१३ बर्ष हुँदा युद्धमा होमिएकि टीका गोलि लागेपछि पाटीले बेवास्ता गर्यो भन्छिन

काठमान्डू फागुन २६,

पाँचथर (रवि) : 'दायाँ छातीमा गोली लागेको छ। हातखुट्टाका हड्डी भाँचिएका छन्। करङ भाँचिएका छन्', माओवादी युद्धका बेला चार वर्षसम्म राइफल र बम बोकेकी पाँचथर रवि ९ थामथुमकी टीका बस्नेतले पीडा पोखिन्।
तेह्र वर्षको उमेरमा २०५९ सालमा माओवादी कार्यकर्ताको आस र त्रासमा युद्धमा होमिएकी टीका अहिले युद्धको चोट खपेर विगतसँग पछुताउँदै छिन्। माओवादी युद्धले कालो भविष्यमात्र दिएको उनको ठम्याइ छ। 'पढाइ गुमाएँ। गरिखाने समयमा अर्काको भरमा बाँच्नुपरेको छ', उनको गुनासो छ।
'द्वन्द्व चर्केका बेला माओवादी कार्यकर्ता दिनहुँ घरमा आउँथे। परिवर्तनका कुरा गर्थे। युद्धमा सहभागी नहुनेलाई वर्गशत्रु ठान्थे। खुट्टा लागेका जतिलाई उनीहरू आफ्नै बाटोमा लैजान चाहन्थे। 
फकाउँदा भएन भने थर्काएर भने पनि मोर्चामा सहभागी गराउने लहर चलेको थियो', उनले स्मरण गरिन्। त्यही भुंग्रोमा परिन् १३ वर्षकी टीका पनि। स्थानीय आरुबोटे उच्चमाविमा कक्षा सातमा पढ्ने बस्नेतले पुस्तक थन्क्याइन् र युद्धको बाटो समातिन्।
उनका लागि त्यो रहर थिएन। दाजुभाइ नभए पनि पढेर बाबुआमाको सहारा बन्ने सपना थियो उनको। 'युद्ध जितेपछि गरिबका दिन फर्कने सपना बाँडिएको थियो', बस्नेतले भनिन्, 'युद्धपछि त्यो सपना थोरै पनि पूरा भएन।'
 जाँडको भाँडा घोप्ट्याउनेहरू नै लुकीलुकी जाँडमा पौडी खेल्थे', बस्नेतले रहस्य खोल्दै भनिन्, 'ती दृश्यले युद्धका नारा कोरा हुन् भन्ने लागिसकेको थियो।'
माओवादी कार्यकर्ताले मानिसलाई जिउँदै गाडेको देखेपछि 'सर्वहारा वर्गको युद्धमा खोट छ' भन्ने उनलाई लागिसकेको थियो। युद्धपछि सोझा लडाकुलाई सडकमै छाडेपछि 'खोट' प्रमाणित भयो।
बारुद र गोलामा टेकेर दिन बिताएको सम्झना उनको स्मरणमा ताजै छ। उनले भनिन्, 'पार्टीले प्रयोग गरेर अहिले सडकमा छाड्यो', उनले थपिन्, 'नागरिक छट्पटाउँदा न राज्यले हे:यो, न त पार्टीले नै।'
युद्धकालमा सबैतिर 'फिट' बस्नेत घाइते भएपछि सबैको दृष्टिबाट टाढा भइन्। उनीपछि युद्धमा लागेकाहरूले राहत पाए। तर उनलाई केही हात परेन। 'युद्ध लडेकाहरू क्यान्टोनमेन्टबाट बाहिरिए। 
अवसरवादीले सुविधा लिए', उनको ठम्याइ छ। गोली लागेकी टीकाको शिविरमा बस्ने अवस्था रहेन। कम्पनीलाई सबै विवरण बुझाएर उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर गइन् उनी। 
उनको हात र खुट्टा काम नलाग्ने बन्दै गएको थियो। इलामको चुलाचुलीमा रहेको हेटक्वार्टरमा तीनवटा प्रमाणीकरणको प्रक्रियामा उनी सफल भएकी थिइन्। चुलाचुलीका कमान्डर परवानाले आफूलाई सुविधा दिलाउने आश्वासन दिए पनि त्यसपछि नसम्झेको उनको गुनासो छ। 
अन्तिम प्रमाणीकरणका बेला पार्टीले पनि बोलाएन। उनी छुटिन्। धेरै प्रयास गर्दा पनि उनी लडाकु भएको प्रमाण पुगेन। पार्टीले कागजात नपुगेको जबाफ दियो। उनले भनिन्, 'पार्टीले त बोलेर पनि सहयोग गरेन।'
उनका अनुसार युद्ध लड्ने सयौं लडाकुको अवस्था आफ्नोजस्तै छ। 'लडाइँ लड्ने भन्दा पनि टाउको गनेर संख्या पु:याउन शिविरमा लगिएका नक्कली लडाकुले मात्र सेवा पाए', बस्नेतले भनिन्, 'घाइते र अपांग मरेकै छन्।'
बन्दीपुर, भोजपुर र इलाम सदरमुकामको युद्धमा इन्सास राइफल बोकेर अग्रमोर्चामा उभिएकी बस्नेतलाई नौ वर्षअघि २०६२ फागुन २१ गते इलाममा गोली लागेको हो। 
उनको दायाँ छातीमा गोली लाग्यो। बमको धमाकाले उनलाई उडायो। 'ज्वालामुखी फुटेजस्तै भयो। टाउकोदेखि खुट्टासम्म छताछुल्ल भयो। ६ महिनासम्म होस आएन। डाक्टरले पागल हुन्छे भनेका थिए। भाग्यले त्यस्तो भएन', उनले विगत सम्झिइन्। 
उनले बच्नका लागि चार लाख खर्च गरिसकिन् तर काम लागेन। जाडोमा कपडासमेत अरूले धोइदिनुपर्छ। 'अब खर्च गर्न सक्दिनँ। मर्ने दिन कुरेर बस्दैछु', उनले भनिन्।
युद्धको 'स्कुलिङ' नसम्झाउन उनले आग्रह गरिन्। अपांग भएपछि उनलाई पतिले समेत छाडिदिए। ६ वर्षकी छोरीलाई हुर्काएर माइतमै दिन काट्दैछिन् उनी। उनले सुनाइन्, 'गाउँगाउँमा शरीरमा गोली बोकेका युवा सयौं छन्। उनीहरूको योगदानलाई पार्टीले भुल्यो।'
'यस्तै हो भने युद्धपछि बिर्सेका योद्धाले नेताको कठालो समात्न बेर लगाउँदैनन्', उनले भनिन्। शान्ति स्थापनापछि बाठाहरू सहर पसेको र गरिब, निमुखा कार्यकर्ताको बिजोक नहेरेको उनको भनाइ छ। 
नेताहरू कुर्सीको लडाइँमा जुहारी खेलिरहँदा युद्धको चोट बोकेर बसेकी बस्नेतमा आक्रोशको पहाड चुलिएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको सरकारले समेत आफूलाई नहेरेको गुनासो उनले गरिन्। 
उनले भनिन्, 'पार्टी विभाजन गर्नेहरू, १६ हजार सहिदको रगत पनि बाँडेर देखाऊ। अन्यायका विरुद्ध लड्छु भन्ने गर्थे तर त्यो त मागीखाने भाँडो मात्र रहेछ।' _ तोयानाथ भट्टराई, साभार-अन्नपूर्णपोस्ट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com