आखिर छोरी जन्माउँदा किन यस्तो व्यवहार गरिन्छ ?

नुवाकोटकी एक साथीले गत वर्ष दुई छोरी एकैसाथ जन्माइन् । उनले भिडियो एक्सरे गर्दा डाक्टरले तपाईंको पेटमा छोरा छ भनिदिएछन् । दुई छोरा जन्मिने भएपछि परिवारमा पनि निकै खुसी छायो । जतिबेला प्रसूति बेथाले च्याप्यो उनलाई तुरुन्तै काठमाडौंको एउटा निजी हस्पिटलमा लगियो जहाँ उनले छोरा होइन दुईवटी छोरी जन्माइन् । उनको परिवारमा छोरा जन्मिएपछि भोज गर्ने भन्दै खसी ठिक्क पारेका रहेछन् जतिबेला जुम्ल्याहा छोरी जन्मिएको खवर थाहा भयो परिवारमा एक किसिमको सन्नाटा छायो । डाक्टरले झुक्यायो, छोरा भनेर छोरी पो रहेछ भन्दै उनका श्रीम्ाान् कराउन थाले, घरपरिवारले पनि डाक्टरमाथि जाइलाग्ने घोषणा गरे, उल्टो रिपोर्ट दिने डाक्टरलाई किन बाँकी राख्ने भन्ने कुरा पनि निस्कियो । 

उनीहरू जहाँ एक्सरे गर्दा छोरा छ भनिएको थियो त्यहीँ पुगेर डाक्टरसँग रिसाए । डाक्टरले उनीहरूलाई मत्थर पार्दै भने-तपाईंहरू पढालेखा भएर पनि छोराप्रति यति मरिहत्ते गरेको देखेर मलाई लाज लाग्यो । मैले पेटमा छोरी छ भनेको भए तपाईंहरूले उतिबेलै गर्भ पतन गराउनुहुन्थ्यो छोरा भन्दिएकाले कम्तीमा यी बालिकाले संसार त देख्न पाए । पेटमा छोरा छ भनेपछि तपाइर्ंहरूले गर्भवतीको पनि निकै ख्याल गर्नुभयो कम्तीमा स्वस्थ छोरी त जन्मिए । डाक्टरले यस्तै उपदेश दिने क्रममै रिसले आगो भएका नवजात शिशुका आफन्तहरू बढी जान्ने हुँदो रहेछ भन्दै घर फर्किए । छोरा पाए भोज गर्ने भनेर ठिक्क पारेको खसी पनि बेचे । आखिर छोरी जन्माउँदा किन यस्तो व्यवहार गरिन्छ ?

'छोरा होस् वा छोरी दुवै बराबरी' संचारमाध्यममा प्रसारण हुने विज्ञापन हो-यो । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमाले नै छोरीप्रति नकारात्मक धारणा राख्न थालेपछि कहिले सुधि्रएला हाम्रो स्थिति ? आमा स्वयं आफू छोरी भएको कुरा बिर्सिएर गर्भमा छोरी रहेको थाहा पाउनासाथ पतन गराउन अग्रसर हुन्छन् । पढेलेखेका र सचेत परिवारमै छोरावादको महिमा यसरी गढेको छ भने गाउँघरमा छोराका लागि दर्जनौं छोरीको ताँती लाग्नु असामान्य होइन । राजधानीमै बसोबास गर्ने स्थायी बासिन्दा हून् वा राजधानीलाई कर्मथलोका रूपमा अँगाल्दै आएका शिक्षितजन एकाधबाहेक अधिकांशको सोच आफ्नो सन्तान छोरै होस् भन्ने हुँदो रहेछ ।

