बालविवाहविरुद्ध यसरि चेतना जगाउँदै I

लहान, माघ २० ,

विवाहबारे जानकारी नहुँदै १४ वर्षमै सिरहा भदैयाकी शान्तिदेवी सदाय मुसहरलाई अभिभावकले अन्माएर पठायो । माइतीघर गोविन्दपुर मलहन्वाले उनलाई १४ वर्षसम्म मात्र हुर्किने अवसर दियो । त्यसपछि उनी पराया घरमा संघर्ष गर्न बाध्य भइन् ।

२०५३ सालमा आफूभन्दा दुई वर्ष जेठा भदैयाका मागैन सदायसँग उनको मागी विवाह भएको थियो । विवाहको दुई वर्षमै १६ वर्ष पुग्दा उनले छोरी सरिता जन्माइन् । 'कलिलै उमेरमा बुहार्तन र बच्चा स्याहार गर्नुपर्‍यो,' शान्तिदेवीले भनिन्, 'सुत्केरी अवस्थामा समेत जनवन -ज्याला मजदुरी) मा खट्नुपर्दा स्वास्थ्य नराम्ररी बिगि्रयो ।'

एकातिर विवाहबारे थाहा नहुँदै सिउँदो रंगाउनुपर्‍यो भने अर्कातिर शारीरिक रूपमा तयार नहुँदै सुत्केरी र कामको बोझ सहनु पर्दा जीवनमै ठूलो मानसिक तनाव खेपेकी शान्ति सदाय मुसहरमा दलित समुदायमा बालविवाह चलनप्रति नकारात्मक छाप पर्‍यो । 

त्यही छाप मस्तिष्कमा रहिरहेकै बेला दलित सशक्तीकरणका लागि एक्सन एडको सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लबले टोलमा रेफ्लेक्ट कक्षा सञ्चालन गरेपछि दलित समुदायमा बालविवाह चलन सदाका लागि हटाउने अठोट गरिन् । 

शान्ति भन्छिन्, 'कक्षामा सामेल महिलालाई संगठित गरी बालविवाह विरुद्ध अभियान सञ्चालन गर्‍यौं, महिलामा बचत गर्ने बानीको विकास गरी आयआर्जनमा समेत अग्रसर भयौं ।'

शान्ति मात्रै होइन, बालविवाह विरुद्ध अभियानमा सिरहा, ढोढना विरनगरकी २४ वर्षीया रीता दास पनि सक्रिय छिन् । १५ वर्षको उमेरमै बालविवाह भोगेकी उनले आफ्ना र समुदायका बालबच्चाले आफूले जस्तै नियति भोग्न नपरोस् भनेर खबरदारीमा लागिपरेको सुनाइन् । २४ वर्षकै उमेर ३ छोरी र १ छोरा जन्माइसकेकी उनले बालविवाहकै कारण शारीरिक रूपमा दुर्बल भएको दुःखेसो पोखिन् । भरत जर्घामगर-इकान्तिपुर :

बालविवाह कानुनविपरीत हो भन्दै उनी सक्रिय रूपमा लागिपरेकी छन् । शान्ति र रीता मात्र होइन, अहिले बालविवाह र सामाजिक कुरीतिविरुद्ध २०६५ सालमा दलित जागरण महिला सशक्तीकरण समूह गठन गरी २२ महिला सक्रिय छन् ।

'मुसहर, डोम, मेस्तर, तत्मालगायत दलित समुदायमा बालविवाह गर्ने प्रचलन बढ्दो थियो,' समूहकी सचिव विमला दासले भनिन्, 'त्यसको मार हाम्रो पुस्ताले भोग्यौं, कानुनी र शारीरिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्ने भोगेका हामीले यो विरुद्धको अभियान नै चलायौं, जसले गर्दा बालविवाह रोकियो ।' बालविवाह गर्नुभन्दा शिक्षा दिनुपर्छ भनी हिंड्दा अवरोधसमेत भएको स्मरण गर्दै उनी भन्छिन्, 'हिले गाउँकै पुरुष महिलाको सक्रियता राम्रो रहेछ भन्न थालेका छन् ।' 

विरनगरकै बद्री दास महिला अभियानपछि बालविवाह रोकिएको बताउँछन् । त्यति मात्र होइन, महिला हस्तक्षेपपछि सामाजिक कार्य र सामाजिक कुरीतिसमेत न्यूनीकरण भएको उनले सुनाए । 

दलित जनकल्याण युवा क्लब अध्यक्ष उमेश बिसुन्केले सशक्तीकरण अभियानका लागि साक्षरता कक्षा सञ्चालन गर्नु नै समाज परिवर्तनका लागि कोसेढुंगा साबित भएको बताए । त्यही अभियानले दलित समुदायमा वर्षौंदेखि जकडिएर रहेको बालविवाह अन्त्य गरेको उनले सुनाए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com