३ अर्धांगिनी, ४ सन्तानका धनि मैते २५ बर्षदेखी जंगलमा एक्लै

प्यूठान फागुन १ ,

खानका लागि गाँस छैन । बस्नका लागि बाँस पनि छैन । लगाउने कपडाका त कुरा छाडौँ बूढेसकालमा साथ दिने जीवनसङ्गिनी पनि छैन । जीवनसङ्गिनी नभएको भने होइन । कुनै समय खाइलाग्दो ज्यान र समाजमा अरूभन्दा राम्रो काम गर्ने भनेर उनलाई धेरैले मन पराउँथे । 

धेरैजना उनका पछि लागे, त्यही भएर उनले जीवनमा तीनजना सम्म जीवनसङ्गिनी बनाए । तीन श्रीमती, तीन छोरी, एक छोरा गरी चारजना सन्तान तर बूढेसकालमा जङ्गलको बास । सुन्दा पनि अचम्म लाग्छ तर प्यूठानका एक वृद्धको यस्तै कथा छ । फोप्ली–५ का ७२ वर्षीय वृद्ध विगत २५ वर्षदेखि जङ्गलमा एक्लै बस्दै आएका छन् । 

जङ्गलको बीच भागमा सानो झुपडीमा बास बस्दै आएका अन्तरे भनिने मैते विक परिवार हुँदाहुँदै पनि जङ्गलमा बस्न बाध्य छन् । ‘पराइले साथ नदिए पनि आफन्तले साथ दिन्छन् भन्थे,’ उनले भने, ‘समाजले बहिष्कार गरे पनि मलाई आफन्तले हेर्छन् भन्ने आश थियो तर आफन्तले पनि साथ दिएनन् ।’ कुनै समय आफ्नापछाडि गाउँका सबै युवायुवती लाग्ने दिन सम्झँदै उनले बूढेसकालमा यस्तो अवस्था होला भन्ने कहिले नसोचेको बताए । 

बाल्यावस्था फोप्ली गाउँमै बसी बिताएका विकलाई खाउँ–खाउँ÷लाउँ–लाउँ उमेरमा कुष्ठरोग लाग्यो । रोग लागेसँगै सुरुका दिनमा उनले आफ्नो रोग लुकाउने प्रयास गरे । त्यसपछि रोगले जटिल रुप लिन सुरु ग¥यो । अन्ततः मैतेले गाउँका र जिल्लाकालाई थाहै नदिने गरी उपचार गराउने कोसिस गरे । ‘कान्छी श्रीमतीको माइती दाङ थियो,’ उनले भने, ‘यहाँ कसैलाई जानकारी नहोस् भनी दाङमा पुगेर उपचार गराएँ ।’ 

स्थानीयवासीले आफ्नो रोगका बारेमा जानकारी नहोस् भन्दै जिल्लाबाहिर उपचार गराए पनि उपचारको समयमा गाउँकाले थाहा पाएपछि विकलाई गाउँलेले साथ दिन छोडे । ‘कोरेबुढा भन्दै गाउँलेले गरेको अपमान सहन सकिनँ,’ आँखाभरि आँसु झार्दै उनले भने, ‘रोगकै कारण गाउँलेसँगै छोरा÷छोरीले पनि साथ छोडे, बीचमै श्रीमतीको मृत्यु भयो । त्यसपछि जङ्गलको बास भयो मेरो ।’ 

कुष्ठरोग लागेर आफू सामान्य अवस्थामा फर्कंदा गाउँले र परिवारका सदस्यले अस्वीकार गरेपछि उनी २५ वर्षदेखि जङ्गलमा आफ्नो जीवन खोज्दै छन् । जङ्गलको बसाइ हुँदा वर्षा ऋतुमा पानीले भित्र सबै भिज्दा कता बास माग्ने हो भन्ने चिन्ता हुने गरेको उनी बताउँछन् । उनले भने, ‘ओत लाग्ने ठाउँमा जाँदासमेत बस्न दिँदैन ।’ विकका दिनहरु अहिले जङ्गलमा जीवन खोज्दै बितिरहेको छ । 

उनले आफ्ना धेरै रात भोकै त कहिले पानीसँग मकै खाएर बिताएको दुःखेसो सुनाए । नेपाल सरकारले विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरे पनि उनले त्यसको अनुभूति गर्न सकेका छैनन् । जिल्लाका ढुङगेगढी, दाङवाङ, गोठिवाङ र स्याउलिवाङ गाविसमा अझै पनि कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य प्रमुख डा रामबहादुर केसीले बताए । 

‘ढुङगेगढी–७ मा एउटै वडामा तीनजनासम्म कुष्ठरोगी भेटिएका छन्’ डा केसीले भने, ‘कुष्ठरोगीलाई समाजमा बस्न अझै पनि समस्या छ ।’ उनले रोगीको उपचारमा आफूहरुले सहयोग गर्ने गरे पनि विकजस्ता व्यक्तिलाई उद्धार गर्न सक्ने अवस्था नरहेको बताए । सिटी पोख्रेल, रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com