‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ'-आभा मुकारुङ

काठमान्डू फागुन २३,

केशर मंग युंग सुब्बा : मुकारुङहरू साहित्य-सङ्गीतमा चर्चित थरी हुन् । बुलु मुकारुङ, राजन मुकारुङ, श्रवण मुकारुङ, पारस मुकारुङ, बसन्त मुकारुङ, भिषण मुकारुङ, शुभ मुकारुङ, आभा मुकारुङ आदि सबै-सबै चर्चित छन् । उनीहरूको परिचय उनीहरूले नै कर्म-कला-बिचारले आफैँ लेखिसकेका छन् ।

हामीले लेखिरहन त जरुरी छैन तरै पनि भलाकुसारीलाई साभार गर्दै चर्चित गायिका आभा मुकारङको बारेमा थोरै शब्द खर्च गर्नु बेश नै होला । अर्को तर्फ भोजपुर पहाडी र सडक यातायातको हिसाबले निकै दुर्गम जिल्ला भए पनि नेपाली साहित्य, सङ्गीत, कला र राजनितिमा अगुवा जिल्ला हो ।

भोजपुरको चर्चित ठाउँ दिल्पा, अन्नपूर्णमा वार्ड नं-८ मा जन्मिएकी आभा मुकारुङ पनि नेपाली सङ्गीत गजतमा आभा नै बनिन् । २०५३ सालमा ‘यो साल फेरि बारीभरी अजम्मरी फुलेको छ’ भन्ने शुभ मुकारुङको शब्द र शान्तीराम राईको सङ्गीतमा स्वर दिई गीत रेकर्ड गरेपछि रेडियोमा औपचारिक रुपमा आभा मुकारुङले आफूलाई गायिकाको रुपमा दर्ता गरेकी हुन् । नरदेवी राई र तिर्थराज राईको कोखमा जन्मिएकी आभाले विध्यालयकै प्राङगणबाट आफ्नो साङ्गीतिक मोहलाई देखाउन थालेकी हुन् । लगभग २५५ भन्दा ज्यादा गीतहरू आफ्ना स्वरमा रेकर्ड गरेकी आभा मुकारुङ अहिले काठमाडौको बुढानिलकण्ठको स्थायी वासिन्दा हुन् ।

२०५३ सालमा बिराट नगरमा रेडियो नेपालद्वारा आयोजित खुल्ला आधुनिक गीत गायन प्रतियोगितामा सामेल भई सान्त्वना स्थान प्राप्त गरेपछि रेडियोले उनलाई मान्यताप्राप्त गायिका स्वीकारेको हो । काठमाडौ प्रवेश, अध्ययन र गायनसँग हिँड्डा-हिँड्दै रामचन्द्र काफ्ले , अर्जुन कौशल , सुनिल बुढा, बेगम गन्दर्व आदि र आफु सहितको चौतारी समुह सँगको सहकार्यमा निस्केका उनका गीतहरू पनि एकसेएक हिट भएका थिए । शालीन शैलीका आभाका स्वरमा मुलायम र मोहकता भएको स्रोताहरूले स्वीकार्दछन् ।

घरकै बाबा-आमा सङ्गीतप्रेमी तथा आफन्त अग्रजजनहरू सङ्गीतमा रहेको कारण पनि सङ्गीतमा नजानिँदो तवरले होमिएको र आफूलाई यसमा बहुत टेवा पुगेको उनी बताउँछिन् । सङ्गीत मै लागेर जीवन कटाउने खास उदेश्य नहुँदा-नहुँदै पनि अन्तत: सङ्गीत नै जीवनको सारथी जस्तो बन्न पुगेको संयोगले उनलाई खुशी तुल्याएको छ । रेकर्डेड आवाज मात्र हैन, उनले नेपालका अनेक जिल्ला-गाउँका मञ्च र देश-विदेशका मञ्चमा चढेर समेत बारम्बार स्रोतालाई मीठा-मीठा गीत सुनाउने गर्दछिन् । कतार, कोरिया, हङकङ, दुबई, देहरादुन, सिक्किम र युकेसम्म पुगेर पनि उनले स्रोताहरूलाई लठ्याईरहेकी छिन् । ‘जीवन सुख-दु:खको समायोजन हो । सङ्गीतको यात्रामा पनि सुख-दु:ख आएका थिए । जसलाई मैले प्रेरणाको स्रोतको रुपमा अनुवाद गरेर बढिरहेकी छु ।‘

