा मन्त्रालयले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने डब्लुएचओका खोपविज्ञ डा सन्तोष गुरुङले जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब दुई हजार ५०० महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्छन् । यो आँकडा सातवटा क्यान्सर अस्पतालमा आउने बिरामीका आधारमा प्रक्षेपण गरिएको हो । यसैबीच, यो खोपबारे जानकारी गराउन डब्लुएचओद्वारा आयोजित चारदिने बैठक काठमाडाँैमा जारी छ । बैठकमा नेपालसहित बङ्गलादेश, म्यान्मार, भुटान, कम्बोडिया, श्रीलङ्कासहित विश्व स्वास्थ्य स¬ङ्गठनको मुख्यालय जेनेभा, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, राष्ट्र सङ्घीय बालकोषका प्रतिनिधिको सहभागिता रहेको छ । 

चारदिने सो बैठकमा डब्लुएचओका नेपाल प्रतिनिधि डा लिन वाङले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी खोप सुरक्षित भएको डब्लुएचओले प्रमाणित गरिसकेकाले यसलाई समुदायमा लान आवश्यक छ भन्नुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले महिलाको स्तनमा भन्दा पाठेघरको मुखमा बढी क्यान्सर हुने गरेको बताउनुभयो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com