ग्रामीण भेगमा जन्मिने शिशुलाई न्यानो झोला पाउन गाह्रो

जाजरकोट, २६ माघ,

सरकारले नवजात शिशुका लागि अत्यावश्यक सेवा र सुविधाका रुपमा दिने न्यानो झोला जाजरकोटको ग्रामीण भेगमा जन्मिने शिशुलाई पाउन गाह्रो भएको छ । सरोकारवाला निकायले चासो नदिएपछि जन्मिनेबित्तीकै शिशुलाई चिसो र अन्य खतराबाट बचाउन चाहिने सामग्रीहरु राखिएको न्यानो झोला पाउन गाह्रो भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले समयमै झोला उपलब्ध गराउन नसक्दा समस्या परेको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य संस्थामा जन्मिएका नवजात शिशुलाई अनिवार्य रुपमा पाउनुपर्ने उक्त झोला नपाएरै घर लैजाने गरिएको छ । जिल्लाका १६ वटा बर्थिङ सेन्टरलगायत अन्य केही स्वास्थ्य संस्थामा न्यानो झोला पु¥याउन सकेको छैन ।

एक महिनादेखि स्वास्थ्य चौकीमा न्यानो झोलाको माग गरे पनि कार्यालयले उपलब्ध नगराएको स्वास्थ्य चौकी भुरकी इन्चार्ज जुनाकुमारी शाहीले बताइन् । उनले न्यानो झोला नभएपछि छिमेकी गाविस कार्कीगाउँबाट १० वटा झोला सापटी लिएर काम चलाएको बताइन् । स्वास्थ्य चौकी भुरमा डेढ महिनाभन्दा बढी समयदेखि न्यानो झोलाको अभाव रहेको शाहीले बताइन् ।

उक्त स्वास्थ्य चौकीमा महिनामा १० देखि २० जनासम्म गर्भवती महिला सुत्केरी हुन आउने गर्छन् । चिसो मौसममा न्यानो झोलाको अभाव हुनु स्वास्थ्य संस्थामा जन्मिने नवजात शिशुका लागि ठूलो खतरा भएको चौकीकी इन्चार्ज शाहीको भनाइ छ । जिल्लाका १७ वटा बर्थिङ सेन्टर रहेका छन् । तर एउटा बर्थिङ सेन्टर सञ्चालनमा छैन ।

झोलाको पूर्तिका लागि कार्यालयले खरिद प्रक्रिया अघि बढाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताइन् । ‘‘न्यानो झोलाको खरिद र ढुवानीका लागि टेन्डर आह्वान भइसकेको छ, एक दुई महिनाभित्र पूरै क्षेत्रमा आपूर्ति हुन्छ’’ कार्यालय प्रमुख शाहले बताइन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com