गत वर्ष मेरी एक सहकर्मीले छोरी जन्माइन् । उनले छोरी जन्माएको कतै हल्ला भएन तर त्यसको दुई दिनपछि उनकी नन्दले छोरा जन्माइन् । नन्दले छोरा जन्माएको पाँच मिनेट पनि बित्न नपाउँदै सामाजिक सञ्जालमा तस्बिर शेयर हुन थाले, बधाईको ओइरो लाग्यो । साथी नजिकै बस्ने भएकाले उनले छोरी जन्माएको खबर पाउन समय लागेन, नवजात शिशु हेर्न म हस्पिटलमै पुगें । शिशु सामान्य प्रसूतिबाट जन्मिएकाले २४ घन्टापछि डाक्टरले घर जान सुझाव दिए, छोरी साढे तीन केजीकी र स्वस्थ थिइन् । म अस्पताल पुग्दा एकातिर छोरी रोइरहेकी थिइन्, साथी अर्कातिर अँध्यारो मुख लगाएर बसेकी थिइन्, श्रीमान् औषधिको बिल तिर्दै थिए । साथीलाई देख्नासाथ बधाई दिएँ, छोरी उचालें, शिशु रोइरहेकीले सिस्टरहरू ए दिदी बच्चालाई दूध ख्वाउनुस् भन्दै थिए तर पनि साथी मानिरहेकी थिइनन् । मैले पनि कर गरें, बच्चालाई दूध ख्वाऊ न, साथी अझैं अँध्यारो अनुहारमै थिइन् । 

मैले आमा बनेकोमा बधाई भन्दा पनि केही बोलिनन्, फेरि सोधंे, किन नबोलेकी ? आमा बन्नु त संसारको सबै भन्दा महान् काम हो किन अँध्यारो अनुहार लगाएकी ? बल्ल उनको बोली फुट्यो, केको बधाई दिन्छ्यौ छोरा पाएको भए पो बधाई थाप्नु ? मेरो दिमाग रनभुल्लमा पर्‍यो, एकैछिनमा उनका श्रीमान् औषधिको बिल तिरेर आए उनलाई पनि छोरीको बाबु बनेकोमा बधाई छ भनें उनले पनि बल्लतल्ल धन्यवादसम्म भने । यता आमा छोरीहरू रोइरहँदा पनि दूध नचुसाई बसेकी थिइन् । फेरि सिस्टर आएर कराइन्, होइन ए दिदी तपाईंले किन छोरी पाएको ? छोरी रोइरहँदा पनि दूध चुसाउनुहुन्न ? के यी छोरी तपाईंकी होइनन् ? नत्र त माया हुनुपर्ने हो सिस्टर झर्केर गएपछि साथीले रिसाउँदै दूध चुसाइन् । मैले भनें-तिमी सरकारी जागिर खान्छ्यौ, पढेलेखेकी महिला हौ, स्वयं तिमी छोरी मान्छे भएर आफूले नौ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानलाई किन यति हदसम्मको विभेद गछ्र्यौ ? तिम्रा श्रीमान् पनि अधिकृत स्तरका जागिरे छन्, परिवार पनि बुझेकै छन् तर पनि छोरी भन्दैमा यति हदसम्मको विभेद त गर्न नहुने हो ।

साथी केही बोलिनन् । उनका श्रीमान्लाई भान्जाको मामा भएकोमा बधाई छ भन्दै चिनेजानेकाहरूले फोन गरिरहेका थिए, उनीहरूले आफ्नी छोरी जन्मिएको कुरा कसैलाई भनेका थिएनन्, बारम्बार भनिरहन्थे, हेर बहिनीको छोरा जन्मिएकाले सबैतिरबाट बधाईका बधाई आफ््नो पनि छोरा भइदिएको भए ....। पढेलेखेकाहरू नै छोराप्रति यति विधि लीन भएको देख्दा अचम्म लाग्नु स्वाभाविक हो, पढेलेखेकाहरू त यस्तो व्यवहार गर्छन् भने गाउँघरमा पाँच छोरीपछि एक छोरा हुनु कुन नौलो कुरा भयो र ? छोराको आशामा बहुविवाह गरेका घटनाहरू पनि नौला हुँदैनन् हाम्रो समाजमा । एकपटक फेरि साथीलाई सम्झाएँ-तिमी यति हदसम्म घटिया छौ भन्ने थाहा थिएन । अर्को जुनीमा तिमी छोरी नहुनु छोरै हुनु । उनी भन्दै थिइन्, तिम्रो पनि पालो आउँदैछ । तिमीले पनि मैले जस्तै छोरी पायौ भने यही अवस्था आउँछ, विचार गर ।

