विष्णु गौतम : हामीलाई हाम्रो नेपाल राम्रो लाग्छ,आफ्नो जन्मभुमि भएको हुनाले सदैव यस प्रति गौरव गर्दछौ । संसारका थुप्रै देशहरुको तुलनामा नेपाल सुन्दर पनि छ र यसलाई भौगोलिक रुपमा मात्र सुन्दर नराखी , यहाँ रहेको अथाह श्रोतको उपयोग गरी भौतिक रुपमा पनि समुन्नत र सम्वृद्ध बनाउने सपना पनि हामीले देखेका छौ ।
तर हाम्रो देश भित्र विभिन्न कालखण्डमा घटिरहने घटनाक्रम, परिस्थिती र परिवेशले हामीलाई समुन्नतितर्फ लम्कन अबरोध पुर्याइरहेको छ। हामीभित्र रहेका हरेक योजनाहरु खेर गएकाछन भने कामगर्ने जोश ,जागर सबै निस्तेज बनेको छ। फलत: यति धेरै प्राकृतिक श्रोत भएको देशबाट रोजगारीकै निम्ती नेपालीयुवाहरु दैनिक १६ सयको हाराहारीमा मरुभूमिमा पुगेर श्रम बेच्न बाध्य छन ।
उत्तर देखी दक्षिणसम्म हिमाल,पहाड,तराई लहरै रहेको प्राकृतिकरुपमा असाध्यै धनी मुलुकबाट यसरी गाँस ,बास र कपासकैलागी दैनिक ठुलो युवाशक्ती बाहिरिनु हाम्रो राष्ट्रियतामाथीनै परेको ठुलो असर हो। देश संचालन गर्न यसभित्र रहेका श्रोत,साधन र युवा शक्तिलाई समेटेर नीति बनाउनु पर्छ, तर यहाँ यसो गरिदैन र बनेका नीतिलाई समेत लागु गरेको देखिदैन ।
तापनि यतिबेला नेपालमा राजनीतिक परिवर्तन संगै जाती ,धर्म ,लिङ्ग तथा बर्गीय अधिकारको सुनिश्चितता सहितको संविधान निर्माणको क्रम जारी छ। लोकतान्त्रिक विधिअनुसार राजनीतिकदल लगायत विभिन्न संगठनबीच बृहत बहस/छलफल हुने क्रमसंगै एकदिन हामी सबैले चाहेको संबिधान आउनेनैछ भन्ने बिश्वास लिएका छौं । हाल यहाँ संक्रमणकालिन अवस्था भएको हुनाले एकदमै संवेदनशील हुनु पनि जरुरी छ नत्र प्रशस्तै अवसरवादीहरुले धमिलो पानीमा माछा मार्न खोजिरहने क्रम जारी रहन्छ ।
यो सत्य हो , जन्मेर सबै मर्छन, मरेर सबै अमर बन्न सक्दैनन् ! तर हामीबाट गरिने पवित्र कर्म , देशप्रेम ,समाजप्रतिको उत्तरदायित्व तथा प्रकृति ,मानव तथा वातावरणका लागि गरिने सुकर्म अनि आफ्नो गच्छे अनुसार समाज र राष्ट्रलाई गरिने योगदानबाट मात्रै हामी मरेर गए पनि अमर बन्न सक्छौं । हाम्रो देशलाई सम्बृद्ध बनाउने काम हामीलेनै गर्ने हो,अरुले गरिदेला भन्ने आशले परिवर्तन हुनेवाला छैन ।
हाम्रो समाजमा केही ठुला-ठुला कुरा गर्ने तर व्यवहारमा सधै नकारात्मक प्रभाव पर्ने क्रियाकलाप गर्ने प्रशस्तै कुपात्रहरु पनि छन, यिनीहरुको मोहजालमा परेर सधै आशामुखी हुनेगर्दा परनिर्भरता बढ्नगई ,समग्र राष्ट्रलाई ठुलो नोक्सान परिरहेको छ भने अर्कोतर्फ आफ्नो समाजमा केहि आपतविपत पर्दा सानातिना योगदान गरी थुप्रै जीवन सहज बनाउनुहुने सुपात्रहरु पनि प्रशस्तै हुनुहुन्छ । उहाँहरुका सुकर्मले आजका यो संक्रमणकालिन अवस्थामा ठुलो भूमिका खेलेको छ।
देशभित्र होस् वा संसारको जुनसुकै कुनामा रहे पनि देशमा कोही/कहिँ /केही विपति पर्दा मन दु:ख्ने परोपकारीहरुको यदाकदा बाहेक खासै चर्चा भएको पाइदैन। अब राम्रो कामको सर्वत्र चर्चा हुनुपर्छ र उहाँहरुले गरेको योगदानले समाज र राष्ट्र रुपान्तरणकालागी परेको सकारात्मक प्रभाव अनि परिवर्तित भएका जीवनका कथाहरु सुनिनु पर्छ/देखिनु पर्छ/पढीनुपर्छ भने सबैलाई हामीले सम्मान दिन र उहांहरु प्रति गर्व गर्न पाउनु पर्छ।
यसरी समाजमा गरिने पवित्र कर्महरु र त्यसबाट रुपान्तरित जीवनका उपलब्धीहरुको संकलन गरी सबैसामु पुर्याउने जमर्कोस्वरुप हामीले thebetternepal.com नामक अनलाइन पत्रिका सुरु गरेका छौ। यसले समाजमा भएगरेका सकारात्मक समाचार /सन्देश तथा विपतमा परेका दु:खीमनहरुको याचना आदि प्रकाशन गरी सहयोगी मनहरु र याचक बीच पुलको रुपमा काम गर्ने छ।
स्वच्छ र पवित्र मनले गरेको सकारात्मक अभियानलाई उर्जा थप्न र धेरै दयालु मनहरु को सम्मानकालागी हामीले यो सत्प्रयास गरेका छौ। समाजलाई समुन्नत र सम्वृद्ध बनाउन सुकर्म गर्ने पवित्र मनहरुलाई हौसला बढाउने उद्देश्यले र उहाँहरुका योगदानका प्रभावले, सहज बनेका जीवन र हासिल हुन पुगेका समाजिक उपलब्धिहरुलाई सबै सामु पुर्याउने हाम्रो प्रतिवद्धता रहेको छ । स्वदेश होस् वा विदेशमा बसेर समाज रुपान्तरण गर्ने अभियानलाई उजागर गर्ने अभियन्तालाई उत्प्रेरणा जगाउने हाम्रो यो यात्रामा सबैको सहयोग, सल्लाह र सुुझावको अपेक्षा गरेका छौ ।
नोट:-यो अन लाईन साईट विधिवत रुपमा फाल्गुन ७ गते देखी संचालन गरिनेछ । यहाँ नजिक भएका समाचार , सेवा गर्दाको खुसी ,त्यसले परेको सकारात्मक प्रभाव , विचार आदि समेटेर लेखि पठाई समाज रुपान्तारंकालागी भएगरेका कर्महरूलाई प्रस्तुत सहयोग गर्दछौं।