कविता "विवशी नारी कथन''


सम्पूर्ण नारीहरुलाई "नारी दिवश-२०१५''को शुभकामनासहित यो कविता समर्पित।
'' विवशी नारी कथन ''

रगत जस्तै-
रातो,साँचो र खाँचो छ भनेर
आगोको सपथ खानेको हातबाट सिन्दुरको दासत्व स्वीकार गरें मैले।

त्यही क्षणबाट नै-
म जन्मदाताबाट
रगत-नाताबाट
नमज्जाले विछोडिएँ।
त्यो सिन्दुरको नाममा
मेरो नाम हरायो
मेरो स्वर हरायो
मेरो मनोकांक्षा हरायो
म अर्धाङ्गिनी भएँ
म आईमाई भएँ
यथार्थमा
मेरो अर्को जन्म भयो।
सिन्दुर भनेको-
म बाँधिनुमा
एउटा निरंकुश शाशकले
ममाथि शाशन गर्नु रहेछ भनेर
मैले मेरो निरीहता बुझें-
म मर्नुभन्दा मारीनकै लागि हो
मैले लुटाई रहनुमा भाग्य ठान्नु पर्छ
मैले उसको पाउलाई मेरो शीर मान्नु पर्छ।
यसरी,
म उसको तृष्णामा प्यास भएर
म उसको आवश्यकतामा दासी भएर
म उसको खुशीमा हाँसो भएर
म उसको मर्यादामा सीता भएर
मात्र बाँचिरहें
मात्र बाँचिरहें ।
एकदीन,
आमाले भन्नु भो
छोरी!
म स्पष्ट बुझ्छु
सिन्दुर र तेरो कथा
फरक यति हो-
तँ सिन्दुरसँग पींडाको अनुभूति गर्छस्
म सिन्दुरभित्र उन्मुक्तिको खोजी गर्छु
सिन्दुर र रगत रातै हुन्छ
सिउँदो रंगाउने हात पो पापी हुन्छ
मैले सोधें-
आमा!
के अब म त्यो पापी हात काटीदिउँ त?
आमा अनुत्तरीत हिड्नु भो
मलाई छाडेर
तर मैले यो कथाको अन्त्य गर्नु'छ।
किनकी,
बारम्बार नबल्झोस
कतै पनि
सिन्दुर र मेरो कथा।

बज्र कुमार थुलुङ्ग राई
हङकङ


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com