मेरो परिवारमा छोराछोरीको विभेद छैन र जन्माउने मैले हो मेरा लागि छोरा र छोरी बराबर हुन् । अरूले भन्दैमा केही फरक पर्दैन भन्ने जवाफ दिएँ । उनकी छोरी एक वर्षकी हुँदा मेरो बच्चा भयो, मैले उनलाई बच्चा जन्मनासाथ खबर गरंे, मेरो पनि बच्चा भयो उनले हतार-हतार सोधिन्, ए तिम्रो त छोरै भयो होला होइन ? फेरि अचम्म लाग्यो होइन छोरी जन्मिइन् तिमीलाई सुनाउन फोन गरेको भन्दा उनले भनिन्, ए छोरी हुँदा पनि यति खुसी, अझ छोरा भएको भए त भोजै गथ्र्यौ होला होइन ? उनलाई जवाफ दिएँ होइन-होइन मेरो छोरा नै जन्मिएको हो, यति भन्नासाथ साथी कड्किइन्, छोरा पाएको भएर पो फुर्ती लगाएकी रहेछौ, छोरी पाएको भए कहाँ फोन गथ्र्यौ र ? यति भन्दै केही नबोली फोन काटिदिइन् । सँगै पढ्ने साथीको त्यस्तो व्यवहार देखेर अचम्म मात्र होइन आश्चर्य नै लाग्यो ।

साथी भन्छिन्, 'तिमीलाई त ढुक्क भयो अब अर्को बच्चा नजन्माए पनि हुन्छ । आफूले त अर्को बच्च्ाा जन्माउनैपर्छ, अर्को बच्चा पनि छोरी नै भैदिए .....? एउटा छोरा त चाहिन्छ भन्छन् घरमा पनि ।' उनलाई जति सम्झाउँदा पनि केही सीप लागेन । उनले केवल छोराकै राग अलापिरहिन् मानौं छोरा नजन्माउँदा संसारै चल्दैन । श्रीमान्लाई भन्दा पनि उनैलाई छोरा चाहिएको जस्तो थियो । मानिस जति जान्ने-बुझ्ने भयो उति किन सन्तानमा यति धेरै विभेद गर्छन् ? आफैसँग प्रश्न गर्न मन लाग्छ । उनले छोरी जन्माउँदा र मैले छोरा जन्माउँदा के फरक छ ? आखिर सन्तान त एउटै हुनुपर्ने हो तर हुन सकिरहेकेा छैन । ती साथी त एउटी प्रतिनिधि पात्र मात्र हुन् । यस्ता उदाहरण घरैपिच्छे भेटिन्छन् । यही सहरमा देखिन्छ, सानो बच्चा देख्नासाथ एकाथरी सोध्छन् । ए, तपाईंको बच्चा भयो ? जवाफ आउँछ, बच्चा त भयो तर छोरी । छोरा र छोरीमा के फरक छ ? अवसर र सहयोग पाउने हो भने कुनै छोरा भन्दा कम हुँदैनन् आजका छोरीहरू पनि । ठूलाबडाका एक सन्तान त्यो पनि छोरी नै भएका अनेकौं उदाहरण बिर्सन्छन् शिक्षित भनाउँदाहरू ।

