मानव बेचबिखनको दु:खद् पाटो I

२०४६ सालमा प्रजातन्त्रको प्राप्तिसँगै महिलाको स्थानागमन बढ्यो र मानव बेचबिखनको तथ्यांक बढ्न पुग्यो । मानव बेचबिखन महिलाहरूको मात्र मुद्दा होइन यो राजनीतिक मुद्दा हो र मानव बेचबिखनलाई बुझ्न यो विषयमा सम्पूर्ण अध्ययन गर्नुपर्छ । धर्म, कला, संस्कृति, आर्थिक, राजनीतिक, भौगोलिक आदि कारणले मानव बेचबिखनलाई प्रश्रय मिलिरहेकोे पाइन्छ । 

विशेषगरी ब्राह्मण, क्षेत्री एवं धनी परिवारका भन्दा गरिब, अशिक्षित तथा जनजाति परिवारका किशोरी तथा महिलाहरू बढी बेचबिखनमा परेका छन् । तामाङ, मगरजस्ता जनजाति, दलित आदिवासी नै किन मानव बेचबिखनको उच्च चपेटामा छन् त ? उत्तर धेरै हुनसक्छन् तर मुख्य कुरा असमान वितरणका कारण सिर्जित गरिबी नै हो । गरिबीका कारणले त्यो वर्ग राज्यका हरेक सुविधाबाट वञ्चित रहन्छ । उनीहरू पहिलो वर्गका घरमा कामदार हुन पुग्छन् र सताइन्छन्, मानसिक एवं शारीरिक दुव्र्यवहार खप्न बाध्य हुन्छन् । अर्कातर्फ धर्मले यही वर्गलाई झुमा, देउकी एवं बाँधा बनाउँछ साथै हरैया, कमैया, कमलरीका नाममा शोषण चरमसीमामा पुग्छ र मलजल लाग्छ, मानव बेचबिखनलाई । 

 मानव बेचबिखनको चर्चा गाउँ-गाउँमा चुलिन थाले पनि स्थानीय जीवन अन्योलग्रस्त छ र पीडामा पिल्सिरहेको छ । नेपालका दुर्गम ग्रामीण बस्तीमा पुग्दा श्रीमान्बाट यातना खेप्ने श्रीमतीका मुखबाट यस्तासँग बस्नुभन्दा त बरु बम्बईको कोठीमा जीवन बिताउनु राम्रो हुन्थ्यो भन्ने भनाइ सुन्न पाइनु सामान्य हो । यसबाट मानव बेचबिखनको जरो महिला हिंसा पनि हो भनेर बुझ्न सकिन्छ । वैदेशिक रोजगारीमा जाने सबै मानव बेचबिखनमा पर्छन् वा परेका छन् भन्ने होइन तर अहिले वैदेशिक रोजगारीका कारण पनि मानव बेचबिखनको तथ्यांक बढिरहेको छ । 

मानव बेचबिखनको वर्तमान स्वरूप

आज पनि एउटी गाउँकी किशोरी विवाह गरेर वा प्रेमजालमा परेर सहर आउँछे र उसलाई विभिन्न बहानामा मुम्बई -बम्बई) पुर्‍याइन्छ । एउटी गरिब घरकी छोरी द्वन्द्वका कारण सबै कुरा गुमाएपछि कामको खोजीमा सहर आउँछे, काम नपाएपछि पेट पाल्न रेस्टुराँ, बार आदि मनोरञ्जनका क्षेत्रमा काम गर्ने निर्णय गर्छे वा कसैले फकाएर त्यहाँ काम लगाइदिन्छ । विभिन्न शोषण र हिंसा खप्नु उसको दैनिकी बन्छ । पैसा कमाएर घरका लागि केही गरौंला भन्ने आशामा कहिल्यै सदरमुकामसम्म नदेखेकी किशोरीका बाबुलाई दलाल (आफन्त, स्थानीय वा जोकोही) ले फकाएर उमेर बढाउन लगाई पासपोर्ट बनाएर विदेश पठाइदिन्छ, तर कुन देश र के कामका लागि पठाइएको हो कसैलाई थाहा हुँदैन । स्वयं परिवार र जाने युवतीहरू पनि अनभिज्ञ हुन्छन् । 

वैदेशिक रोजगारीमा जानेहरूमध्ये कतिपय अंगभंग भएर, विभिन्न सजाय पाएर तथा बच्चाकी आमा बनेर र्फकनुपरेको अवस्था पनि छ । आजका दिनमा महिलाहरूको श्रमका लागि, यौन प्रयोजनले तथा अंग झिक्ने अभिप्रायले बेचबिखन भैरहेको छ । समस्या जहाँको त्यहीँ छ वा कम भयो वा अझ व्यापक भयो जे भने पनि स्थिति सन्तोषजनक पक्कै छैन । अझै पनि यस्ता बस्ती छन् जहाँ अगेनामा बलिरहेको आगोको न्यानो हुन्जेल उनीहरू सुत्न सक्छन्, यो गरिबी होइन गरिबीभन्दा धेरै तलको अवस्था हो । ती गाउँमा मानव बेचबिखनविरुद्ध चेतना जगाएर पनि समस्या समाधान हुनेवाला छैन जबसम्म विकल्प निस्कदैन अवस्था उस्तै रहन्छ र बाध्यतामा परिवारले नै आफ्ना सन्तानको भविष्यमाथि प्रश्नचिन्ह लगाउनुपर्ने बाध्यता कायम रहनेछ । 

 ओरेकको तथ्यांक (२०७० फागुन) अनुसार महिलाहरू एक महिनामा ३ सय ८० हिंसा, २ सय ३ घरेलु हिंसा, ४६ बलात्कार, ४ बेचबिखन, १९ बेचबिखनको प्रयास, ४५ सामाजिक हिंसा, १८ आत्महत्या तथा ४ यौन दुव्र्यवहारको सिकार हुने गरेका छन् । 

आज सुनीता दनुवार, चरिमाया तामाङजस्ता बेचबिखन प्रभावित दुई-चार जना महिलाले खुलेर बोल्न थालेका छन्, वकालत गर्न थालेका छन् तर यो अपर्याप्त छ । नारकीय जीवन बिताउन बाध्य महिलाको उद्धारका लागि अन्तरदेशीय प्रोटोकल व्यवस्थित हुनु जरुरी छ भने स्वदेश र्फकन सफल भएका प्रभावितहरूले आफू बेचिएकै कारणले पुन: लाञ्छना, हिंसा खेप्नु परिरहेको कारणले प्रभावित महिला समाजसँग त परै जाओस्, परिवार र आफैसँग समेत समस्या लुकाएर बस्नुपर्ने बाध्यता छ । उनीहरू पीडकलाई कारबाही गराउनेतर्फ सोच्नसम्म पनि सक्दैनन्, फलस्वरूप पीडकलाई थप हौसला मिल्छ तथा बेचबिखन प्रभावितको आर्थिक, सामाजिक, स्वास्थ्य एवं कानुनी स्थिति अझ दयनीय बन्छ तसर्थ बेचबिखन रोक्न तथा राहतका निम्ति नीति निर्माणसँगै, उनीहरूको आवश्यकता पहिचान गरेर अर्थपूर्ण कार्यक्रम ल्याइनु जरुरी छ । नारीबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com