नेपाली समाजमा महिला हिँसा, बालिका बलात्कार

नेपालको पत्रकारिताको इतिहासमा सन् २०१५ को सुरुआतसँगै महिलामाथि हुने यौन दुव्र्यवहारका समाचारहरूले प्रमुख स्थान पाउन थालेका छन्। विशेषगरी बालिका बलात्कार, युवतीमाथि एसिड प्रहारका घटनाभएलगत्तै नेपाली सञ्चार क्षेत्रमा पुन: महिला हिंसाको विषय चर्चामा छ। 

पत्रकार महिलाले समयसमयमा पत्रपत्रिकाहरूले महिला हिंसाका घटनालाई प्राथमिकताका साथ नछाप्ने गुनासो गर्दै आएकोमा अहिले महिलामाथि हुने यौन दुव्र्यवहारलाई जिम्मेवारीपूर्वक प्रथम पृष्ठ समाचारका रूपमा छाप्न थालेकोमा सम्पादक तथा पत्रकारहरूधन्यवादका पात्र छन्। सूचना र प्रविधिको विकासले पनि यस्ता सामाजिक अपराधका घटनाबारे जानकारी सजिलै बाहिर आउन थालेका हुन्।

बालिकामाथि यौनजन्य हिंसाको सुरुआत आमाको गर्भबाटै सुरु हुने कटु सत्यता अपत्यारिलो वास्तविकता हो। भ्रूण पहिचान गरी स्त्रीलिंग भएमा गर्भपतन गर्ने समाजको यथार्थबीच जन्म लिन सफल बालिका आफ्नो बाल्यकालको अत्यन्त न्यून उमेरदेखि नै यौनजन्य हिंसाको सिकार हुन्छन्। 

बालअधिकार र बालसंरक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय भए पनि बालसुरक्षाको बारेमा स्पस्ट र घनीभूत चर्चा नहुनु राष्ट्रको ठूलो कमजोरी हो। सामान्यत: संरक्षण संसद्ले सुरक्षालाई समेट्ने भान भए पनि बालसुरक्षाको विषय अत्यन्त गम्भीर र मूलभूत विषय हो। 

नेपालको सन्दर्भमा बालकको श्रम र बालिकाको यौन शोषणको भयावह अवस्था विद्यमान रहनुमा सुरक्षा संयन्त्र फितलो र प्रभावहीन हुनु महत्त्वपूर्ण कारक हो। यस्ता घटना दिनानुदिन बढ्दै जानुको पछाडि अन्य धेरै कारण रहेका छन्। केहीबारे तल चर्चा गरिएको छ-

पाश्चात्य मानव सभ्यताको प्रभाव

नेपाली समाजको परिवर्तनको गति अन्य विकासशील मुलुकहरूभन्दा ढिलो छ। यसको एउटा कारण कुनै पनि राष्ट्रको उपनिवेश नहुनु नै हो। तर आजको विश्वमा उपनिवेशवाद शस्त्रबाट नभई अर्थबाट हुने गरेको छ। आर्थिक रूपमा समृद्ध मुलुकहरूले विश्व बजारलाई आफ्नो अनुकूल राख्न सफल छन्। 

फलस्वरूप नेपाली समाजमा पनि पूरातन सामाजिक मान्यताभन्दा भिन्न पाश्चात्य सामाजिक मान्यताको अनुयायीहरूको प्रभाव बढ्दो छ। अन्तर्राष्ट्रिय भाषामा पोख्त बन्दा विश्वबजारमा पहुँच हुने हुनाले परिवारबाटै बालबालिकालाई अंग्रजीलगायत अन्य भाषामा अध्ययन गराउने वातावरण मौलाउँदो छ।

भाषासँगसँगै संस्कृतिको पनि अन्तर्राष्ट्रियकरण भइरहेको छ। फलस्वरूप सभ्यतामा परिवर्तन भएको छ। प्रविधिको विकास र सञ्चालन पश्चिमा मुलुकहरूबाट हुने र त्यसको प्रयोगकर्ता नेपाली समाज हुने भएकाले प्रविधिद्वारा विभिन्न सञ्चारमाध्यमबाट महिला तथा पुरुषको शरीरलाई आकर्षक र प्राप्त गर्दा आनन्द अनुभूत हुने वस्तुका रूपमा प्रस्तुत गरिने हुँदा पुरुषहरूमा त्यसको प्रभाव नकारात्मक परेको छ।

