ओखरकोट–१ की एक महिलाको निःशुल्क उपचार

प्यूठान, ११ चैत ,

घाँस काट्ने क्रममा भिरबाट लडेर पाँच वर्षयता ओछ््यानमै आफ्नो जीवन बिताउँदै आउनुभएकी ओखरकोट–१ की एक महिलाको निःशुल्क उपचार हुने भएको छ ।

आर्थिक अभावमा उपचारबिना नै कष्टपूर्ण जीवन चलाउँदै आउनुभएकी बाटुला खड्काको चितवनको एक अस्पतालले निःशुल्क उपचार गरी उद्धार गर्ने भएको छ । २०६५ साल चैतमा भिरवाट लडेर दुवै खुट्टा भाँचिएपछि आर्थिक अभावका कारण राम्रो उपचार नपाउँदा खड्का ओछ््यानमै जीवन बिताउँदै आउनुभएको छ । घरमूली नै अशक्त भएपछि उहाँका तीन छोरी विद्यालय जानबाट अहिले पनि वञ्चित भएका छन् ।

आर्थिक अवस्था न्यूनस्तरको रहेकी खड्काको उपचारको अभावमा कष्टपूर्ण जीवन बिताउँदै आएको समाचार राष्ट्रिय समाचार समितिमार्फत आएपछि उहाँको निःशुल्क उपचार हुने भएको हो । ‘५ वर्षदेखि उपचार नपाएर आमा ओछ््यानमै, विद्यालय उमेरका छोरा–छोरी मजदुरी गर्दै’ शीर्षकमा राससमा केही समय पहिले समाचार प्रकाशन भएको थियो ।

श्रीमान्को मृत्यु, जेठो छोरा भारतमा र आफ्नो दुवै खुट्टा भाँचिएर नचल्ने अस्थामा पुग्दा खड्काको परिवारमा चरम आर्थिक समस्या रहेको छ । सुरुको समयमा अस्पतालले उपचारका लागि तीन लाख मागेपछि बिनाउपचार घर फर्कनु भएकी खड्का लामो समयदेखि कष्टपूर्ण जिन्दगी बिताउँदै आउनुभएको छ ।

त्यस्तै, उहाँको परिवारमा रहेका उहाँका सन्तान विद्यालय उमेरमा पनि विद्यालयबाट वञ्चित भएर मजदुरी गर्दै आएका छन् । चितवनको कायाकैरन दैनिकमा राससमार्फत समाचार आएपछि महिलाको आफूहरुले निःशुल्क उपचार गर्ने निर्णय गरेको एलाइभ हस्पिटलका प्रशासकीय प्रमुख लवराज ढकालले बताउनुभयो । अस्पतालले आर्थिक समस्यामा परेका महिलाका लागि बिभिन्न सहयोगसहित उपचार गर्ने गरेको उहाँको भनाइ छ ।

बाटुलाको उपचारका लागि हस्पिटलले परिवारका सदस्यलाई कुरुवा बोलाएपछि बाटुलाका छोरा मदन खड्का भारतबाट मङ्गलबार प्यूठान आउनुभएको स्थानीयवासी नारायण जिसीले जानकारी दिनुभयो । बाटुलाको परिवारमा अहिले आर्थिक समस्या हँुदा बिहान–बेलुकी पेटभरि खानसमेत समस्या रहेको छ । उहाँको अहिले दुवै खुट्टा नचल्ने हुँदा भित्र–वाहिर गर्नमा समेत समस्या रहेको छ । आफू अशक्त हुँदा कैयौँ पटक भोकै पेट बस्नु परेको उहाँले दुखेसो सुनाउनुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएपछि उहाँका १६ वर्षीय जेठो छोरा बीचमै पढाइ छोडी एक वर्षयता रोजगारीका लागि भारत जानुभएको थियो ।

त्यस्तै, १२ वर्षीया छोरी विमला खड्का कक्षा ७ मा अध्ययन गर्दैगर्दा गत वर्षदेखि पढाइ छोडेर स्थानीय गाउँमा ज्यालादारी काम गर्दै आउनुभएको छ । बिमलाकी १० वर्षीया बहिनी सुशिला विद्यालयमा नाम लेखाए पनि धेरैजसो विद्यालय नगई आफूसँगै काममा हिँड्ने बाध्यता रहेको उहाँले बताउनुभयो । खड्काका काखका छोरा–छोरीले अहिले स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्दै आए पनि आर्थिक अभावमा उनीहरु पनि विद्यालय छोड्ने मनस्थितिमा रहेका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com