अपाङ्ग नातिनी बलात्कार गर्ने पक्राउ

गोरखाबजार, १६ चैत ,

नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

एकहत्तर वर्षका इन्द्रबहादुर गुरुङले १८ वर्षकी शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत चैत ७ गते बलात्कार गरेका थिए । घटनाबारे ढिला गरी प्रहरीमा उजुरी आएपछि गुरुङलाई पक्राउ गरी आज जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । श्रीमती मेला गएको मौका छोपेर गुरुङले गोठालो गएकी नातिनीलाई जङ्गलमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पीडित पक्षको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार यसअघि पनि हजुरबुबा पर्ने गुरुङले किशोरीलाई पटक–पटक बलात्कार गरेका थिए । यसअघि भएका घटना गाउँमै मिलाइएको थियो । यस पटक पीडितकी आमाले बलात्कार गरिरहेको अवस्थामा देखेपछि घटना बाहिर आएको थियो । गाउँमै घटना मिलाउने प्रयास भए पनि नमिलेपछि पीडित पक्ष प्रहरीकामा आएका हुन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com