 फलस्वरूप आफ्ना वरपरका, कलिला अनि प्रतिरोध गर्न नसक्ने बालिकालाई फकाइ वा जबर्जस्ती यौन शोषण गर्ने प्रवृत्ति मौलाउँदो छ।

बालविवाहको सान्दर्भिकता

बालविवाह गैरकानुनी र असामाजिक चलन हो। यसले बाल मानसिकताको सम्पूर्ण विकास प्रतिबन्धित गर्दछ, बालिकाको शारीरिक अक्षमतालाई वास्ता गर्दैन। तर मानवीय यौन सम्बन्ध आफैंमा मानव शरीरको आवश्यकता र प्राकृतिक तथा कानुनी रूपमा सम्भव सम्बन्ध हो। 

समाजको परिवर्तनसँगसँगै यौन सम्बन्धको वैधानिकताका लागि विवाह गर्ने उमेर हद र प्रकृतिमा विविधता हुँदै आएको छ। विवाह नै एउटा मात्र सामाजिक व्यवस्था हो, जसमा महिला-पुरुषको यौन सम्बन्धलाई समाजले सहजै स्विकारेको हुन्छ। 

तर पछिल्लो समयमा विवाहको उमेर हद कानुनी रूपमा २१ वर्ष कायम हुनु, १६ वर्ष पुगेपश्चात् मन्जुरीमा यौन सम्बन्ध राख्न कानुनद्वारा कुनै रोक नभए पनि समाजले अनैतिक मान्नु र शिक्षामा भएको परिवर्तनले बालबालिका १२ वर्षपश्चात् नै यौन स्वास्थ्यमा जानकार र यौनप्रति अति कूतुहल हुने वातावरण तयार हुनुले नेपालमा यौन सम्बन्धसम्बन्धी कानुनी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ। 

पुरानो समाजमा बालविवाह हुने हुँदा यौन परिपक्वतापश्चात् शारीरिक सम्बन्धका लागि सामाजिक रूपमा बाटो खुला रहन्थ्यो। तर पछिल्लो समयमा बालविवाहलाई अपराधमा सूचीकृत गरिएपश्चात् यो बाटो सदाको लागि बन्द भएको छ। 

नेपाली समाजमा त्यसको प्रत्यक्ष प्रभाव बालिकाको सुरक्षामाथि परेको देख्न सकिन्छ। यौन परिपक्वता र यससम्बन्धी जानकारी सानै उमेरमा हुने, विवाह गर्नका लागि कम्तीमा १८ वर्षको हुँदासम्म पर्खनुपर्ने र प्रविधिले भित्र्याएको विकृतिसँगै यौन सामग्रीहरूको बढ्दो प्रयोगले युवालाई बालिका बलात्कार गर्नेसम्मको परिस्थितिमा पुर्‍याइरहेको छ।

यौन व्यवसाय व्यवस्थापनको प्रश्न

नेपालको कानुनमा यौन व्यवसाय अनैतिक मानिन्छ। सार्वजनिक अपराध, शरीर मास्ने-बेच्नेसम्बन्धी कानुनले यौन व्यवसायमा संलग्न महिला र पुरुषलाई दण्डसमेतको व्यवस्था गरेको छ। तर कतिपय उन्नत र विकसित राष्ट्रमा यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गरिएको छ। 

सो व्यवसायमा संलग्न महिला वा पुरुषमाथि यौनजन्य हिंसा नहोस्, निजहरूको स्वास्थ्यले समाजमा असर गर्न सक्ने हुँदा स्वस्थ रहनका लागि कानुनी बाटो खुला होस् भन्ने जस्ता उद्देश्यले गर्दा यौन व्यवसायले कानुनी मान्यता पाएको हो। त्यस्ता मुलुकमा बालिका बलात्कारका घटना कुन अनुपातमा हुन्छन्, चासोको विषय छ।

 किनकि त्यस्ता मुलुकमा यौन व्यवसाय सञ्चालन गर्न पाउने कानुनले बालिका बलात्कार नहुने वातावरण बन्छ भने नेपालजस्तो मुलुकले पनि यौन व्यवसायसम्बन्धी कानुनलाई पुनरावलोकन गर्नेतर्फ ध्यान दिनुपर्ने हुन्छ।

