मानिस जन्मले होईन कर्मले ठुलो हुन्छ

नेपालको संस्कारमा कति राम्रा पक्षहरु छन् त कति मानव जीवनलाई नै अपाङ्ग बनाउने नकारात्मक पक्षहरु छन् जसले प्रम्पराकाल देखि जडो गाडेदै अहिलेको आधुनिक जमाना सम्म पनि ताजै अवस्थामा देखिन्छ। समाज र संस्कारले सिकाएको खुड्किला टेकेर मानिसले जीवन पाउछ। 

जसको रगत र नसामा त्यहि नै ताजा भैरहने कुरा रहेछ। चाहेर पनि आफुलाई बदल्न नसक्ने स्थितिले जीवन नै अप्ठ्यारोमा पर्न सक्छ। परि आएसि देखा जाएगा भन्ने भनाई भन्दा जीवनको आधारभूत पक्षलाई सकारात्मक किसिमले लिन सकेर सोच र संस्कारमा परिबर्तन ल्याउन सक्यो भने एउटा मानव आफैमा सक्षम जीवन जिउन र अरु मानवले पनि बराबर अवशर पाएर समाज र संसारले सबै मानवको बिचार र योगदान पाउनेछ भन्ने पक्षमा म छु। 

मानवका दुई जात महिला र पुरुष जसलाई रथका दुई पांग्रा भनिन्छ। शारीरिक बनावट जस्तै सोच र बिचारमा पनि दुईको बिचमा केहि फरक छन्। त्यसैको आधारमा हाम्रो संस्कारले महिला जाती बच्चा जन्माउने, घरको काम काज गरेर घरमा बस्ने पुरुष बाहिर पैसा कमाउन निस्कने यस किसिमको सामाजिक विभाजनले छोरा जन्मनु भनेको धन कमाउन र छोरी जन्मनु भनेको बच्चा जन्माउन र घर परिवारको सेवा गर्न यहिँ सामाजिक मान्यताले गर्दा छोराले ठुलो मान्छे बन्ने खालको मलजल पाउने भयो। उसलाई घरको कामकाज सिकाएर समय नष्ट नगर्ने भयो किनकी उ कर्मले होईन जन्मले नै ठुलो मान्छे बन्छ जसले आफुलाई अंश र बंशको मालिक सम्झन्छ। 

घर भित्रको काम गर्नु कमजोरी ठान्दछ। म केहि बर्ष यतादेखि अमेरिकन सभ्यताको अनुभव गरिरहेकी छु। यस समाजमा छोरा र छोरीमा कुनै फरक किसिमको मलजल गर्दैनन्। चाहे छोरा होस् या छोरी दुवै मानव हुन् जिउन सक्नु पर्छ स्वाभिमानी भएर भन्ने एउटै किसिमको मलजल दिन्छन दुबैलाई यहाँ। घरको काम जस्तै खाना पकाउनु, भाडा माज्नु, कपडा धुनु, घर सफा गर्नु दुबैलाई बराबार किसिमले सिकाईन्छ। आमाबाबुको घरमा १८ बर्ष सम्म बस्छन त्यसपछि उड्नलाई पखेटा तैयार बनाउछन छोरा होस् या छोरी, यदि उमेर पुगेर पनि आमाबाबु सँगै बसेमा उड्न नसक्ने वा केहि खोट भएको भन्ने बुझिन्छ यहाको समाजमा। त्यस्तै यस समाजमा मानिस, जन्मले होईन कर्म र बिचारले ठुलो हुन्छ। 

आफुलाई अंश र बंशको मालिक होईन, आफ्नो जीवनको मालिक सम्झन्छ। घर भित्रको काम गर्नु कमजोरी होईन, एउटा जीवनको आधारभूत क्रियाकलाप ठान्छन्। घरको काम लोग्ने र स्वास्नी दुवै मिलेर गर्छन। अनि दुवै पैसा कमाउन बाहिर निस्कन्छन। यस सभ्यता पनि परिबर्तन भएर नै आजको बिकासित अवस्थामा आएको हो। जहाँ परिबर्तन छ त्यहा बिकास छ। हाम्रो सोच र संस्कारमा पनि परिबर्तन ल्याउन एकदमै जरुरी छ। जब सम्म मानिसमा विभेदको सोचलाई मार्न सक्दैन तब सम्म बिकासको सोच फक्रन सक्दैन। वास्तबमा मानिस जन्मले होईन कर्म र बिचारले ठुलो हुन्छ।

बिष्णु गुरुङ "एकता" क्यालिफोर्निया, अमेरिका 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com