स्वाइन फ्लुका कारण एक महिलाको मृत्यु

काठमान्डू फागुन १७,

स्वाइन फ्लुका कारण काठमाडौंको मोडेल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । १७ फागुनमा मृत्यु भएकी ती महिलाको नाम अस्पतालले सार्वजनिक गरेको छैन । 

दम तथा निमोनियाबाट ग्रसित भई उनी एक साताअघि अस्पताल भर्ना भएकी थिइन् । उनलाई स्वाइन फ्लु भएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको थियो । अस्पतालका निर्देशक प्रा डा भरत प्रधानले ती महिलाको थप उपचारका लागि नमुना परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा स्वाइन फ्लु देखिएको जानकारी दिए । 

नेपालमा यस वर्ष स्वाइन फ्लुका कारण मृत्यु भएको यो पहिलो घटना हो । हालसम्म कति जनामा स्वाइन फ्लु देखियो भन्ने आधिकारिक जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीलाई यसबारेमा सम्पर्क गर्न खोज्दा दिनभर उनको मोबाइल बन्द रहेको थियो भने प्रयोगशालाका निर्देशक डा गीता शाक्यले भने सो विषयमा कुराकानी गर्न चाहिनन् । 

मोडेल अस्पतालका निर्देशक डा प्रधानले भने, “मृत्यु भएकी महिला (करिब ५० वर्षकी) नियमित उपचारमा थिइन्, उपचारका क्रममा सुधारोन्मुख नभएपछि थप परीक्षण गर्दा उनमा स्वाइन फ्लुको सङ्क्रमण पाइयो र यसैका कारण मृत्यु भयो ।” पन्ध्र बढी सङ्क्रमित देशभर चिसो बढेसँगै स्वाइन फ्लुको सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार हालसम्म सो रोगबाट १५ जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । 

विशेष गरी जाडाको समय सकिने र गर्मीयाम शुरु हुने समयमा स्वाइन फ्लु देखापर्छ । भारतमा स्वाइन फ्लुका कारण हालसम्म ८०० को मृत्यु भइसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सङ्क्रमण भइसकेको प्रमाणित भइसकेको छ । सङ्क्रमितका लागि सरकारले निःशुल्क रूपमा औषधिको व्यवस्था गरेको छ । हालसम्म इपिडिमियोलोजी महाशाखाबाट कतिजनाले सो औषधि लिएर गए भन्ने जानकारी पनि सार्वजनिक गरिएको छैन । 

विभागले नेपाल भित्रिने भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ । साथै आफू मातहतका सबै अस्पताललाई छुट्टै बिरामी राख्ने कोठाको व्यवस्था गर्न विभागले निर्देशन दिइसकेको छ । साधारण रुघाखोकी जस्तै नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नु जस्ता लक्षण सो रोगमा देखिन्छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com