: उनको जीवन दर्शन यस्तो छ ।
आफ्ना उर्जाशील समय र बैँस नै सङ्गीतमा लगानी गरिसकेकी आभाले पुरस्कार, आर्थिक लाभ र सम्मानभन्दा पनि स्रोताको माया नै ठूलो उपलब्धी मान्दछिन् । देश-विदेशमा बसेर नेपाली सङ्गीत सुन्न रुचाउने सङ्गीतप्रेमीहरूको साङगीतिक आयोजनाका कारण पनि सम्मान तथा आर्थिक लाभ दुबै मिलेको स्वीकार्दछिन् । सरकारी तवरका केहि सँस्थानहरूमा जागिरेको रुपमा केहि गायक-कलाकार रहे पनि यसले सबैलाई समेट्न नसकेको उनको भनाई छ ।

महत्वकांक्षाबिना सामान्य र साधारण जीवन तर सङ्गीतको मोहमा रमाउन चाहने आभा मुकारुङले आफूले बाँचेको समयमा कला-सङ्गीतको माध्यमबाट नै समाजलाई केहि दिन सके आफ्नो जीवन सन्तुष्ट हुने बताउँछिन् । ‘कुनै पनि देशको अवस्था बुझ्न त्यो देशको राजनैतिक अवस्था बुझे पुग्छ रे !’ भनेर शालीन तवरले यथार्थ तर सटिक ब्यङ्ग्य गर्दै अस्थिर, खिचातानी र अस्वस्थ प्रतिस्पर्धाको राजनितिका कारण कलाकारहरूमा पनि नराम्रो असर पुगेको बताउँछिन् ।

‘आफ्नो गीतहरू मध्यम खालका लाग्छन्, कारण अझै राम्रो गाउनु मेरो उदेश्य हो ।‘ भन्छिन् । उनको ‘आभा’ एल्बमको ‘कता हिँडेको ? कसलाई खोजेको ?’ गीतले उनलाई पहिलो चरणमा धेरै चिनाएको जानकारी दिन्छिन् । यसकालागि यो गीतका गीतकार रामकृष्ण बान्तवा र सङ्गीतकार राजु सिंहलाई पनि उनले सम्झिन चाहन्छिन् ।

करिब दुई बर्ष अगाडी ‘सौम्य’ एल्बम निकाली थप चर्चा र माया कमाएकी आभा अहिले अर्को एल्बम तयारीमा छिन् । ‘राष्ट्र, समाज, कला र सँस्कृतिको बिकासको निमित्त कलाकार, लेखक, मिडिया, स्रोता सबैको अहम भूमिका हुनुपर्छ ।‘ भन्ने उनको राय छ । सभ्य, कलात्मक र सटिक तरिकाले आफ्ना बिचार राख्ने गायिका शिक्षित गायिका हुन् । उनी सम्झिन्छिन्, ‘ठूला-बडाले के बन्छौ ?’ भनेर सोध्दा सायद ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि आज गायिका बन्नु उनले आफ्नो भाग्य सम्झिन्छिन् । 

अडियोले मात्र सङ्गीतका स्रोतालाई अहिले धान्न-तान्न नसक्ने अवस्थामा उनका धेरै भिडियोका गीतहरू युट्युबमा खोजेर सुन्न सकिन्छ । सुन्दरी भए पनि आफूलाई खासै स्क्रिन शो गर्न नरुचाउने गायिकाका म्युजिक भिडियोहरूमा उनलाई तेति देख्न सकिन्न । कम तर मीठो बोल्ने बानी भएकी गायिका कम तर राम्रो गीत गाउने चाहना राख्छिन् । डिजिट दुनिया एच के रेडियो आलो पालो डटकम को तर्फ बाट एकै मुष्ट हार्दिक शुभकामना ब्याक्त गर्दछौ उनलाई हामी सकदर सलाम भन्न चाहन्छौँ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com