बलात्कारको मनोसामाजिक पक्ष

बलात्कार भएकी किशोरीलाई नै बलात्कारको जिम्मेवार एक पक्षका रूपमा हेरिनु समाजको गम्भीर भूल हो। कसैले एक बालिकालाई बलात्कार गरेमा सो व्यक्तिलाई कानुनको दायराबाट संरक्षण गर्नका लागि निजका परिवार, निजकै समुदायका अन्य प्रभावशाली व्यक्तिहरू, राजनीतिक रूपले राज्यका सुरक्षा निकायसम्म पहुँच भएका व्यक्तिहरूतुरुन्त सक्रिय हुने कुचलन नेपाली समाजको ज्वलन्त चित्रण हो।

 ग्रामीण समुदायमा भद्र-भलाद्मीहरूको भेलाले नै यस्तो अपराधको सुनुवाइ र फैसला गर्ने चलन नेपालमा प्रचलित छ। यो सबैबीच निरीह एक बालिकाको स्वर सामान्यत: दब्नु वा हराउनु स्वाभाविक हुन्छ। साथै बलात्कार भएकी किशोरीलाई जीवनभरका लागि पीडितसरह व्यवहार गर्ने समाजको परिपाटी त पौराणिक नै हो।

 यसले गर्दा बलात्कार एक गैरकानुनी कार्य मात्र नभई एक स्त्रीको जीवनको कालो धब्बासरह हुने सामाजिक बुझाइ रहेको छ। किनकि त्यो बालिका पनि समाजकै एक अंग हुन्, उनको मनोसामाजिक पक्ष पनि जीवनभरिका लागि पीडित भएकै अनुभूतिबाट थिचिएको हुन्छ।

कानुनमा बलात्कारको स्थान

शाब्दिक रूपमा बलात्कारलाई कानुनी भाषामा जबर्जस्ती करणी (जक) भनिन्छ। नेपालको कानुनले महिलालाई मात्र जक हुन सक्ने परिकल्पना गरेको छ। पछिल्लो समयमा पुरुषलाई पनि जक हुने गरेका उदाहरण अन्तर्राष्ट्रिय सञ्चार जगत्मा व्याप्त भए पनि नेपालमा हालसम्म समाजले त्यस्तो घटनाको आकलन गर्न सकिहाल्ने अवस्था छैन।

 तसर्थ नेपालमा जक महिलामाथि हुने गर्दछ। विवाहपश्चात् पनि पतिले पत्नीलाई जक गर्न सक्छ र सो अवस्थामा पतिलाई सजाय दिलाउन सक्ने अधिकार कानुनले महिलालाई सुनिश्चित गरेको छ। 

तर १६ वर्षमुनिकी बालिकासँग भने मन्जुरीमा करणी भएको भए पनि कानुनले त्यसलाई जक मान्दछ, जसका लागि दण्डको परिधिसमेत ठूलो छ। कानुनले १६ वर्षमुनीको बालकलाई वयस्क महिलाले मन्जुरीमा करणी गरे-गराएमा भने बालकमाथि जक भएको मान्दैन।

बालबालिकाको सुरक्षा सबाल

समाजमा बालबालिकालाई अबोध मानिन्छ। कुन अर्थमा अबोध भने उनीहरूलाई समाजमा हुनसक्ने कुनियतिहरूका बारेमा ज्ञान हुँदैन। आफ्ना वरपर देखिने सबै मानिस आफ्नै हुन् र तिनीहरूले राम्रै गर्छन् भन्ने बाल मानसिकताको प्रतिकूल बालबालिकालाई यौन शोषण गर्ने, श्रमिक बनाउने, बेचबिखन गर्ने तथा अपहरण र हत्या गर्नेसम्मका अपराधहरू हुने गर्दछन्।

 तसर्थ राज्यले बालबालिकालाई संरक्षण गर्ने प्रमुख जिम्मेवारी बाबु, आमा तथा परिवारलाई दिएको हुन्छ। तर हिजोआजका धेरैजस्तो घटनाले देखाएको परिदृश्य हेर्दा बालबालिका घरमा पनि असुरक्षित रहेको स्पष्ट हुन्छ। 

तसर्थ राज्यले बालबालिकाको सम्पूर्ण विकाससँग उनीहरूको सुरक्षा जोडेर नयाँ नीति सार्वजनिक गर्नुपर्ने अपरिहार्यता देखिन्छ। तब मात्र राज्यको अन्तर्राष्ट्रिय दायित्वसमेत पूरा हुनेछ। नत्र भने नेपालमा बालबालिका असुरक्षित रहनुले देशको भविष्यलाई अन्धकारतर्फ धकेल्नेछ। 

__ साधना घिमिरे , साभार अन्नपूर्ण :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com