महोत्तरीमा ६० भन्दा बढी निलगाई फेला परे

गौशाला, १९ फागुन ,

महोत्तरी जिल्लाको दक्षिण पश्चिम सिमानाकामा अवस्थित इटहर्वाकट्टि र मनरा गाविसमा एक्कैसाथ ६० भन्दा बढी निलगाई फेला परेको छ ।

दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई सो गाविसको वनमा एक्कासी देखिएको स्थानीय बासिन्दाले बताएका छन् । ठूलो सानो विभिन्न आकारका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका निलगाई ती गाविसको वनमा लगाइएको दलहन, तेलहन र तरकारीवालीमा प्रवेश गरेर सबै बाली खाइदिएको मनराका रवीन्द्र भगतले बताउनुभयो ।
दर्जनौँको सङ्ख्यामा निलगाई फेला परेकाबारे स्थानीय बासिन्दाले जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयमा जानकारी गराइसकेका छन् । अहिले माथिल्लो वन जङ्गलमा डढेलो, चोरी शिकारीजस्ता कार्यले गर्दा दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com