केही महिनाअघि माइजूसँग भेट भयो, उनले सोधिन्-तपाईं अफिस जाँदा बच्चा कसले हेर्छ त ? मैले जवाफ दिएँ । घरबाट सासू आमा आउनुभएको छ उहाँले हेर्नु्हुन्छ । उनले तत्काल जवाफ फर्काइहालिन्-ए हो र ? भान्जी, तिम्रो त पहिलो बच्चा नै छोरा भयो छोरी पाएको भए घरकाले फर्केर पनि हेर्दैनथे । छोरा पाएको भएर घरको कामै माया मारेर नाति हेर्न आइछन् हजुरआमा । मैले माइजूलाई सम्झाएँ, मेरो परिवारमा छोरा र छोरीबीच त्यस्तो विभेद छैन, मैले छोरी नै पाएकी भए पनि मेरी सासू आउनुहुन्थ्यो । उनले जिद्दी गरिन्, होइन भान्जी छोरी र छोरामा फरक पर्छ । छोरा भएकाले आएकी हुन् तिम्री सासू । मैले छोरी पाउँदा घरका कसैले फर्केर हेरेनन् । छोरा पाउँदा सासू आएर दुई महिना बसिन् । मैले जतिसुकै विमति जनाए पनि उनले आफ्नो जिद्दी छोडिनन् ।

एक्लै विचार गर्न मन लाग्यो, आखिर छोरीलाई पनि उति नै समय गर्भमा राख्नुपर्छ । माया-ममता छोरालाई जत्तिकै गर्नुपर्छ । उसैगरी हुर्काउनुपर्छ तर पनि छोरा भनेपछि किन मरिहत्ते ? यही समाजले भोलिको कुरा बिर्सन्छ, आज छोराका लागि मरिमेट्नेहरू भोलि डोकोमा बोकिएर वृद्धाश्रम पुग्नुपर्छ भन्ने कुरा बिर्सन्छन् । छोराको पछि अन्धो भक्त भएर लागिपर्नेहरूले यो धर्ती भनेकी आमा हुन् आमा पनि छोरी नै हुन् भन्ने कुरा बिर्सन्छन् । एउटी आमाले आफूले जन्माएको सन्तानलाई छोरी भएकै कारण दूध चुसाउन पनि इन्कार गर्छिन् कतिसम्मको लाजमर्दो कुरा ? हामी महिलाहरू जो आमा बन्छौं हामी स्वयं छोरी मान्छे हौं भन्ने कुरा जहिलेसम्म बोध गर्न सक्दैनौं तबसम्म छोराप्रतिको धारणामा कमी आउने छैन । 

तिमी त कस्तो भाग्यमानी भन्छन् मेरा कतिपय साथीसँग, उनलाई किन भाग्यमानी भनेको भनेर सोध्दा जवाफ आउँछ-पहिलो बच्चा नै छोरा भएकाले  के छोरी जन्माएको भए म अभागी हुन्थें त भन्दा उनीहरू केही बोल्दैनन् । आफ्नो त भाग्यमै रहेनछ छोरा पाउने भन्दै भाग्यलाई सराप्न पुग्छन् । छोरा र छोरी दुवै बराबरी भन्ने कुरा किन सुन्दैनन् सचेत र शिक्षित भनिनेहरू पनि ? सन्तान गर्भमै छँदा विभेद, जन्मिएपछि पनि विभेद, कहिलेसम्म यस्तो विभेदको सिकार भैरहने छोरीले ? बर्सेनि हजारौं छोरी संसारै देख्न नपाई मारिन्छन्, अरूको त कुरै छोडौं आमाबाट समेत अपहेलित हुन्छन् अनि कहिले होला त हामीले भन्ने गरेको महिला मुक्ति ? कहिले होला छोरा र छोरीमा समान धारणा ? अनि कहिले विकसित होला छोरी र छोरामा केही फरक पर्दैन दुवै बराबर हुन् भन्ने मानसिकता ? स्रोत-नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com