विषादीको बट्टा व्यवस्थापनको थालनि

जगतपुर, चितवन चैत्र ९,

अनन्तप्रकाश सुवेदी : नेपालमा नै पहिलो पटक विषादीको बट्टा व्यवस्थापनको सुरुवात जगतपुर स्थित केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडले गरेको छ ।

कृषि, स्वास्थ्य एवं वातावरण परियोजना सम्बन्धि २२ हप्ते कृषक पाठशाला समापन कार्यक्रममा सोमवार कृषि, स्वास्थ्य एवं वातावरण परियोजना, नेपाल जन स्वास्थ्य प्रतिष्ठानका संयोजक प्रा. डा. श्रीकृष्ण गिरीले विषादी बट्टा व्यवस्थापनको उद्घाटन गर्नुभयो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्नुहुँदै डा. गिरीले पहिले सो बिषादीको बट्टालाई तीन पटक राम्रोसँग पखाल्नु पर्ने र त्यसलाई खोलेर राम्रोसँग कुच्याएर ट्यांकीमा लगेर राख्नु पर्ने बताउनु भयो । यसले गर्दा जथाभावि फालिने विषादीको बट्टा एकै ठाउँमा जम्मा हुने र त्यसलाई पछि व्यवस्थापन गर्न सकिने परियोजनाका कृषि विज्ञ सुन्दर तिवारीले बताउनुभयो ।

यो व्यवस्थापनको सुरुवात नेपालमा पहिलो पटक भएको र यसको व्यापक प्रचार प्रसारको जरुरत रहेको तिवारीले बताउनुभयो । श्री केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको प्रांगणमा आयोजित सो कार्यक्रममा परियोजनाका फिल्ड कोअर्डीनेटर दिपक ज्ञवालि, सहकारीका अध्यक्ष कान्छा मल्ल, आइपिएम सहजकर्ताद्वय बासु सापकोटा तथा मुरारी घिमिरे, जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघका अध्यक्ष हरि ब. थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम केरुंगा सहकारीका सदस्य अर्जुन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा. डां गिरिले पाठशालामा सहभागि सम्पुर्णलाई बधाई दिनुहुँदै तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्ने र छरछिमेकलाई सिकाउने समयको सुरुवात भएकोले अबका समयमा उपलब्ध विभिन्न कृषि प्राविधिकहरुसँग छलफल गरेर आफ्नो ज्ञान अभिवृद्धि गर्दै सुरक्षित र व्यवसायिक कृषि तर्फ उन्मुख हुनुहुन आग्रह गर्नुभयो ।

नजिकैको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आजैबाट बोट बिरुवाको शिविरको सुरुवात गरेकाले सो बाट पनि फाइदा लिनुहुन सम्पुर्णलाई आग्रह गर्नुभयो । कार्यक्रममा २२ हप्ते पाठशालामा प्रथम हुनुहुने प्रकाश मणी सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो भने सहभागि सम्पुर्णलाई विषादी सुरक्षित छर्न प्रयोग हुने मास्क, एप्रोन, पन्जा, गमबुट लगायतका सामाग्रीहरु वितरण पनि गरिएको थियो ।

पाठशालामा सहभागि किसान नारायणी न. पा. १२, नयाँ वस्तिका मनकुमार हमालले पहिलो पटक लिएको सो आइपिएम पाठशाला आफूलाई निकै फाइदा पुगेको र विषादी सुरक्षित रुपमा छर्ने विभिन्न उपायहरु आफूले सिकेको र सो कुरा व्यवहारमा उतार्ने र छरछिमेकमा पनि सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com