साहसिक 'लिडर' महिला

काठमान्डू फागुन २८,

सिंगो परिवारको उपार्जनको लागि महिलाको आर्थिक गतिविधि अब एकाध घर–घरानामा सीमित रहेन। देश–विदेशमा छरिएका नेपालभरका महिला अहिले आर्थिक उपार्जनमा क्रियाशील छन्। 

उनीहरूले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा पहुँच बढाएका छन्। नेपाली महिलाको यस्तो सशक्तीकरणको ढोका अघिल्लै पुस्ताका जुझारु महिलाहरूले खोलेका हुन्। उनीहरूका उस्तै साहसी उत्तराधिकारीहरूले अभियानलाई गति दिएका छन्। चेलीबेटी बेचबिखन विरुद्ध सन् १९८७ मा स्थापित ‘एबीसी नेपाल’ की संस्थापक दुर्गा घिमिरे आफ्नो क्षेत्रकी लीडर हुन्। उनको समयमा छोरीचेलीलाई सानै उमेरमा विवाह गरिदिने चलन थियो। 

उनलाई पनि बिहेको दबाब आयो। तर, विद्रोह गरेर पढाइ सकेर जागिर थालेपछि मात्रै विवाह गरेको दुर्गा सम्झिन्छिन्। त्यो बेला नेपालमा महिला बेचबिखन हुन्थ्यो, तर त्यस विरुद्ध आवाज उठाउने आँट कमैले गर्थे। मान्छेहरू दुर्गालाई त्यस्तो अप्ठ्यारो विषयमा नबोल, हात नहाल भन्दै सम्झाउन खोज्थे। “१९९६ मा बम्बईमा बेचिएका नेपाली केटीहरूको उद्धार गर्छु भन्दा नसकिने काम भन्दै धेरै जना पन्छिए”, दुर्गा भन्छिन्, “१२५ युवती फिर्ता ल्याएपछि मात्र मलाई पत्याउन थाले।” दृढता, लगन र निरन्तरताले उनलाई आज यो ठाउँमा ल्याइपुर्‍याएको छ। 

फरक क्षेत्रमा दुर्गाकै जस्तो निरन्तर संघर्ष गरेकी चित्रकार रागिनी उपाध्याय अहिले ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति छिन्। नेपालको पहिलो महिला कुलपति उनी आज आफ्नो क्षेत्रकी ‘अथोरिटी’ नै हुन्। “पुरुषप्रधान समाजमा महिलाले हन्डर त खानैपर्छ”, रागिनी भन्छिन्। घरपरिवारले नै महिलाबाट बढी अपेक्षा राख्ने हुँदा यहाँ अगाडि बढ्न चाहने महिलाले ‘सुपर–वुमन’ बन्न सक्नुपर्ने सामाजिक अभियन्ता चाँदनी जोशीको अनुभव छ। 
महिलाले पुरुष समकक्षीले भन्दा दुई गुणा बढी खटिनुपर्छ। उनका अनुसार, नेपाली पुरुष मानसिकतामा महिला भनेका ‘होम–मेकर’ हुन्, ‘डिसिजन–मेकर’ होइनन्। त्यसैले, महिलालाई गम्भीरतापूर्वक लिइँदैन, क्षमतामा अविश्वास गरिन्छ। “यस्तोमा आफूलाई प्रमाणित गर्न पनि महिलाले पुरुष समकक्षीले भन्दा बढी मिहिनेत गर्नुपर्छ”, चाँदनी भन्छिन्। निजामती सेवामा सह–सचिव रहेकी जीवनप्रभा लामा महिलालाई कम आँक्ने नेपाली प्रवृत्ति देखेर कहिलेकाहीं हैरान हुन्छिन्। अहिले राष्ट्रिय सूचना आयोगकी कामु सचिव उनी यही प्रवृत्तिका कारण निकै कम महिला नेतृत्व तहमा पुगेको बताउँछिन्। 

हुन पनि, निजामती सेवामा वृन्दा हाडापछि कुनै महिला सचिव स्तरमा पुग्न सकेका छैनन्। यस पटकको दाबेदार जीवन प्रभालाई नै पनि बढुवामा पारिएन। “अहिले तल्लोस्तरमा चाहिं महिलाका लागि थुप्रै बाटा खोलिएका छन्”, उनी भन्छिन्, “नेतृत्वमा भने महिला राख्न अझै अन्कनाइँदैछ।” चित्रकार रागिनी आफूले नेपाली महिलाको कुलपति हुने बाटो खोलेको बताउँछिन्। यसअघि उनले विधि लागू नभएको भन्दै प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ पदबाट राजीनामा दिएकी थिइन्। 

खुट्टा तान्नेहरूदेखि भने उनी अहिले पनि आजित छिन्। “महिलालाई जहिले पनि चुनौती नै हुँदोरहेछ”, उनी भन्छिन्, “तर, म दृढ भएर लागिपरेकी छु, नीति–नियमका कुरामा कडा हुन डराउँदिनँ।” यी प्रतिनिधि महिलाहरू लिंगकै आधारमा आफूलाई कमजोर वा अक्षम ठान्दैनन्। न त त्यस्तो सोचको अगाडि हात उठाउँछन्। शिक्षा र असल संस्कार छ भने कोही फितलो नहुने बताउँछिन्, साहित्यकार शारदा शर्मा। उनको विचारमा, नारी–पुरुष बराबर शक्तिसम्पन्न भएको समाज स्वस्थ र सभ्य हो भने विभेद भएको समाज रोगी, रुग्ण र दुःखी। शारदा भन्छिन्, “नेपाली समाज विस्तारै सुधि्रंदै आएको छ।” 
माथि नै भनियो, यी महिलाहरू नेपाली समाजका प्रतिनिधि लीडर हुन्। चूलोचौकामै सीमित हुनुपर्ने जमानामा जन्मिएका उनीहरू आ–आफ्नो व्यावसायिक क्षेत्रमा डटेर स्थापित भए। पुरुष मात्रै ‘अथोरिटी’ हुने नेपाली समाजमा आज यी महिलाहरू आ–आफ्ना क्षेत्रका आधिकारिक व्यक्तित्व हुन्। 

यिनमा सर्वोच्च अदालतकी न्यायाधीश सुशीला कार्की र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालादेखि संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्ती, तिलगंगा आँखा अस्पतालकी डा. रीता गुरुङ, समाजसेवी अंगूरबाबा जोशी, पूर्व डीआईजी पार्वती थापा, क्रिकेट एसोसिएसन अफ नेपालकी भावना घिमिरे, एसपी मीरा चौधरी, डा. दिव्या सिंह शाह, ब्यांकर रभिना देसराजसम्मका महिला छन्। यो सूची निकै बन्छ। परोपकारमुखी गैर–सरकारी क्षेत्रको नेतृत्वमा त बोलवाला नै कायम गरेका नेपाली महिलाले सरकारी वा अर्धसरकारी निकायको उपल्लो तहमा भने छेकथुनकै अनुभव गरेका छन्।

सजना बराल , 
साभार; हिमाल खबर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com