४० प्रतिशत व्यवसायी विद्युतीय तराजु प्रयोग गर्छन I

बेलौरी (कञ्चनपुर), २२ माघ ,

महेन्द्रनगरका ४० प्रतिशत व्यवसायी (इलेक्ट्रोनिक ढक) विद्युतीय तराजु प्रयोग गरिरहेका छन् । व्यवसायमा सहजता ल्याउनका लागि महेन्द्रनगरका ४० प्रतिशत व्यवसायी (इलेक्ट्रोनिक ढक) विद्युतीय तराजु प्रयोग गरिरहेका हुन् । 

महेन्द्रनगरका व्यापारीले ४० प्रतिशत विद्युतीय तराजुको प्रयोग गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले जनाएको छ । क्षेत्रीय कार्यालय धनगढीले महेन्द्रनगरमा आयोजना गरेको ढक, तराजुको गुणस्तर नापतौल घुम्ती शिविरमा ढक तराजु नवीकरण गर्न आएकामध्ये ४० प्रतिशत व्यवसायीले विद्युतीय तराजु प्रयोग गर्दै आएको पाइएको नापतौलका सहायक निरीक्षक तथा टोली प्रमुख दुर्गाप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

रेग्मीका अनुसार हालसम्म १७२ व्यवसायीले आफूले प्रयोग गर्दै आएका ढक, तराजुमध्ये ७० व्यवसायीले विद्युतीय ढक प्रयोग गरेका छन् । दैनिक कामकाजमा विद्युतीय तराजुको प्रयोग गर्न सहजता भएका कारण साना व्यवसायीले सो तराजु प्रयोग गर्ने गरेको सहायक रेग्मीको भनाइ छ । 

पछिल्ला वर्षहरुमा व्यवसायीले विद्युतीय तराजुको प्रयोग बढाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले जनाएको छ । नापतौलका क्रममा ढक र तराजुमा मापदण्डभन्दा बढी कमबेसी तौल भेटिएको निरीक्षक रेग्मीले बताउनुभयो । “प्रत्येक वर्ष ढक तराजुको फलाम खिइँदै जान्छ, त्यसैले नापतौल गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

घुम्ती शिविरमा कम तौल भएका ढक तराजुमा थप गरिन्छ भने बढी तौल भएका ढकहरुमा घटाइने सहायक रेग्मीले बताउनुभयो । यस वर्ष २० जना व्यवसायीलाई नयाँ अनुमतिपत्र वितरणसमेत गरिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले जनाएको छ । नापतौलमा एकरुपता ल्याउने उद्देश्यले हरेक वर्ष नापतौल विभागले ठूला काँटा एक वर्ष र साना दुई वर्षमा नवीकरण गर्दछ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com